दशरथपुर शिविरझैँ उजाडिए क. रबिनका स्वर्णिम सपनाहरु !

‘कैयौंको जीवन यही शिविरमा बदलियो । कयौंको सपना यही शिविरबाट पूरा भयो त धेरैका सपना यहीबाट टुटे । यो सर्पले काँचुली छाडेजस्तै हाम्रा नेता तथा कमाण्डरले हामीलाई छाडेर गए । हाम्रो हालत यस्तो भयो ।’

दशरथपुर शिविरझैँ उजाडिए क. रबिनका स्वर्णिम सपनाहरु !

सुर्खेत । सुर्खेतको लेकबेशी नगरपालिका ४ दशरथपुरका मेघबहादुर रावत ‘क. रबिन’ कुनैबेला माओवादी जनुमक्ति सेनाको प्लाटुन कमाण्डर थिए । आफ्नो घरनजिकै दशरथपुरको कृषि अनुसन्धान केन्द्रको हातामा माओवादी जनमुक्ति सेनाको सातौं डिभिजन क्यान्टोन्मेन्ट (शिविर) थियो, जहाँ उनले बिग्रेडको ६ नं. बटालियनमा रहेर काम गरेका थिए । कमरेड रबिन २०६३ सालदेखि ०६८ सालसम्म त्यही शिविरमा बसे ।

०६३ मंसिर ५ मा तत्कालीन सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भयो । सम्झौतामा लडाकू र हतियार शिविरमा राख्ने सहमति भयो । यसपछि ०६८ चैत्र २८ गते प्रमुख दलहरूबीच जनमुक्ति सेनाको शिविर र हतियार सरकार मातहत ल्याउने सहमति भयो । माओवादीका सबै शिविर नेपाली सेनाले जिम्मा लिने भयो । त्यही दिनदेखि छाडेका हुन्, दशरथपुर शिविर क. रबिनले ।

त्यो शिविरमा उनी ५ वर्ष बसे । अहिले उनी त्यो शिविर हेर्नै सक्दैनन् । ‘शिविरसँग छुट्टैखाले निकटता थियो, सपनाहरू थिए । नजिक जान सक्दिनँ थिएँ, आँसु बग्थ्यो । अहिले पनि उही हो,’ उनले भने ।

रबिनले दशरथपुर शिविरमा बसेर कैयन् सपना देखेका थिए, जुन पछि पूरा भएनन् । आफूले देखेका सपना पूरा नभएपछि उनी विरक्तिए र ०७० सालमा विदेशिए । ‘शिविरमा बस्दैगर्दा देखेका सपना अधुरै रहे । यसपछि मलेसिया गएँ,’ रबिन सुनाउँछन् ।

त्यसअघि उनले भने, ‘ती सपना र समृद्धिको बाटो खोजेर म मलेसिया बैदेशिक रोजगारीमा गएँ । त्यहाँ झन् के सपना पूरा हुन्थ्यो र ! आफ्नो माटोमा रगत बगाउँदा त सपना पूरा भएन । भुल्नुमात्रै भयो ।’

केही समयको बसाइपछि उनी पुन: नेपाल फिर्ता भए । उनको लागि वैदेशिक रोजगारी बाध्यता पनि थियो ‘जहाँ गएपनि आफ्नै जन्मभूमि र माटोचाहिँ निकै प्यारो लाग्दोरहेछ । तर, बाँच्नका लागि कर्म गर्नका लागि भौंतारिरहनुपर्ने कस्तो जिन्दगी पाइएछ ।’ उनी भन्छन् ।

०६८ सालमा दशरथपुर माओवादी शिविर छाडेका रबिनले त्यो शिविर ०७९ साल मंसिर ४ गते देखे, अर्थात् निर्वाचनको दिन । उनी उक्त शिविर हेर्न चाहँदैन थिए । तर, सञ्चारकर्मीको कहरमा उनी त्यहाँ जान तयार भए । त्यहाँ पुग्दा शिविर हातामा सर्पले काँचुली फेरेर छोडेको थियो ।

क. रबिनको आँखा झ्याप्पै सर्पका काँचुलीमा अड्कियो । ‘हेर्नुस्, समय-समयमा सर्पले काँचुली फेरेको हुन्छ । शिविरमा बस्ने सबैको यसरी काँचुली फेरिएर, काेही सांसद भए, कोही सडकमा पुगे । काेही खाडी त कोही कालापहाडतिर हराए,’ उनले भन्दै थिए ।

काँचुलीबाट आफ्नो नजर नहटाएका उनले थपे, ‘कैयौंको जीवन यही शिविरमा बदलियो । कयौंको सपना यही शिविरबाट पूरा भयो त धेरैका सपना यहीबाट टुटे । यो सर्पले काँचुली छाडेजस्तै हाम्रा नेता तथा कमाण्डरले हामीलाई छाडेर गए । हाम्रो हालत यस्तो भयो ।’

यत्ति भनिसक्दा रबिनको आँखामा आँसु टिल्पिलाए । आफू बसेको सेल्टर देखाउँदै उनले थपे, ‘यहीँ आइसकेपछि किन योचाहिँ नहेर्ने । डेरा थोत्रियो, सपनाहरू पनि थोत्रिए । क्रान्तिकारी सपनाहरू पनि यही छाप्रोझैँ थोत्रिए ।’

उनी बसेको छाप्रो झन्डै भग्नावशेष बनिसकेको रहेछ । झ्यालढोकाहरू छरपस्ट थिए । घरमाथि उम्रिएका झारपातका लम्बाइ पनि छोटो थिएन । झार पन्छाउँदै रबिनले भने, ‘म यो घरमा बस्थेँ । म यहाँको लेखापालको सहयोगीका रूपमा काम गरेको थिएँ । अहिले ती लेखापालको नाम पनि भुलेँ । लाग्छ— यतिबेला राम्रो कुनै पदमा होला । तर, यहाँ बसेका साथीहरू कहाँ-कहाँ होलान् भनेर रातदिन सोचिरहन्छु ।’

हिजो देश परिवर्तन र जनताको सुखको स्वर्णिम सपना देखेका रबिन आज आफैँ बाँच्नका लागि सङ्घर्षरत छन् । उनी यही सम्झिएर त भक्कानिन्छन्, ‘हामी आफैँ बाँच्नका लागि सङ्घर्ष गरिरहेका छौँ । पहिले देश बदल्ने, जनताको शासन ल्याउने र मुलुक समृद्ध बनाउने क्रान्तिकारी सपना थिए । ती सबै तितर-बितर भएका छन् ।’

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादर शाही रबिन रहेको डिभिजनका कमाण्डर थिए । आफ्नो सहयोद्धा शाहीलाई सम्झिँदै रबिन कठोर निष्कर्ष निकाल्छन्, ‘सङ्घर्षहरूले सबैलाई सफल नै बनाउँछ भन्ने नहुँदोरहेछ । कसैलाई सफलता हात लगाइदिन्छ त, कोहीलाई रसातलमा पुर्‍याउँदोरहेछ ।’

अहिले त शाहीले रबिनहरुलाई चिन्न पनि छोडिसकेका छन् । ‘मेरा कमाण्डर तथा नेताहरू दिनदिनै देख्छु/सझिन्छु । उहाँहरूको आकृति अहिले राति निद्रामा रहेको बेला सपनामा पनि आउँछन् । तर, उहाँहरू हामीलाई चिन्नुहुन्न । मजस्तो एउटा हिजोको सेनालाई चिन्नुहुन्न ।’

आज त्यो शिविर रबिनको सपनाहरू जस्तै उजाड बनेको छ । फरक यत्ति हो, रबिन खाडी पुगेर फर्किए, शिविर जहाँको त्यहीँ उजाड भयो ।  उजाड शिविरतिर इङ्गित गर्दै क. रबिन भन्छन्, ‘यी शिविरका छाप्रो र हाम्रा सपनाबीच केही फरक छैन । दुवै उजाड बनेका छन् । हिजो हामीले एउटा सुन्दर टहरा बनाएका थियौँ, आज भत्किएका छन् । स्वरूपविहीन भएका छन् ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved