काठमाडौं ३ : सत्ता गठबन्धनभित्रै किचलो, सन्तोष-कृष्णबीच मुख्य ‘भिडन्त’

त्यस क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि लागि ८ जना स्वतन्त्रसहित २३ जनाको उम्मेदवारी परेको छ । अहिलेसम्मको अवस्थामा मुख्य प्रतिस्पर्धा कांग्रेस-एमालेबीच नै हुने देखिएको छ । 

काठमाडौं ३ : सत्ता गठबन्धनभित्रै किचलो, सन्तोष-कृष्णबीच मुख्य ‘भिडन्त’

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिँदैछ । निर्वाचनमा होमिन सत्ता गठबन्धनमा रहेका दलले प्रायः सबै निर्वाचन क्षेत्रमा गठबन्धन/चुनावी तालमेल गरेका छन् । तर, काठमाडौं क्षेत्र नं ३ मा भने ‘मित्रवत्’ प्रतिस्पर्धा हुने भएको छ । त्यहाँ सत्ता गठबन्धनसम्बद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनमा प्रतिनिधि सभातर्फ कांग्रेसले उम्मेदवारी दिने र प्रदेश सभामा एक क्षेत्र (माओवादी केन्द्र) ले पाउने सहमति थियो । तर, कांग्रेसले गठबन्धनमा भएको सहमतिविपरीत सबै क्षेत्रमा उम्मेदवार उठाएपछि आफूहरूले पनि उम्मेदवारी दिएको माओवादी केन्द्रका सचिव एवम् बागमती प्रदेशका इन्चार्ज हितमान शाक्यको दाबी छ । ‘सहमतिविपरीत भएपछि माओवादी केन्द्रले पनि उम्मेदवार दर्ता गरेको हो,’ उनले भने ।

प्रतिस्पर्धामा कांग्रेसबाट सन्तोष चालिसे मैदानमा छन् । उनी गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर एवम् कांग्रेसको क्षेत्रीय कार्यसमितिका सभापतिसमेत हुन् । चालिसेसँग आमने-सामने हुन माओवादी केन्द्रका बद्रीप्रसाद बजगाईं तम्सिएका छन् । एकीकृत समाजवादीले भने माओवादी केन्द्रलाई समर्थन गर्ने भएको छ ।

नेकपा (एमाले) बाट कृष्ण राई नै दोहोरिएका छन् । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनको तर्फबाट जितेका उनैलाई एमालेले टिकट दिएको हो । उक्त क्षेत्रमा जसपाबाट मोहनकुमारी विश्वकर्माले चुनाव लड्नेछिन् भने राप्रपाबाट गणेश गिरिले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि लागि ८ जना स्वतन्त्रसहित २३ जनाको उम्मेदवारी परेको छ । अहिलेसम्मको अवस्थामा मुख्य प्रतिस्पर्धा कांग्रेस-एमालेबीच नै हुने देखिएको छ ।

यो क्षेत्रमा काठमाडौं महानगरको वडा नं ६, गोकर्णेश्वर र कागेश्वरी नगरपालिकाका १, २ र ३ नं. वडा पर्छन् । गत स्थानीय तह निर्वाचनलाई आधार मान्ने हो भने यस क्षेत्रमा कांग्रेस सबैभन्दा बलियो छ । कांग्रेसले १५ हजार ७ सय ९५ मत ल्याउँदा एमालेले १४ हजार ८ सय ७६ मत ल्याएको थियो ।

यसो हुँदा पनि त्यहाँ मुख्य प्रतिस्पर्धा चालिसे र राईबीच नै हुने देखिन्छ । यस क्षेत्रमा माओवादी केन्द्रसँग १ हजार ७ सय ३० मत छ भने एकीकृत समाजवादीको १ हजार ५६ मत छ । उनीहरू दुवैको मत जोड्दा पनि चालिसे र राईलाई कुनै असर नपर्ने देखिन्छ । राप्रपासँग पनि १ हजार ५ सय १४ मत छ । स्थानीय निर्वाचनमा खसेको मतको यो आकडा हेर्दा पनि चालिसे र राईबीच नै प्रतिस्पर्धा हुने भएको छ ।

जनताले मलाई नै जिताउँछन् : सन्तोष चालिसे

चालिसे यसपटक काठमाडौं ३ बाट आफूलाई कसैले रोक्न नसक्ने दाबी गर्छन् । ‘जनताले मलाई नै जिताउँछन्,’ उनले नेपालज्युजसँग भने, ‘मेरो जितलाई कसैले रोक्न सक्दैनन् ।’

आफूलाई बद्रीप्रसाद बजगाईंकै पनि साथ मिल्ने चालिसेको दाबी छ । भन्छन्— ‘मलाई बद्री बजगाईंजीले नै साथ दिनुहुन्छ । उहाँको केन्द्रीय नेताले नै मलाई त्यो कुरा भन्नुभएको छ ।’

काठमाडौं ३ मा आफूले धेरै वर्षयता जनजीविकासँग जोडिएका काम गर्दै आएको बताउँदै चालिसेले थपे, ‘मसँग प्रतिस्पर्धा गर्ने उम्मेदवार नै छैनन्, म त देख्दिनँ । यसपटक मैले जित्छु । त्यो सम्भावना मात्रै होइन कि निश्चितजस्तै छ ।’

त्यस क्षेत्रमा अरु दलका भन्दा बढी मत कांग्रेसकै रहेको चालिसे बताउँछन् । ‘अरु दलको कांग्रेसको जत्ति मत छैन,’ उनले भने, ‘यो मतको आँकडाले पनि मेरो जित निश्चित गर्छ । जनताको प्रतिक्रिया पनि निकै उत्साहजनक र सकारात्मक छ ।’

काठमाडौं ३ मेरै क्षेत्र हो, मज्जाले जित्छु : कृष्ण राई

राईको दाबी पनि चालिसेको भन्दा कम छैन । २०७४ मा पनि आफैँले बाजी मारेको उल्लेख गर्दै उनी सोध्छन्, ‘मेरी विजयी यात्रालाई कसले रोक्छ ?’

काठमाडौं ३ मा तपाईंहरूको मत त कम छ नि ? भन्ने नेपालभ्युजको जिज्ञासामा राईले भने, ‘यो राष्ट्रिय निर्वाचन हो । स्थानीय तह सदस्य निर्वाचनमा प्राप्त मतसँग जोडेर यो निर्वाचनको व्याख्या गर्नु हुँदैन । काठमाडौं ३ मा मज्जाले जित्छु ।’

काठमाडौं ३ का मतदाताको रोजाइमा आफूमात्र भएको दाबी राईको छ, भन्छन्— ‘यहाँका जनताले मलाईबाहेक कसैलाई रोज्दैनन् । त्यो त २०७४ सालको निर्वाचनमा पनि देखिएकै हो । उहाँहरूले मलाई नै फेरि चुन्नुहुनेछ । यो उहाँहरूले बोल्नुभएको पनि छ । निकै राम्रो प्रतिक्रिया दिइरहनुभएको छ ।’

मा‌ओवादीका उम्मेदवार बजगाँई भने कमजोर छन् । तर कडा प्रतिस्पर्धामा उनले ल्याउने मत हारजितका लागि निर्णायक हुन सक्छ । माओवादी र एकीकृत समाजवादीको करिब २ हजार मत छ । सत्ता गठबन्धनका उम्मेदवार थोरै मतले  हारे भने त्यसको कारण यही मत हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved