विधिपूर्वक देवी विसर्जन गरिदै , टिका ग्रहणको तयारी

नेपालभ्युज

विधिपूर्वक देवी विसर्जन गरिदै , टिका ग्रहणको तयारी

काठमाडौं, नवरात्रको नौ दिनसम्म विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको दशैँ घर वा पूजा कोठामा आज विजयादशमीका दिन बिहान देवी विसर्जन गरिँदै छ ।

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दसैँ घर वा पूजा कोठामा देवी विसर्जन गर्न लागिएको हो ।

देवी विसर्जनका लागि बिहान १० बजेर ३४ मिनेटको साइत शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

विधिपूर्वक देवी विसर्जनपछि शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइन्छ । आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन साइत हेर्नु नपरे पनि शुभ साइत खोज्नेका लागि समितिले आज बिहान ११ः५१ बजेको साइत उत्तम रहेको जनाएको छ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइन्छ ।

आज टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

विजयादशमीका दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने मान्यता छ । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुपमा लगाउने गरिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved