पर्वतमा बदला र साखको लडाइँ, मतदाताले कसलाई चुन्लान् ?

पर्वतमा यो पटक पनि पुरानै प्रतिस्पर्धी चुनावी मैदानमा उत्रिएका छन् । एउटा मात्र प्रतिनिधिसभा क्षेत्र रहेको पर्वतमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी र नेकपा (एमाले)का पदम गिरीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । 

नेपालभ्युज

पर्वतमा बदला र साखको लडाइँ, मतदाताले कसलाई चुन्लान् ?

पोखरा। पर्वतमा यो पटक पनि पुरानै प्रतिस्पर्धी चुनावी मैदानमा उत्रिएका छन् । एउटा मात्र प्रतिनिधिसभा क्षेत्र रहेको पर्वतमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी र नेकपा (एमाले)का पदम गिरीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पुर्जा पुन, राप्रपाका ठाकुरप्रसाद भुसाल, जनमुक्ति पार्टीका बलबहादुर थापासहित १२ जना उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा छन् ।

 

हारको बदला लिने दाउमा जोशी

यसअघि निर्वाचनमा ह्याट्रिक जित निकालेका जोशी गत निर्वाचनमा भने पराजित भएका थिए । विसं २०५६, २०६४ र २०७० मा लगातार चुनाव जितेका जोशीले २०७४को निर्वाचनमा पराजय भोगेका थिए । उनलाई वामगठबन्धनका उम्मेदवार पदम गिरीले करिब १३ हजार मतान्तरले हराए । २०७४को निर्वाचनमा पर्वतमा ६७ हजार छ सय ८२ मत खसेको थियो ।

जोशीले २६ हजार आठ सय १९ र गिरीले ३९ हजार दुई सय ७५ मत पाएका थिए । योपटक आफूले निर्वाचन जित्ने जोशीको दाबी छ । उनी भन्छन् ‘मैले तीन–तीनपटक सांसद हुँदा यस क्षेत्रमा धेरै नै विकास गरेको छु । बाटो घाटो, पानी बिजुली, शिक्षा स्वाथ्यका क्षेत्रमा भएको विकास बल्ल जनताले बुझेका रहेछन् । जब म पराजित भएँ त्यसपछि यहाँका जनताले विकास र समृद्धिमा मेरो योगदान कति छ भनेर बुझे, अहिले जे भए पनि विकास गर्ने भनेको जोशीले नै हो है भन्न थालेका छन् । ’

उनले यसअघि वाम गठबन्धनका कारण हार ब्यहोर्नुपरेको दाबी गरे । “वाम गठबन्धनसँग एक्लै चुनावमा भिड्दा ठूलो मतान्तरले हारेको थिएँ”, जोशीले भने, “अहिले त्यही वाम गठबन्धनसहितका दल हामीसँग छन्, यो मेरो जितको मुख्य आधार हो ।”

गिरीलाई जित दोहोर्‍याउने चुनौती 

२०७४ मा निर्वाचित गिरीलाई यसपटक त्यसलाई दोहोर्‍याउनुपर्ने चुनौती छ । वामगठबन्धनमा रहेर सहज जित निकालेका गिरीलाई योपटक भने निकै कठिन चुनौतीहरु छन् । पहिलेका आफ्नै सहयात्री अहिले उनलाई हराउन लागिरहेका छन् ।

तर, गिरी भने योपटक पनि आफ्नो विजय सुनिश्चित रहेको दाबी गर्छन् । उनी भन्छन्- ‘एमालेको सरकार हुँदा भएका काम र यो डेढ वर्षमा भएका कामलाई मूल्यांकन गर्दा राम्रो माहोल बनेको छ ।

जित हुनेमा म ढुक्क छु ‘उनले सत्ता गठबन्धनप्रति नागरिकमा निराशाा छाएकाले पनि आफूलाई जित्न सहज हुने दाबी गरे ।

स्थानीय तहको नतिजा हेर्दा

सात स्थानीय तह भएको पर्वतमा दुई नगरपालिका र पाँच गाउँपालिका छन् । स्थानीय तहको निर्वाचनमा पाँच स्थानीय तह प्रमुख एमालेले जितेको थियो । कांग्रेसले कुश्मा र फलेबास नगरपालिका तथा जलजला, बिहादी र पैयुँ गाउँपालिकामा जितेको थियो ।

कांग्रेसले जितेका पालिका प्रमुख र पराजित दुई पालिका मोदी र महाशिला गाउँपालिकामा गरी जम्मा ३७ हजार चार सय ८५ मत पाएको थियो । यता एमालेले भने ३४ हजार ६ सय ६५ मत पाएको थियो ।

वडा तहमा भने एमालेले ६१ मध्ये ३३ मा जितेको थियो भने कांग्रेसले २४ वटा जितेको थियो । माओवादी केन्द्रले तीन वडामा जित्दा एउटामा स्वतन्त्र उम्मेदवार बिजयी भएका थिए । आगामी निर्वाचनका लागि पर्वतमा एक लाख २२ हजार छ सय ४९ मतदाता छन् । यो अंकगणित हेर्दा दुई बीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved