सप्तरीमा जित निकाल्छु, शुभेच्छुकले मुख्यमन्त्री बन्नुपर्छ भनेका छन् : राजकुमार लेखी

नेपालभ्युज

सप्तरीमा जित निकाल्छु, शुभेच्छुकले मुख्यमन्त्री बन्नुपर्छ भनेका छन् : राजकुमार लेखी

काठमाडौँ । पहिलो संविधान सभा विघटन भएपछि नेकपा (एमाले) त्यागेका राजकुमार लेखी प्रकारान्तरले एमालेमै पुगेका छन् । २०४६ सालयता वामपन्थी राजनीति सुरू गरेका लेखी यसबीचमा आफ्नै नेतृत्वको नागरिक समाजवादी पार्टी हुँदै विभिन्न मधेशवादी दलमा पनि लागे । जनता समाजवादी पार्टी (जसपा) फुट्दा महन्थ ठाकुर पक्षतिर लागेका लेखी २०७८ असोज १७ गते एमालेमै फर्किए ।

लेखी अहिले एमाले-जसपा गठबन्धनको तर्फबाट सप्तरी क्षेत्र नं १ को प्रदेश सभा ‘क’ का उम्मेदवार हुन् । विभिन्न आदिवासी जनजाति आन्दोलनहरूको नेतृत्व गरेका लेखी अब भने सरकारकै नेतृत्व गर्न चाहन्छन् । उनले चुनाव जित्लान्-नजित्लान् वा मुख्यमन्त्री बन्लान्-नबन्लान्, यसको फैसला मंसिर ४ गते जनताले नै गर्नेछन् । आफ्नो निर्वाचन क्षेत्रमा लेखीलाई कति सहज छ ?  उनी मुख्यमन्त्रीको दाबेदार हुन् कि हैनन् ? यस्तै चुनावविशेष प्रश्न नेपालभ्युजकर्मी धनबल राईले लेखीलाई सोधेका छन् ।

तपाईं सप्तरी क्षेत्र नं. १ को प्रदेश सभा ‘क’ बाट उम्मेदवार हुनुहुन्छ, लामो समयपछि पुनः एमालेमै फर्किँदा आम मतदाताको प्रतिक्रिया कस्तो छ ?

म विद्यार्थीकालदेखि नै विभिन्न आन्दोलनहरूको नेतृत्व गरेको व्यक्ति हुँ । २०४८ सालदेखि नै एमालेको राजनीतिमा छु म । यसकारण पनि मलाई यहाँ सहज छ भन्ने मेराे बुझाइ छ । अब जहाँसम्म सप्तरी क्षेत्र नं १ को प्रदेश सभा ‘क’ को कुरा गर्नुभयो, त्यहाँका जनताले मलाई राम्रोसँग चिनेका छन्, म जन्मेको पनि त्यहीँ हो र मैले धेरै उर्वर समय बिताएको र काम गरेको क्षेत्र पनि त्यही नै हो । उहाँहरूले मलाई राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । तपाईंलाई जिताउँछौँ भनेर भनिरहनुभएको छ । यसमा म विश्वस्त छु । त्यहाँ सहज जित निकाल्छु ।

तपाईंले चुनाव जित्ने भनेर दाबी गरिरहनुभएको छ त्यसका आधारहरू के के छन् ? 

अरु पार्टीका भन्दा एमालेका उम्मेदवार जित्ने दुई/तीनवटा आधारहरू म तपाईंलाई भन्छु । एउटा त पार्टीको नीति, विचार र पार्टी सरकारमा हुँदा गरेको काम नै हो । त्यससँगै पार्टीको लोकप्रिय निर्णय, उसले ल्याएका कार्यक्रमहरू पनि हुन् ।

विकास निर्माणको काममा पनि एमाले सरकारले धेरै काम गरेको छ । २०/२५ वर्षसम्म अरु पार्टीले नगरेको काम एमाले सरकारले ३/४ वर्षमै गर्‍यो । जस्तो २५ वर्षसम्म पनि नबनेको हुलाकी राजमार्ग केही वर्षमै गर्‍यो । एमालेले ४ हजार किलोमिटर बाटो ३ वर्षमै बनायो । यी सबै काम हेरेर पनि जनताले एमालेकै उम्मेदवारलाई मत दिनेछन् ।

मेरो निर्वाचन क्षेत्रमा मैले २२ वर्षकै उमेरमा विद्यालय स्थापना गरेँ । देउसी खेलेर, चन्दा उठाएर, जनश्रमदान गरेर मैले जनहित प्राथमिक विद्यालय स्थापना गरेँ, जत्तिबेला मेरो गाउँमा विद्यालय नै थिएन । मलाई लाग्छ— ती कामहरू हेरेर पनि जनताले फैसला गर्नेछन् ।

त्याे क्षेत्रमा २० वर्षको समयावधिमा ३२/३३ जना सांसद बन्नुभयो, तर ती कामहरू गर्नुभएन । त्याे क्षेत्रमा मैले २२ वर्षको उमेरमा सामाजिक विकृतिदेखि विद्यायल स्थापनासम्मको काम गरेको छु । त्यही समयमा मित्र युवा क्बल स्थापना गरेर युवाहरूलाई गोलबद्ध गर्दै खेलकुद, सरसफाइ लगायतका क्रियाकलापहरूमा प्रेरित गरेँ भने विभिन्नखाले अभियानहरू चलाएँ । यत्ति मात्रै होइन, मलाई सामाजिक, राजनीतिक ज्ञान आएपछि देशभरि घुमेर विभिन्न अभियानहरू चलाएँ । शोषित-पीडितको पक्षमा, राजनीतिक चेतना कम भएका जातिहरूको पक्षमा, राज्यको महत्त्वपूर्ण अंगमा, तहमा उपस्थिति नभएका वर्ग, लिङ्ग, जाति र समुदायको पक्षमा, उनीहरूको पक्षमा आवाज मुखरित गरिरहेँ सधैँ ।

सिंहदरबारको वरिपरि नारा जुलुस गरेर, संविधान सभाको वरिपरि घुमेर, राजनीतिक दलको केन्द्रीय कार्यालयहरूको वरिपरि घुमेर समुदायको आवाज उठाएँ । अपहेलित, शोषित, पीडित र अन्यायमा परेका जनताको पनि आवाज मैले उठाएँ । त्यसकारण मलाई जनताले जिताउनेछन् । 

गठबन्धनसम्बद्ध दलले जनतासामु संसद् विघटनको मुद्दा उठाइरहेका छन्, यसको प्रतिवाद कसरी गर्नुहुन्छ ? 

यसबारे एकदम प्रष्ट छ, बहुदलीय व्यवस्था, संसदीय व्यवस्था, लोकतन्त्र र गणतन्त्रमा जनताको अभिमत, निर्णय र आदेशभन्दा ठूलो न्यायपालिकाको आदेश हुन सक्दैन । निर्वाचन भनेको आवधिक ५/५ वर्षमा हुन्छ र त्यसले जे फैसला गरेको हुन्छ, त्यो नै ठूलो हो । तर, अहिलेको गठबन्धनमा रहेका कांग्रेस-माओवादीलगायतका दलहरूले त्यही गरे, जुन गर्नु हुँदैनथ्यो ।

एकातिर बहुदलीय प्रतिपस्पर्धा र संसदीय समानताको कुरा गर्ने अनि अर्कोतिर ओलीको सरकार बेठिक थियो भनेर भन्ने; यदि ओलीको पार्टीलाई ठिक लगाउने हो भने त निर्वाचनबाट हो, जनताले हो । अदालतबाट होइन । अदालतलाई प्रलोभनमा पारेर सरकारी गठबन्धनका नेताहरूले पद र सत्ताको दुरुपयोग गरेर के के गर्नुभयो भन्ने कुरा घामजस्तै छर्लङ्ग छ । जुन हामीले जनतालाई भन्दै आएका छौँ ।

तपाईंले सुन्नुभयो होला, भर्खरै निलम्बित प्रधानन्यायाधीशले संसदीय समितिमा धेरै कुरा गर्नुभएको थियो । हामी यी नै कुरा जनतालाई सुनाइरहेका छौँ यो निर्वाचनमा । गठबन्धनका दलहरू आफ्नो गलत क्रियाकलापलाई ढाकछोप गर्न एमालेलाई आरोप लगाउनुभएको छ । यो झुटो हो । 

तपाईंले नेतृत्व गरेर उठाउनुभएको आदिवासी जनजातिका मुद्दा र एमाले प्रवेशबीच तालमेल मिलेन हैन ? एमालेलाई त आदिवासी जनजाति विरोधी दल हो भनेर भन्छन् ।

कमसेकम एमालेले त ५९ वटा जातजातिलाई आदिवासी जनजातिमा सूचीकरण गरेर प्रतिष्ठान बनाउने काम गर्‍यो, एमालेले जनजाति, मुस्लिम, दलित लगायतका आयोगहरू बनाउने काम गर्‍यो, आदिवासी जनजातिलाई दुई/दुई पटक सभामुख बनायो ।  मुख्यमन्त्री बनायो । पार्टीको विधान समावेशी बनाएर पार्टीको केन्द्रीय पदाधिकारीमा दुई/दुईजना उपाध्यक्ष बनाएको छ । 

मलाई अरु पार्टीले देखाइदिए हुन्छ, कांग्रेसको पदाधिकारीमा कतिजना जनजाति छन् ? माओवादी केन्द्रकै पनि पदाधिकारीमा कतिजना जनजाति छन् ? त्यसकारण आरोप लगाएर मात्रै हुँदैन, ती कामहरू व्यवहारमा देखिनुपर्छ । व्यवहारमा कुन पार्टीले के काम गर्‍यो, त्यो काम हेर्नुपर्छ ।

एमालेले जुनखाले ‘स्कूलिङ्ग’ गराएको थियो, मैले एमाले छाडेर जाँदा त्यो अरु ठाउँमा पाइनँ । बरु एमालेमा रहँदा आदिवासी जनजाति आन्दोलनलाई उत्कर्षमा पुर्‍याएको थिएँ । एमाले छाडेर आदिवासी जनजाति आन्दोलन उठ्यो त ? अशोक राईदेखि राजकुमार लेखीहरूले एमाले छाड्दा आदिवासी जनजातिका मुद्दा कहाँ पुगे ? ऐन संशोधन गर्नुपर्ने होइन ? ऐन बनाउनुपर्ने होइन ?

तीन/तीन तहको सरकारमा आदिवासी जनजातिको सवालमा ऐन-कानून बनाएर लागू गर्नुपर्ने होइन ? कहाँ छ आदिवासी जनजाति आन्दोलन ? त्यसकारण एमाले छाडेर जाँदा हाम्रो आन्दोलन कमजोर भयो, बरु हामी एमालेमा रहँदा सडकदेखि सदनसम्म पुग्यौँ । मलाई लाग्छ, आरोप लगाउने कुरा एउटा हो । तर, पुष्टि अर्कै हो । मैले एमालेमा प्रवेश गरेर ठिक निर्णय गरेको छु, यसमा म ढुक्क छु ।

तपाईं एमालेबाट मधेश प्रदेशको मुख्यमन्त्रीको दाबेदार भन्ने पनि आएको छ । यसबारे तपाईंको धारणा के छ ? 

यसबारे मेरो भन्नु केही छैन । किनकी त्यो भनेको पछिको प्रक्रिया हो, अहिले म चुनावी कार्यक्रममै व्यस्त छु । म पार्टीको इमान्दार कार्यकर्ता हुँ, त्यसमा पार्टीले जे जिम्मेवारी दिन्छ, त्यसको पालना गर्नु मेरो कर्तव्य हुन आउँछ । अब पार्टीले नै जिम्मेवारी दियो भने त मुख्यमन्त्री पनि किन नबन्ने र ? शुभेच्छुकहरूले तपाईं मुख्यमन्त्री बन्नुपर्छ भनेर भनिरहनुभएको छ ।

सौराहा महाधिवेशनबाट एमाले ओली अनुकूल बन्यो भनेर भनिन्छ र अर्को त, भीम रावल, घनश्याम भुसाललगायतका नेतालाई टिकट नदिइ पार्टीबाट ‘किकआउट’ जस्तो गरियो । यसलाई कसरी हेर्नुभएको छ ? 

एमाले स्वभावैले अरु पार्टीभन्दा फरक छ । पुरानो पार्टी पनि हो र सबैभन्दा ठूलो पार्टी पनि हो । त्यहाँ सधैँभरि एउटै व्यक्ति उम्मेदवार नहुन पनि सक्छ । त्यसकारण पार्टीले गर्ने निर्णय कुनै एउटा व्यक्तिको आधारमा हुँदैन । जसलाई लोकप्रिय देख्यो, जसले चुनाव सहजै जित्न सक्छ त्यस्ता नेताहरूलाई पार्टीले अघि बढाउँछ ।

फेरि युवाहरूलाई अघि बढाउने एजेन्डा पनि एमालेमा छ । यसकारण कतिपय नेता छुट्नुभयो होला । त्यसलाई अब एमालेको राजनीति समाप्त भयो, सकियो भनेर भन्न मिल्दैन । हामीकहाँ राजनीतिमा रहेर संसदीय अभ्यास नै नगरेको नेताहरू पनि हुनुहुन्छ । प्रदीप गिरि कहिल्यै पनि मन्त्री बन्नुभएन । कहिल्यै पनि कार्यकारी पदमा जानुभएन । तर, उहाँको योगदानलाई धेरै नेतामध्ये हेर्दा कम छैन ।

एमालेमै पनि थुप्रै नेताहरू हुनुहुन्छ । हो, केही नेताहरू छुट्नुभयो यसपटक । उहाँहरूले पार्टीको जिम्मेवारीमा राम्रो गर्न सक्नुहुन्छ । चुनावमा जान पाउनुभएन भने पार्टीलाई राम्रोसँग ‘ड्राइभ’ गर्न सक्नुहुन्छ । उहाँहरूले अहिले पार्टीमा बढी काम गर्नुभयो, राम्रो गर्नुभयो भने भोलि महासचिव, अध्यक्ष बन्न सक्नुहुन्छ । आफूलाई पद हुँदा ठिक र नहुँदा बेठिक भन्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।

जहाँसम्म तपाईंले एमाले ओलीअनुकूल बन्यो भन्नुभयो, त्यस्तो मलाई लाग्दैन । त्यहाँ समावेशीता छ, त्यहीअनुसार पार्टी चलेको छ । त्यहाँ धेरै साथीहरू हुनुहुन्छ, उहाँहरू अटाउनुभएको छ । यसकारण मलाई पार्टी ओलीअनुकूल भयो भन्ने लाग्दैन । त्यहाँ त छलफल हुन्छ, निष्कर्षहरू निकालिन्छन् र निर्णय लिइन्छन् । कहाँ एमाले एउटाले चलाएको छ त ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved