एमालेको उम्मेदवार छान्ने अधिकार अध्यक्ष ओलीलाई, लिखित माफी नमागेसम्म १० बुँदेवालाले टिकट नपाउने

नेपालभ्युज

एमालेको उम्मेदवार छान्ने अधिकार अध्यक्ष ओलीलाई, लिखित माफी नमागेसम्म १० बुँदेवालाले टिकट नपाउने

काठमाडौं। आगामी मंसिर ४ मा हुने निर्वाचनमा नेकपा एमालेले उम्मेदवार चयनको अधिकार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।

ओलीको निवास बालकोटमा बिहीबार मध्यरातसम्म चलेको बैठकले सम्बन्धित कमिटी र नेताहरुसँग आवश्यक परामर्श गरेर उम्मेदवार चयन गर्ने अधिकार पार्टी अध्यक्षलाई दिएको सचिव पद्मा अर्यालले जानकारी दिइन्। बैठकमा उम्मेदवारहरुको मोटामोटी प्रस्ताव आएको र त्यसमाथि ब्यापक छलफल भएको उनले बताइन्।

६ घण्टाभन्दा बढी चलेको बैठकले उम्मेदवारबारे ठोस निर्णय भने गरेन। अन्य दलसँग तालमेलको कुरा टुंगिन बाँकी रहेकाले पनि थप छलफल गरेर मात्रै उम्मेदवारबारे निर्णय लिन नेताहरू सहमत भएका छन्।

एमालेको जिल्ला र प्रदेशबाट ५६ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रको उम्मेदवारमा एकल सिफारिस भएको छ। बाँकी निर्वाचन क्षेत्रमा एक भन्दा बढी आकांक्षीको नाम सिफारिस भएर आएको छ।

माफी नमागेसम्म १०  बुँदेवालाले टिकट नपाउने

बिहीबारको पदाधिकारी बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार छनोटको विषयमा भएको छलफलमा १० बुँदे समझदारीमार्फत् पार्टीमा रहेका नेताहरूका बारेमा बारम्बार कुरा उठेको थियो।

छलफलका क्रममा अध्यक्ष ओलीले १० बुँदे सहमतिमार्फत् पार्टीमा बसेका नेताहरूको नाम आउनेबित्तिकै उनीहरूको बारेमा थप छलफल गर्नुपर्ने धारणा राखेका छन्।

‘पार्टी अध्यक्षलाई नै प्रधानमन्त्रीबाट बर्खास्त गर्न हस्ताक्षर गरेका नेताहरूलाई बिना कुनै आत्मआलोचना कसरी टिकट दिने ?’ छलफलमा ओलीको भनाइ उधृत गर्दै एक नेताले भने, ‘उहाँहरूले त्यतिखेर हामीबाट गम्भीर गल्ती भयो भनेर लिखित रुपमा आत्मआलोचना गर्नुपर्छ, नत्र फेरि पनि पार्टीलाई धोका दिने सम्भावना हुन्छ।’

एमालेको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलले २०७८ असार २७ गते १० बुँदे सहमति गरेका थिए। त्यसअघि वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री ओलीले विश्वासको मत लिन खोज्दा २८ जना सांसद प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका थिए। तीमध्ये १२ जना नेता १० बुँदे सहमति गरेर एमालेमै रहे भने बाँकीले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरे।

१० बुँदे समझदारी गरेर एमालेमा बसेका नेताहरू मंसिर ४ मा हुने निर्वाचनका लागि आआफ्नो निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस पनि भएका छन्। तर अध्यक्ष ओलीले पहिले नै पार्टीमा गम्भीर गल्ती गरेको हुनाले आउँदो चुनावमा उनीहरुलाई बिना आत्माआलोचना टिकट दिन नहुने धारणा राख्दै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved