गोरखामा प्रचण्डका सारथी बनेका देवकोटाले गरे यस्तो प्रतिबद्धता

लामो समयदेखि राजनीतिमा सक्रिय देवकोटाले गोरखाको विकास तथा पूर्वाधारका लागि आफ्ना प्रतिबद्धता अघि सारेका छन् । डा.बाबुराम भट्टराई अर्थमन्त्री र प्रधानमन्त्री रहँदा सचिवालयको नेतृत्व गर्दै गोरखाको समृद्धिका लागि क्रियाशील रहेका देवकोटाले जनताले दिएको जिम्मेवारी कुशल र इमान्दारितापूर्वक निर्वाह गर्ने पनि बताएाका छन् ।

नेपालभ्युज

गोरखामा प्रचण्डका सारथी बनेका देवकोटाले गरे यस्तो प्रतिबद्धता

काठमाडौं । नेपाल समाजवादी पार्टी नेसपाले आगामी चुनावमा माओवादीको चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गरिरहेको छ । (नेसपा) बाट मैदानमा उत्रिएका प्रतिस्पर्धीमध्ये एकजना हुन् गोरखा क्षेत्र नम्बर २ (क) का उम्मेदवार फणिन्द्र देवकोटा ।

लामो समयदेखि राजनीतिमा सक्रिय देवकोटाले गोरखाको विकास तथा पूर्वाधारका लागि आफ्ना प्रतिद्धता अघि सारेका छन् । उनले गोरखाको विकासका लागि सडक, पर्यटन, खेलकुद, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, सिँचाइजस्ता पूर्वाधारमा जोड दिएका छन् ।

डा.बाबुराम भट्टराई अर्थमन्त्री र प्रधानमन्त्री रहँदा उनको सचिवालयको नेतृत्व गर्दै गोरखाको समृद्धिका लागि क्रियाशील रहेका देवकोटाले जनताले दिएको जिम्मेवारी कुशल र इमान्दारितापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

यातायात सुविधा नै विकास र समृद्धिको पहिलो आधार भन्दै उनले आफूले अघि सारेका योजनालाई प्रदेश सरकारको सहयोग र स्थानीय सरकारहरूसँगको समन्वयमा अगाडि बढाउने वाचा पनि गरेका छन् ।

‘पन्थडीही–कटहरे–हर्मी–साइँलीटार सडकको कालोपत्रे सम्पन्न नहुन्जेल संघ सरकारलाई ताकेता गरिरहनेछु । यस्तै, दूधपोखरी सडक निर्माण कार्यलाई अगाडि बढाउन लाग्नेछु । गोरखा र पालुङटार नगरका सबै वडा कार्यालयलाई सम्बन्धित नगरपालिकासँग कालोपत्रे सडकले जोडन ध्यान दिनेछु ।’  देवकोटा भन्छन्, ‘मजुवा–वैटारी–हटिया–सलाङगिरी,ज्योतीचौतारा–लुङ्गा–वडा कार्यालय–चापाभञ्ज्याङ,अबुवा–बिर्दी–सेरा–पौवाटार, देवीघाट–रातमाटे–मुलाबारी–तिलारामभंज्याङ–सेरा–बागडाँडा–लुइँटेल, बोहरागाउँ–राउतेपानी–आँपपिपल, नयाँपुल–बिरूवाटार, सातदोबाटो–बजेडी–हात्तीगौंडा–घडेरीखोला–लामगरा–चालिसेडाँडा–ढुङ्गेटारी,जोर्ति–सुपारे–लाजिकोट–लुइँटेलभज्याङ,सामाचौर चापाभज्याङ–कार्कीगाउँ–सिमपानी–आँपपिपल, तेह्रकिलो–सिर्दि–खाल्टेलगायत सडक स्थानीय सरकारसँगको समन्वयमा स्तरोन्नति तथा कालोपत्रे गर्न लाग्नेछु ।’

पालुङटार रिङरोड योजनालाई अगाडि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । पालुङटार विमानस्थललाई स्तरोन्नति गरी यथाशीघ्र  कम्तिमा पनि काठमाडौं, पोखरा र भरतपुरसँग उडान भर्न लगाउने कार्यको पहल गर्ने देवकोटाले बताए । अहिले पनि विमानस्थल स्तरोन्नतिको काम भइरहेको छ ।

उनले गोरखाको पर्यटन प्रवर्दनलाई मुख्य योजनाको रूपमा अघि सार्दै त्यसका लागि लिगलिगकोट, देवकोट, बुढीकोटी जस्ता कोटलाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने बताए ।

त्यसैगरी, पालुङटार र गोरखा नगरपालिका भित्रका भुलभुलेखार जस्ता तातोपानी निस्कने स्थानमा कुण्ड निर्माण गर्ने, तालपोखरी, शिखरबेशी ताल, दरौँदीलगायत अन्य ताल–तलाउलाई आन्तरिक पर्यटक आकर्षण गर्ने ढंगले विकास गर्ने प्रतिबद्धता जनाउँदै  देवकोटाले त्यसबाट सिँचाइ लगायतका कार्यसमेत गर्न सकिने बताएका छन् ।

गण्डकी प्रदेशसभा उम्मेदवार देवकोटाले मठ, मन्दिर, गुम्बाजस्ता धार्मिकस्थलको स्तरोन्नति गर्ने कार्यमा पनि आफूले ध्यान दिने बताएका छन् ।

गोरखा बजार–मनकामना–लखन थापा-भीमसेन थापा-काजी कालु पाँडेका जन्मस्थलहरू जस्ता पर्यटकीय स्थललाई जोडेर गोरखा जिल्लाको दक्षिण भेगलाई पर्यटकीय हब बनाउने देवकोटाको योजनामा छ । उनले सम्बन्धित ठाउँहरूमा होमस्टेका सुविधा विकास गरी आर्थिक आयआर्जनमा समेत सहयोग पुग्ने कार्यमा यथेष्ट ध्यान दिने प्रतिबद्धता जनाएका छन् ।

पालुङटारको क्षेत्रीय रंगशालालाई प्राथमिकतामा राखेर पूर्णता दिने प्रतिबद्धता देवकोटाको छ । साथै, भट्टवेसीको खेलकुद मैदान निर्माण सम्पन्न गर्ने बताउँदै छेपेटारमा रहेको रंगशालालाई एकेडमीको रूपमा विकास गर्ने पनि देवकोटाको प्रतिबद्धतामा उल्लेख छ ।

प्रदेश निर्वाचन क्षेत्र नम्बर २ (क) का धेरैजसो बस्तीमा खानेपानीको समस्या भएको बताउँदै नेता देवकोटाले चेपे नदीबाट लिफ्ट खानेपानी योजनालाई सम्बन्धित निकायमा समन्वय गरी यथाशीघ्र सम्पन्न गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । उनले भने, ‘नेवारे खानेपानी योजना, छेपेटार–सातदोबाटो खानेपानी योजना लगायतलाई अघि बढाउनेछु । स्वच्छ खानेपानी सबैको मौलिक अधिकार भएकोले अन्यत्रका गाउँवस्तीमा स्थिति हेरेर योजनाहरूको निर्माण गर्ने कार्यमा प्राथमिकताका साथ लाग्नेछु ।’

गोरखा २ (क) कृषि उब्जनीको उर्वर भूमि भए पनि किसानले सिँचाइको समस्या भोग्नुपरेको छ । देवकोटाले सिँचाइका लागि आफूले सक्दो पहल गरिरहेको र चुनाव जितेपछि काम गर्न सहज हुने भन्दै छेपेटार–कुन्दुरटार सिँचाइ योजना यथाशीघ्र सम्पन्न गर्न पहल गर्ने बताए ।

लामो समय विद्यार्थी नेताको रूपमा राजनीति गरेका देवकोटाले शिक्षा तथा स्वास्थ्य विकास सम्बन्धमा आफूले गर्ने काम पनि अघि सारेका छन् । उनले प्राविधिक र व्यवहारिक शिक्षा सरकारी स्कुलमा व्यवस्था गर्न स्थानीय तहका लागि प्रादेशिक सहयोग जुटाउने,  शैक्षिक सशक्तीकरण कार्यक्रम मार्फत प्रत्येक ३ वर्षमा १ पटक भाग लिन पाउने गरी सबै शिक्षकका लागि पढाइका विषयवस्तुमा पुनर्ताजगी, अध्ययन अध्यापनमा आधुनिक प्रविधिको प्रयोग, प्रभावकारी कक्षा सञ्चालन विधि, ई–टेक्नोलोजीको प्रयोग जस्ता विषयमा तालिमका कार्यक्रमका लागि प्रादेशिक सहयोग जुटाउने पनि बताए ।

उनले आँपपिपल तथा गोरखा अस्पातालको स्तरोन्नतिका लागि प्रादेशिक सरकारको सहयोग जुटाउने र विभिन्न स्थानमा रहेका स्वास्थ्य संस्थाको स्तरोन्नतिको लागि पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

कृषि तथा पशुजन्य उत्पादनलाई उत्पादनकर्ताले चाहेमा न्यायोचित तवरले तोकिएको मूल्यमा नजिकको गाउँ-नगरपालिकाको कृषि व्यवस्थापन केन्द्रमा सरकारले खरिद गर्ने व्यवस्था मिलाउने पनि उनले बताएका छन् ।

निर्वाचन क्षेत्रमा एक अन्तर्राष्ट्रियस्तरको नेसनल टेक्निकल इन्स्टिच्युट स्थापना गर्न र च्याङ्ली-धुवाँकोटमा विशेष आर्थिक क्षेत्रका कामकारबाही अगाडि बढाउन लागि पर्ने, एकिकृत मस्र्याङ्दी करिडोर विकास योजनालाई प्रादेशिक गौरवको योजनामा राखी अघि बढाउन आफ्नो विशेष प्रयास हुने देवकोटाले बताएका छन् ।

२०४५ सालमा विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका देवकोटा २०५३ सालमा माओवादीको पूर्णकालीन सदस्य भएका थिए । २०५९ सालमा वार्ता समिति संयोजक डा.बाबुराम भट्टराईको सचिव र २०६०–०६१ सालमा क्षेत्रीय ब्युरो सदस्य तथा विभिन्न पदमा रहेर उनले जिम्मेवारी निभएका छन् ।

२०६१–६२ सालमा जनमुक्ति सेनाको सह–कमिसार, कम्पनी कमिसार हुँदै बटालियन कमिसार समेत भएका देवकोटा युद्धका क्रममा विभिन्न मोर्चामा पनि सहभागी भएका थिए । त्यसक्रममा लागेको गोलीको छर्रा अझै बाँकी रहेको देवकोटाले बताए । राजनीतिका क्रममा उनले करिब डेढ वर्ष जेलमा समेत बिताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved