प्रतिनिधिसभा निर्वाचन

भक्तपुर-२ : महेश बस्नेतलाई गठबन्धन मुख्य चुनौती, नेमकिपा र राप्रपा निर्णायक

कांग्रेसबाट उम्मेदवारको दौडमा अघि रहेका दुर्लभ थापा भन्छन्- “सिंगल सिंगल भिड्छु भन्नेलाई यसअघि पनि धूलो चटाएकै हौँ, त्यसपछि माओवादीको वैशाखी टेकेर एकपटक जिते भन्दैमा घमन्ड नगरे हुन्छ, यसपटक हामी नै जित्छौं ।” एमालेले आन्तरिक मूल्यांकनमा यो क्षेत्र जितिने सूचीमा राखेको छ । उम्मेदवारका हिसाबले पनि महेश बस्नेत अन्य भन्दा बलिया देखिन्छन् । यो बीचमा आफ्नो क्षेत्रमा बस्नेतले विकास निर्माणको काम पनि गरेको स्थानीय बताउँछन् । बस्नेत पनि आफूले फेरि जित्नेमा ढुक्क देखिन्छन् ।

नेपालभ्युज

भक्तपुर-२ : महेश बस्नेतलाई गठबन्धन मुख्य चुनौती, नेमकिपा र राप्रपा निर्णायक

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि दलहरूले तयारी तीव्र बनाएका छन् । सबै दल जित्नसक्ने उम्मेदवारको खोजीमा लागिरहेका छन् । उम्मेदवार बन्न चाहनेले पनि लबिङ गरिरहेका छन् ।

त्यसो त यो पटकको निर्वाचन रोचक बन्ने देखिन्छ । सत्ता गठबन्धनमा रहेका दल एकातिर छन् भने एमाले लगभग एक्लै प्रतिस्पर्धामा छ । नेकपा एमाले, नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी र राप्रपाको प्रभाव रहेको भक्तपुर क्षेत्र नम्रब २ मा यस पटक कसले बाजी मार्छ भन्नेबारे कौतुहलता बढेको छ ।

गत निर्वाचनको परिणाम

यो क्षेत्रबाट २०७४ सालको निर्वाचनमा नेकपा एमालेका महेश बस्नेत निर्वाचित भएका थिए । वाम गठबन्धनको सहयोगमा बस्नेतले नेपाली कांग्रेसका दमननाथ ढुंगानालाई हराएका थिए । बस्नेतले ३६ हजार ४१२ मत ल्याउँदा ढुंगाना १८ हजार ६८७ मतमा सीमित भए ।

तर, योपटक भने अवस्था बदलिएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम हेर्दा यो क्षेत्रमा सत्ता गठबन्धनका वडा अध्यक्षले २७ हजार ६२९ मत पाएका छन् । एमालेका वडाअध्यक्षका उम्मेदवारको मत २४ हजार १४५ छ । यसलाई आधार मान्ने हो भने गठबन्धन ३ हजार ४ सय ४८ मतले अघि देखिन्छ । यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टीको करिब ५ हजार र राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि करिब ४ हजार मत रहेको अनुमान छ । त्यसैले, नेकपा एमालेले नेमकिपा र राप्रपासँग तालमेलको प्रयास गरिरहेको छ ।

दलहरूका दाबेदार 

नेकपा एमालेले महेश बस्नेतलाई नै अघि सार्ने तयारी गरेको छ । विद्यार्थी राजनीतिबाट आएका बस्नेत पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र हुन् । त्यसैले उनलाई यो क्षेत्रबाट टिकट पाउन खासै मुस्किल देखिँदैन । तर, एमालेबाट निर्मल भट्टराईले पनि चाहना राखेका छन् ।

सत्ता गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसलाई अन्यत्र उम्मेदवारको टुङ्गो लगाउन त्यति सहज छैन । एकातर्फ भागबन्डामा सिट संख्या कम पर्नु र अर्कोतर्फ आफ्नै पार्टीभित्र आकांक्षी धेरै देखिनुले उम्मेदवार छनोट गर्न कांग्रेसलाई हम्मे–हम्मे पर्ने देखिएको छ । तर, भक्तपुर दुईमा भने उसलाई केही सहज छ ।

यहाँबाट दुर्लभ थापा कांग्रेसको उम्मेदवार बन्ने लगभग निश्चित रहेको नेताहरू बताउँछन् । पार्टी सभापति शेरबहादुर देउवाले थापालाई उम्मेदवार बनाउने भनेर यसअघि नै घोषणा गरेका थिए । देउवाको घोषणापछि थापाले सक्रियता पनि बढाएका छन् । महेश बस्नेतलाई काउन्टर दिने क्रममा देउवाले आगामी निर्वाचनमा पहिले दुर्लभ थापालाई हराएर देखाउन भनेका थिए ।

यस्तै, कांग्रेसबाट केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र वरिष्ठ पत्रकार कविर राणाले पनि यस क्षेत्रबाट आकांक्षा राखेका छन् । रामेश्वर ढुङ्गेल र कृष्णलाल भँडेलको नाम पनि चर्चामा छ । यता सत्ता गठबन्धनमै रहेको माओवादी  केन्द्रबाट  रामप्रसाद सापकोटा दीप शिखाको नाम चर्चामा छ ।

सत्ता गठबन्धनमा भागवण्डा गर्दा यो क्षेत्र माओवादीले पाए सापकोटा नै उम्मेदवार हुनेछन् । नेपाल मजदुर किसान पार्टीबाट अनुराधा थापा उम्मेदवार बन्ने बताइएको छ ।  नेमकिपाले कुनै पनि दलसँग गठबन्धन वा तालमेल गर्ने नीति नभएको बताएको छ । एमालेसँग तालमेल भएमा नेमकिपाले प्रदेशसभा सदस्य लिनेछ ।

राप्रपाले एमालेसँग तालमेल गर्ने सम्भावना छ । एमालेले सत्ता गठबन्धनसँग लड्न राप्रपालाई प्रदेशसभा सदस्य दिएर प्रतिनिधिसभामा आफूलाई समर्थन गर्न प्रस्ताव गरेको छ । राप्रपा पनि त्यसमा सहमत हुने देखिन्छ ।

कस्तो होला त सम्भावित परिणाम

यो क्षेत्रमा दलहरुका आ-आफ्नै दाबी छन् । एमालेले आन्तरिक मूल्यांकनमा यो क्षेत्र जितिने सूचीमा राखेको छ । उम्मेदवारका हिसाबले पनि महेश बस्नेत अन्यभन्दा बलिया देखिन्छन् । यो बीचमा आफ्नो क्षेत्रमा बस्नेतले विकास निर्माणको काम पनि गरेको स्थानीय बताउँछन् । स्वयं बस्नेत पनि आफूले फेरि जित्नेमा ढुक्क देखिन्छन् ।

यता गठबन्धनका बलमा यसपटक बस्नेतलाई हराउन सकिने कांग्रेसको मूल्यांकन देखिन्छ । यसअघि, माओवादीसँग मिलेर एमालेले जितेकाले यो पटक आफू बलियो रहेको उसको तर्क छ । कांग्रेसबाट उम्मेदवारको दौडमा अघि रहेका दुर्लभ थापा भन्छन्, “सिंगल सिंगल भिड्छु भन्नेलाई यसअघि पनि धूलो चटाएकै हौँ, त्यसपछि माओवादीको वैशाखी टेकेर एकपटक जिते भन्दैमा घमन्ड नगरे हुन्छ, यसपटक हामी नै जित्छौं ।”

कांग्रेसका लागि योपटक पहिलेभन्दा केही सहज अवस्य छ । किनकि, विगतमा एमालेमा गएका माओवादीका मत अब कांग्रेसमा आउनेछन् । त्यसबाहेक एमाले पनि विभाजित भएको छ । धेरै नभए पनि १ हजार हाराहारीमा एमालेका मत एकीकृत समाजवादीले आफूतिर ल्याउन सक्ने कांग्रेसको मूल्यांकन छ ।

एमालेले भने राप्रपासँगको तालमेलले गठबन्धनलाई उछिन्न सहज हुने विष्लेषण गरेको छ । उम्मेदवारको प्रभावले पनि चुनावमा ठुलो अर्थ राख्छ । बाहिर विवादित भए पनि बस्नेत आफ्नो क्षेत्रमा भने लोकप्रिय मानिन्छन् । तर, उनका लागि ठूलो चुनौती भने सत्तारुढ गठबन्धन नै हो ।

यसरी हेर्दा यो क्षेत्रमा आगामी चुनावमा कडा टक्कर हुने अनुमान गर्न सकिन्छ । स्थानीय चुनावको मतका हिसाबले गठबन्धन अघि देखिन्छ । तर, राप्रपासँगको तालमेल र महेश बस्नेतको प्रभावका कारण प्रतिस्पर्धा बराबरीमा आएको छ । त्यसैले, नेमकिपा र राप्रपाको मत निर्णायक हुने सम्भावना छ । एमालेले दुवैसँग तालमेलको प्रयास गरिरहेको छ । नेमकिपा भने एक्लै लड्ने मुडमा देखिन्छ ।

राप्रपासँग मात्रै तालमेल गर्दा पनि महेश बस्नेत यो क्षेत्रका बलिया प्रतिस्पर्धी हुन् । गठबन्धन गर्दा पनि यो क्षेत्रमा बस्नेतलाई हराउन कांग्रेसलाई भने ठुलै कसरत गर्नुपर्ने देखिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved