कुशल स्याक्साफोनवादक शुभबहादुर सुनामको निधन

नेपालभ्युज

कुशल स्याक्साफोनवादक शुभबहादुर सुनामको निधन

काठमाडौं। कुशल संगीतकार तथा स्याक्साफोनवादक शुभबहादुर सुनामको सोमबार बिहान निधन भएको छ।आइतबार राति अचानक लगातार खोकी लागेपछि छाउनीस्थित सैनिक अस्पतालमा पु-याइएको उनको उपचारकै क्रममा आज बिहान पौन पाँच बजे अस्पतालमा निधन भएको

उनका संगीतकार तथा संगीत संयोजक नाति एलिश कार्कीले जानकारी गराए। एलिशका अनुसार शुभबहादुरको रक्तचाप बढेको पाइएको थियो। मृगौला रोगसँग जुध्दै आएका शुभबहादुर केही समयदेखि डायोलोसिस गर्दै आईरहेका थिए।

अन्तिम संस्कारका लागि शुभबहादुरको शव पशुपति आर्यघाट पुर्‍याइँदैछ भने अन्तिम श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीरलाई केही घन्टा आर्यघाटमा राखिने पनि एलिशले जानकारी गराए।

७४ वर्षीय शुभबहादुरले ११ वर्षकै कलिलो उमेरमा नेपाली सेनामा ब्वाइज दर्जामा जागिर शुरु गरी जर्नेलसम्म भएका थिए। सैनिक व्यान्डमा रही वाद्यवादन तथा संगीत सिर्जनका कार्य गर्दै आएका उनले तत्कालिन युवराज दिपेन्द्र शाहलाई समेत संगीत सिकाएका थिए।

रेलीमाई रेलीमाई, फुलै फुलको मौसम तिमीलाई, पिरती बस्योजस्ता गीतका संगीतकार रहेका उनले एक सयभन्दा बढी आधुनिक तथा एक दर्जन जति फिल्मी गीतमा संगीत भरेका छन्।

हार्मोनियम, तबलाजस्ता सबै प्रकारका वाद्य सामग्री वादनमा पोख्त शुभबहादुर स्याक्साफोन वादनका लागि चिनिन्थे। नेपालमा स्याक्साफोन भनेर चिनाउने श्रेय नै उनलाई जाने संगीतकर्मीहरु बताउँछन्। ६ महिनाअघि मात्र पत्नीशोक व्यहोरेका उनको परिवारमा दुई छोरा एक छोरी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved