मुख्यमन्त्री राउतको पुत्ला दहन, १५० प्रदर्शनकारी पक्राउ (तस्वीरहरु)

मुख्यमन्त्री राउतको पुत्ला दहन, १५० प्रदर्शनकारी पक्राउ (तस्वीरहरु)

जनकपुरधाम । जनकपुरधाममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गरिएको छ।

चुरे तथा वनजंगल संरक्षण अभियन्ताहरुले बिहिबार जनकपुरधाममा प्रदर्शन गर्दै मुख्यमन्त्री राउतको पुत्ला दहन गरेका हुन्  । पुत्ला दहन गर्ने क्रममा १५० जना अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार ताला लगाउन पुगेका चुरे तथा वनजंगल संरक्षण अभियानका अभियान्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो।

अभियानका प्रदेश संयोजक अमन यादव लगायत अभियानका १५० सदस्यहरूलाई प्रहरीले पक्राउ गरेको अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले जानकारी दिए।

बुधबार उद्योग, पर्यटन तथा वन मन्त्रालयले सिरहाको चोहर्वा स्थित मारुती सिमेन्ट उद्योगले सरकारी जमिन कब्जा गरे/नगरेको विषयमा निष्कर्ष बिना कै प्रतिवेदन सार्वजनिक गरेको भन्दै उनीहरू असन्तुष्ट बनेका छन् ।

चुरे तथा वनजंगल संरक्षण अभियन्ताहरुले डिभिजन वन कार्यालय सिरहाका प्रमुख सुभाष दासले गरेको अनियमितता तथा मारुती सीमेन्ट उद्योगले अतिक्रमण गरेको वनको जग्गा सम्बन्धमा छानविन गर्न मधेस प्रदेश सरकारले अभियानसँग २०७८ भदौ ४ गते गरेको सम्झौता अविलम्व सार्वजनिक गर्नुपर्ने, तराई मधेशका दलित भुमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवासीहरु भूमि अधिकारबाट वञ्चित रहेकोले उनीहरुलाई तत्कालै गाँस, वास र कपासको व्यवस्था गर्नुपर्ने, स्थानीय सरकारद्धारा उठीबास लगाउने कार्य वन्द गर्नुपर्ने लगायतका माग राख्दै आएका थिए  ।

उनीहरू निरन्तर ४० दिनदेखि आन्दोलनरत छन् । एक वर्ष अगाडि उनीहरु जनकपुरधाममा आमरण अनसन बसेपछि मधेश प्रदेश सरकारले चुरे तथा वनजंगल संरक्षण अभियानसँग मिति २०७८ भदौ ४ गते सम्झौता गरेको थियो ।  यस्तै मन्त्रालयले २०७८ साल भाद्र २० गते वन मन्त्रालयका उपसचिवको संयोजकत्वमा सात सदस्यीय छानबिन समितिसमेत गठन गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved