को बन्ला भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष ? राहुल गान्धी अनिच्छुक, प्रियंका मौन

राहुल गान्धीको राजीनामापछि पूर्व पार्टी अध्यक्ष सोनिया गान्धीले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छन्। सोनिया गान्धी ७५ बर्ष पुगेकी छन् भने उनको स्वास्थ्य स्थिति पनि त्यति राम्रो नभएको बताइन्छ। सन् २०२४ को लोकसभा निर्वाचन अघि व्यापक सक्रियता दिन सक्ने पूर्ण पार्टी अध्यक्षका लागि निर्वाचन गर्नुपर्ने माग हुँदै आएको छ ।

नेपालभ्युज

को बन्ला भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष ? राहुल गान्धी अनिच्छुक, प्रियंका मौन

काठमाडौं। भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष हुन राहुल गान्धी अनिच्छुक देखिएका छन् । जसका कारण पार्टीको राष्ट्रिय अध्यक्ष निर्वाचन तालिका प्रभावित भएको छ ।

अगष्ट २१ गते आइतबार पार्टीको निर्वाचन समितिले राष्ट्रिय अध्यक्ष पदको निर्वाचन तालिका प्रकाशित गर्ने कार्यक्रम थियो । तर, पार्टीभित्रको अनिश्चयका कारण आयोगले तालिका प्रकाशित गरेन । गान्धी सन् २०१७–१९ बीच पार्टीको अध्यक्ष थिए । सन् २०१९ को लोकसभा निर्वाचनमा पार्टीले राम्रो नतिजा ल्याउन नसकेपछि उनले पदबाट राजीनामा गरेका थिए ।

राहुल गान्धीको राजीनामापछि पूर्व पार्टी अध्यक्ष सोनिया गान्धीले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छन्। सोनिया गान्धी ७५ बर्ष पुगेकी छन् भने उनको स्वास्थ्य स्थिति पनि त्यति राम्रो नभएको बताइन्छ। सन् २०२४ को लोकसभा निर्वाचन अघि व्यापक सक्रियता दिन सक्ने पूर्ण पार्टी अध्यक्षका लागि निर्वाचन गर्नुपर्ने माग हुँदै आएको छ ।

असन्तुष्ट समूह ‘जी–२३’ ले पार्टी अध्यक्षको निर्वाचनका लागि बारम्बार आग्रह गर्दै आएको छ । अध्यक्षको निर्वाचन प्रक्रिया अघि बढे यस समूहबाट पनि कसैले उम्मेद्वारी दिन सक्ने अनुमान गरिएको छ। भारतीय संचारमाध्यमका अनुसार राहुल गान्धी बारम्बार लाग्ने परिवारवादको आरोपबाट चिन्तित छन् । उनी गान्धी परिवारबाहिरबाट कोही कांग्रेसको राष्ट्रिय अध्यक्ष बनोस भन्ने चाहन्छन् ।

सत्तारुढ भारतीय जनता पार्टीले कांग्रेसमाथि परिवारवाद र वंशवादको आरोप लगाउने गरेको छ। तर, कांग्रेसको राष्ट्रिय अध्यक्षका लागि गान्धी परिवारभन्दा बाहिरबाट कुनै उपयुक्त पात्र र दाबेदार नदेखिएकाले पार्टी कार्यकर्ता चिन्तत छन् ।
गान्धी परिवार बहिरबाट मल्लिकार्जुन खड्गे, मीरा कुमार, अम्बिका सोनी, कमल नाथ र मुकुल बासनिकको नाम चर्चामा छ । खड्गे राज्यसभामा विपक्षी दलको नेता छन् । कमल नाथ राजस्थानको मुख्यमन्त्री हुन् । युवानेतामा सचिन पाइलटको नाम अगाडी छ ।

कतिपयले गान्धी परिवारकै अर्की सदस्य प्रियंका गान्धीको समेत चर्चा गर्ने गरेका छन् । प्रियंका राहुलकी बहिनी हुन् । उनी अहिले पार्टीको महासचिव छन्। उनले राहुलको इच्छा र अन्तिम निर्णय आउनु अघि आफूले यसबारे केही नबोल्ने बताएकी छन्।

विश्लेषक भन्छन– प्रियंकामा कांग्रेसको राष्ट्रिय अध्यक्ष हुने चाहना छ । तर, आमा सोनिया गान्धी र दाजु राहुल गान्धीको निर्णय विपरित भने उनी जान चाहदैनन्। राहुलले अध्यक्ष नहुने अन्तिम निर्णय लिएमा प्रियंकाले उम्मेद्वारी दिन सक्ने सम्भावना छ ।

यही अनिश्चितताबीच राहुल गान्धीले आगामी सेप्टेम्बर ७ बाट ‘भारत जोडो यात्रा’ गर्दैछन । यो यात्रा कश्मिरदेखि कन्याकुमारीसम्म करिब ३५ सय किलोमिटर लामो हुनेछ । यात्रामा उनले १२ राज्य र थप २ केन्द्र शासित प्रदेशका मुख्य शहर, चोक बजार छुने छन् । यात्रा प्रतिदिन औसत २० किलोमिटरको हुने र १ सय ५० दिनसम्म चल्ने बताइएको छ ।

पछिल्ला राजनीतिक सर्वेक्षणका नतिजाले सन् २०२४ को आमचुनावमा कांग्रेसको स्थिति झनै कमजोर हुन सक्ने देखाएको छ । भाजपापछि आम आदमी पार्टी दोस्रो स्थानमा आउन सक्ने विष्लेषण पनि गर्न थालिएको छ । यस कारणले पनि आमचुनाव अघि नै कांग्रेसलाई एक बलियो, सक्रिय र पूर्ण अध्यक्ष आवस्यक भएको छ । तर, राहुलको अनिच्छाले कांग्रेसको नेतृत्व चयन गर्ने प्रक्रियामै गतिरोध आएको छ ।

भारत स्वतन्त्र भएपछि गान्धी परिवारबाट जवाहरलाल नेहरु, इन्दिरा गान्धी, राजिव गान्धी, सोनिया गान्धी र राहुल गान्धी कांग्रेसको अध्यक्ष भइसकेका छन् । गान्धी परिवार वाहिरबाट निलम संजिब रेड्डी, के. कामराज, एस. निजलिंगप्पा, जगजीवन राम, देवकान्त बरुवा, पीभी नरसिंम्ह राव र सीताराम केशरी कांग्रेस अध्यक्ष भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved