सुनकोसी- दुई कविता

जब म एक अञ्जुली पानी खान बसेँ
पानीको स्वादमा रगतको स्वाद मिसिए जस्तो
पानीको रंगमा मान्छेको रंग साटिए जस्तो
पानीको गन्धमा वर्गबन्धुको गन्ध टाँसिए जस्तो।

नेपालभ्युज

सुनकोसी- दुई कविता
फाइल तस्वीर

बगिरहेको सुनकोसीमा

–मणि थापा

बगिरहेको सुनकोसीमा
जब म एक अञ्जुली पानी खान बसेँ
तर पानीमा पानीको स्वाद थिएन
पानीमा पानीको रंग थिएन
पानीमा पानीको गन्ध थिएन
पानीमा पानीको छन्द थिएन
बगिरहेको सुनकोसीमा ।

जब म एक अञ्जुली पानी खान बसेँ
पानीको स्वादमा रगतको स्वाद मिसिए जस्तो
पानीको रंगमा मान्छेको रंग साटिए जस्तो
पानीको गन्धमा वर्गबन्धुको गन्ध टाँसिए जस्तो
आला–आला रगतका फाल्साहरूमा
पानीको थोपा गाँसिए जस्तो
बगिरहेको सुनकोसी सप्तकोसीमा परिणत भएजस्तो
पानी हो कि रगत हो ?
रगत हो कि पानी हो
छुट्याउन गाह्रो भएजस्तो ।

बगिरहेको सुनकोसीमा
जब म एक अञ्जुली पानी खान बसेँ
मैले बगिरहेको सुनकोसीमा
उसको अनुहारको प्रतिविम्ब भेटेँ
रगत र मासु मिसिएको पानीका तरंगहरूमा साँच्चै
मैले उनीहरूलाई जिउँदै देखेँ
सुनकोसीको रक्तधारमा पौड्दै
उनीहरूलाई लडिरहेको देखेँ ।

बगिरहेको सुनकोसीमा
जब म एक अञ्जुली पानी खान बसेँ
पानीमा रगतको आलो गन्ध मात्र थिएन
उनका आँखाहरू पनि पानीमा बगिरहेका थिए
आँखाहरू मात्र थिएनन् पानीमा
गिदीका सेता धर्साहरू पनि बगिरहेका थिए
गिदी मात्र कहाँ हो र ?
उनले सधैँ पढ्ने गरेको रातो किताब पनि बगिरहेको थियो
रातो किताब मात्र कहाँ हो र ?
हेर्दै जाँदा ट्रिगर दबाउन ठीक पारेका औँलाहरू पनि थिए ।

पानीमा औँलाहरू मात्र थिएनन् पानीमा
एक हुल कस्सिएका मुठीहरू
अन्तर्राष्ट्रिय गीत गाउँदै गरेको देखेँ
जब बगिरहेको सुनकोसीमा
एक अञ्जुली पानी खान बसेँ
‘मरे भनी फ्याँकिएका’ जनयुद्ध भई उठ्दै थिए
बगे भनी सोचिएका पौडी खेल्दै थिए
टुक्रा पारी फालिएका एक भएर आमसभामा जोडिँदै थिए
पानीको रंगमा रगतको रंग मिसाउँदै
उनीहरू झन्डा बनाउँदै थिए ।

जब सुनकोसीको पानीमा
एक अञ्जुली पानी खान बसेँ
हो ! साँच्चै मैले उनीहरूलाई जिउँदै देखेँ ।

 

सुनकोसी तिमी बगिराख

–विवश वस्ती

समयका मीठा र आत्मीय गीत गाउँछन्
अन्त्यहीन तिम्रा छालहरूले
सयौँ उजाड बगरहरू
लेख्छन् सुन्दर लिपी तिम्रो प्रवाहको तारिफमा
घामका मुस्कानले
टिप्छन् तिम्रा जलतरङ्गलाई
निकै परको क्षितिजमा टाँगिएका खुर्पे जूनलाई
लहर–लहरमा सजाएर
बगिराख,
सुनकोसी तिमी बगिराख

धूलोका निर्जीव कणहरूले
फूलको सौन्दर्यलाई निमोठिरहेका होलान् कतै
छेपाराका शंकालु आँखाले
वैशालु पुतलीका कौमार्य लुटिरहेका होलान् कतै
गुराँसका निश्छल बान्कीहरूले
बैँस पोखिरहेका होलान् कतै
पालुवाहरू
मुर्झाइरहेका होलान् कतै
बगिराख,
सुनकोसी तिमी बगिराख

कैयौँ झुप्राहरू टिप्न खोजिरहेछन् प्रत्येक दिन
उज्यालोका प्रतिविम्ब
शीतलहरले चुमिरहेका अभिशप्त टोलहरूमा
एकमुठी न्यानो घाम
फक्रिने कुनै टुङ्गो छैन
उज्यालोको सुसमाचार बोक्दै
हरेक याममा
चिसो होस वा चर्को घाममा
बगिराख,
सुनकोसी तिमी बगिराख

दिनहुँ
अज्ञात हातहरूले
निमोठ्न खोजिरहेका छन् उज्यालोको घाँटी
कुनै पनि वृत्तबाट भइरहेका छैनन् आपत्ति
उल्टै
आश्चर्य जनाइरहेका छन्
छानोमा झुण्डिएका सौखिन चमेराहरू
समवेदनाको तलाउमा
शोकमग्न छैनन् जलहाँसहरू
रोकिएको छ विश्वासको प्रवाह
बेल पाकेको खुसीयालीमा
केही हुल कागहरू मनाइरहेछन् विशाल हर्षबढाइँ
यस्तो बेला
मेट्दै अँध्याराका अध्यायहरू
बगिराख,
सुनकोसी तिमी बगिराख

तिम्रो मुस्कान टिपेर
उमारेका छन् धेरैले आफूभित्र खुसीका तरङ्गहरू
धेरैले
आफ्नो यात्राका रेखाहरू लम्ब्याएका छन्
तिम्रो प्रवाह छामेर
धेरैले सुसेलेका छन् सुन्दरताको मीठो लय
तिम्रो सौन्दर्य बुझेर
तिम्रो निश्छलता सिकेर
धेरैले आफूलाई उठाएका छन् माथि
भनिरहन्छु म
हरेक क्षण \हरेक सन्दर्भहरूमा
बगिराख,
सुनकोसी तिमी बगिराख
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved