यसकारण प्रत्यक्ष निर्वाचनबाट पछि हटे विमलेन्द्र निधि

यसकारण प्रत्यक्ष निर्वाचनबाट पछि हटे विमलेन्द्र निधि

जनकपुरधाम । नेपाली काँग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिले आफूलाई प्रत्यक्ष निर्वाचनको दौडबाट समानुपातिकतर्फ सुरक्षित अवतरण गरे । धनुषाको निर्वाचन क्षेत्र नंं ३ बाट प्रतिनिधिसभा तर्फ नेता निधि समानुपातिक तर्फबाट सिफारिस भएका छन् । उनको यो निर्णयले धनुषासँगै देशव्यापीरूपमा चर्चा पाएको छ ।
काँग्रेस उपसभापति समेत भइसकेका नेता निधि नेपाल सरकारको उपप्रधानमन्त्री एवं गृहमन्त्री सम्हालिसकेका नेता हुन् । राष्ट्रिय राजनीतिमा प्रभावशाली उपस्थिति जनाइरहेका नेताले प्रत्यक्षतर्फ निर्वाचन नलड्ने जनाएपछि क्षेत्रीय समितिले उनको नाम समानुपातिक तर्फ सिफारिस गरेको हो ।
निधि २०७४ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोसँग पराजित भएका थिए । तर यसअघि संविधानसभा चुनावमा उनी निर्वाचित भएका थिए । गत स्थानीय तहको चुनावमा नेपाली काँग्रेसले सो क्षेत्रका अधिकांश स्थानीय तहमा विजय हासिल गरेता पनि नेता निधिले प्रत्यक्षतर्फ चुनाव नलड्ने निर्णय लिए । यो निर्णयबाट उनका समर्थकहरू निराश देखिएका छन् ।
स्थानीय तहको चुनावमा काँग्रेसले प्राप्त गरेको मत तथा अहिलेको गठबन्धनका कारणले निधिलाई चुनावी स्पर्धा धेरै मुस्किल देखिंदैन । जितको सम्भावना बलियो भए पनि पार्टीभित्र अन्तर्घात हुने त्रासका कारण उनी प्रत्यक्ष भन्दा पनि समानुपातिकतर्फ मोडिएका कतिपयको तर्क छ ।
उनी भौतिक पूर्वाधार तथा विकासमन्त्रीको जिम्मेवारीमा रहँदा विकास निर्माणको काममा पनि सक्रिय थिए । निधि पछाडि हट्दा उनको क्षेत्रमा प्रत्यक्षतर्फ गणेश तिवारी र परमेश्वर महासेठको नाम सिफारिस भएको छ । उता, एमालेले नेता जुली कुमारी महतो महासेठको नाम सिफारिस गरेको छ।
अहिलेका सांसद एवं लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले कहाँबाट चुनाव लड्ने भनेर अहिलेसम्म पनि मुख खोलेका छैनन् । नेकपा एमालेसँग पार्टीले गठबन्धन गरेको खण्डमा मात्रै महतोले चुनाव लड्ने मनस्थिति बनाएको बुझिएको छ ।
निधिले यस कारण रोजे समानुपातिक बाटो
नेता निधिका निकटस्थहरूले एउटा निर्वाचन क्षेत्रमा सीमित हुनुभन्दा समानुपातिकमा बसेर सुरक्षित र फराकिलो विकल्प रोजेको हुनसक्ने तर्क गर्छन् । यसो गर्दा देशव्यापीरूपमा उनले आफूलाई चुनावी अभियानमा सक्रिय बनाउन सक्छन् जसबाट उनले राष्ट्रिय राजनीतिमा आफूलाई थप स्थापित गराउन सक्नेछन् ।
पार्टीको महाधिवेशनमा मधेसबाटै राम्रो मत नपाएपछि उनी रक्षात्मक बनेको हुनसक्ने अर्कोथरीको आकलन रहेको छ । आफ्नै निकटस्थ र विश्वासपात्रहरूबाट हुनसक्ने सम्भावित धोकाबाट उनी सचेत रहेका हुनसक्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved