प्रिय कथा

बग्दैबग्दै जीवनसँग

कलकलाउँदी गोरी, आकर्षक जीउडाल भएकी कान्छी जापनिज परीजस्ती देखिन्थी। उसका आँखामा जादु थियो। समुद्रलाई भेट्न सबै नदीहरू दौडिएझैँ कान्छीको सामीप्य पाउन सबै ग्राहकहरू कान्छीतिरै दगुर्थे।

बग्दैबग्दै जीवनसँग

(रचनागर्भ: वि.सं. २०३८ मा म त्रिभुवन विश्वविद्यालयबाट वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा नियुक्ति पाएर गएँ। त्यस समय मेरो लेखनको उर्वर काल थियो। गरिमा, मधुपर्क र अन्य पत्रपत्रिकाहरूमा मेरा कथा, कविता प्रकाशित भइरहन्थे। त्यस बेलाको गोरखापत्र, विमर्श, सुरुचि, समाज, युगसम्वादसँग पनि म संलग्न थिएँ। त्यसैले समाचार सुन्न र संकलन गर्न वीरगञ्जको डिएसपी कार्यालय पुगिरहन्थेँ। एक दिन भारतमा बेचिएका नेपाली चेलीहरूलाई उद्धार गरी भारतीय  महिला प्रहरीले वीरगञ्ज डिएसपी कार्यालयमा सुम्पन ल्याएका छन् भन्ने खबर पाएर म पनि त्यहाँ पुगेँ। लाइन लागेर बसेका ५\६ जना चेलीहरू देखेँ। पत्रकार भएर नाम पनि सोधेँ। अब कहाँ जाने भन्ने कुरा पनि गरेँ। उनीहरू सबैले केही न केही जवाफ दिएका थिए। त्यस बेला आज जस्तो माइती नेपालको स्थापना भएको थिएन  नेपाली चेलीहरूलाई भारतमा लगेर बेचिने घटनाहरू भइरहन्थ्यो। यसरी बेचिने चेलीहरू कोही झुटो बिहे गरेर लगिएका र कोही आफन्त र चिनजानका मानिसले काम लगाइदिन्छु भनेर गाउँघरबाट ललाइफकाइ लगेका हुन्थे। यही सन्दर्भलाई मैले ‘बग्दैबग्दै जीवनसँग’ कथामा कथावस्तुको रूपमा राखेको छु।)

दुई सुकोमल हात जोडेर उसले मलाई ‘नमस्ते…’ भनेकी थिई।

‘नमस्ते’ भन्दा ऊ केही मुस्कुराउँथी र ऊ मुस्कुराउँदा उसका गालामा दुईतिर गहिरो खोपिल्टा पर्ने गर्थ्यो। त्यो खोपिल्टाले ऊ झन् राम्री देखिन्थी।

कान्छी। उसले यही नाम बताएकी थिई मलाई।

–तिम्रो नाम के प¥यो ? सोधेको थिएँ।

–कान्छी।
–कान्छी मात्रै ?
–कान्छी मोक्ताननी।
–तपाईँहरूको…?

छेवैमा बसेका अरूलाई पनि सोधेँ मैले। एउटी अलि बाठी रहिछ, उसले भनी,
–मेरो नाम देवी हो। यो सावित्री, ऊ धनलक्ष्मी, त्यो ल्हासाङ, त्यो…उसको नाम…

कुल सात जना थिए उनीहरू। वीरगञ्जको डीएसपी कार्यालयमा मेरो उनीहरूसित भेट भएको थियो। आफू पत्रकार भएकाले म डीएसपी कार्यालय पुगिरहन्थेँ। आजभन्दा सात वर्षअघिको कुरा हो यो। सात वर्षपछि फेरि कान्छीलाई डीएसपी कार्यालयमा नै भेट्दा मलाई आश्चर्य लाग्नु कुनै अस्वाभाविक थिएन।

यसबीच कान्छी कथा र व्यथाहरूले भरिपूर्ण भइसकेकी थिई।

काठमाडौँको बौद्धमा ‘ब्लु हेवन’ नामक एउटा नामी रेस्टुराँ छ। तोङ्वा र चिकेनचिलीका निम्ति यो रेस्टुराँ निकै प्रसिद्ध छ।

आङदोर्जे शेर्पाको रेस्टुराँ हो यो।

कान्छी यहीँ काम गर्थी।

कलकलाउँदी गोरी, आकर्षक जीउडाल भएकी कान्छी जापनिज परीजस्ती देखिन्थी। उसका आँखामा जादु थियो। समुद्रलाई भेट्न सबै नदीहरू दौडिएझैँ कान्छीको सामीप्य पाउन सबै ग्राहकहरू कान्छीतिरै दगुर्थे। पछि यही रेस्टुराँको मालिकको छोरासँग कान्छीको बिहे भयो।

कान्छी जिन्दगीको गम्भीर मोडमा पुगेकी थिई।

कान्छी दाम्पत्य जीवनमा बाँधिएकी थिई।

साँझको घटना हो– एक दिन !

–कान्छी !
–हुँ…।
–मलाई तिम्रो बेहद माया लाग्छ हो !
–व्यर्थैको लोकाचार किन ? खै यो छातीभित्रको ढुकढुकीले कान्छी…कान्छी भन्दैन त…।

उसले लोग्नेको छातीमा कान तेर्स्याएकी थिई।

–मेरो आँखाले त भन्छ नि त।

कान्छीले लोग्नेको आँखालाई एकटक लाएर हेरिरही। उसको लोग्नेले कान्छीलाई कस्सेर अंकमाल गर्‍यो। कान्छीको जीउ त दुख्यो। तर त्यो दुःखाइभन्दा ज्यादा उसले अर्कै आनन्दको अनुभव गरिरहेकी थिई।

कान्छीले आँखा चिम्म गरेकी थिई।

ऊ अर्कै दुनियाँमा थिई।

अर्को दिन थुपदेन र कान्छी पटना पुगे। थुपदेन कान्छीको खसमको नाम थियो। होटल ‘जलसरोवर’ को १७ नम्बर कोठामा उनीहरू बसेका थिए।

–सुन्नुहोस् त…
–के भन न ?
–मलाई एक्लै बस्न साह्रै डर लाग्छ हो।

एक दिन कान्छीले थुपदेनलाई भनेकी थिई। थुपदेन कान्छीलाई होटेलमा एक्लै छाडिराखेर दिनभरि बेपत्ता हुन्थ्यो।

व्यापार ! पैसा ! कान्छी !

एक दिन ढोका कसैले ‘नक्’ गर्‍याे।

कोठाको दीर्घ शून्यताभित्र कान्छी लोलाइरहेकी थिई। भय र आशंकाहरूको घुम्टो ओढेर उसले एकचोटि ढोकापट्टि हेरी।

–कान्छी !

अप्पुइ, यो त कुनै महिलाको आवाज थियो।

कान्छी झस्की।

उसले ढोका खोली। आफ्नो सामुन्ने एउटी अपरिचित ‘स्मार्ट’ महिलालाई देखेर ऊ अकमक्क परी।

–हाउ लब्ली…हाउ लब्ली…कति प्यारी रहिछौ तिमी त !

कान्छीले सारीको सप्कोको एक कुनालाई टोकिरही।

ऊ लजाएकी थिई। उसलाई खुसी पनि लागेको थियो। तर मनभित्र कता संकोच बढ्दै थियो र कतैबाट डर पनि त्यहीँ लुक्न आइपुगेको थियो।

त्यो स्मार्ट महिला साहुनी थिई।

उसले कान्छीलाई थुपदेनबाट आठ हजारमा किनेकी थिई।

कान्छीले मलाई सुनाउँदै थिई उसको दुःखद घटना। उसको सुन्दर जीवनको असुन्दर कथा। उसले मलाई भनी,
–मबाट पेसा गराइयो। यसरी छ महिना बित्यो। सायद इन्डियामा इमर्जेन्सी (इमरजेन्सी) लागेको थियो। मानिसहरू आउनै छाडे। त्यसपछि साहुनीले हामीलाई अर्कै ठाउँ लिएर गई। त्यहाँ पनि मानिसहरू उतिभाँती आउँदैनथे।

–मानिसहरू भन्नाले ग्राहक हैन त ?
मैले बीचैमा प्वाक्क सोधेँ।

–हो।
ऊ अलिकति लजाएकी थिई। उसले फेरि भन्न सुरु गरी,
एक दिन गल्लीमा उनीहरूसँग भेट भयो (उसले साथीहरूलाई देखाई) के मन आएर हो अचानक हामीले त्यहाँबाट भाग्ने सल्लाह ग¥यौँ र तुरुन्तै भाग्यौँ। तर सीआरपीले भेटेर हामीलाई केरकार गर्‍यो र लग्यो। कर्फ्यु हो कि के लागेको रहेछ। हामी जेलमा थुनियौँ। कोठीभन्दा त जेल नै राम्रो हो भनेर आनन्दले बस्यौँ। इलाहावाद न्यायालयमा हाम्रो मुद्दा चल्यो। पछि हामीलाई रिहा गरेर अदालतकै सिपाहीले नेपाल पठाइदियो।

–केटी पुलिस पनि थिई।
अर्कीले भनी।

भारतीय प्रहरीले नेपाल–भारत सीमा अवस्थित वीरगञ्जमा ल्याएर ती नेपाली ठिटीहरूलाई नेपाल प्रहरीको मातहतमा छाडेर गएछन्।

उनीहरूले नयाँ जीवन आरम्भ गर्ने मौका पाएका थिए। मैले सोधेँ,
–तपाईँहरू अब घरमै जानुहुन्छ त ?
–अँ।
एउटीले भनी। अर्कीले ‘हो’ भनी। अरू बोलेनन्। कान्छीले भनी,
–घर नगएर कहाँ जाने त ?
–घरमा जानु अप्ठेरो लागेको छैन ?
फेरि सोधेँ।

–लागेको छैन।
एउटीले भनी। त्यही अघिकैले। नबोल्नेहरू फेरि पनि बोलेनन्। कान्छीले भनी,
–अप्ठेरो लागेर मात्तै के गर्ने !

बालाजुमा बस्ने सलिम भन्नेले कान्छीबाहेक अरूलाई सिलाइ–बुनाइ तालिम पनि गराइदिन्छु, जागिर पनि दिलाइदिन्छु भनेर कानपुरमा लगेर बेचेको रहेछ। सलिमले आफ्नी नेपाली स्वास्नीलाई पनि इलाहावादमा बेचिसकेको रहेछ।

उनीहरूले मलाई सुनाए।

अन्तमा मैले उनीहरूलाई आफ्नो भिजिटिङ कार्ड देखाएर कान्छीको हातमा त्यो कार्ड दिँदै भनेँ,
–तपाईँहरूमध्ये कसैलाई घरमा केही सारोगारो वा अप्ठेरो प¥यो भने यहाँ आउनुहोला। हाम्रो एउटा संस्था छ, त्यसबाट मद्दत पुर्‍याउँला, है त ?

अरूहरूले मलाई हेरिरहे। कान्छीले मात्र ‘हुन्छ’ भनी र स्वीकृति सूचक टाउको पनि हल्लाई।

समय आफ्नै गतिमा बग्दै गयो।

सम्झनाहरूमा अरू नयाँ कुरा भरिएका थिए सायद। बौद्धमा साथीको बिहे थियो। एउटा पसलमा उभिएर सुपारी किन्न लागेको बेला ठीक आफ्नै अगाडि एउटी महिलाले ‘नमस्ते’ भनेर कराई। कताकता परिचित स्वरजस्तो र हातको उठाइ पनि देखेदेखेजस्तो– यो आवाज कसको थियो ?

तर कोही आएनन्। कान्छी पनि आइन। समयको गतिसँगै म पनि बग्दै गएँ। आफ्नो यस बगाइमा मैले उनीहरू सबैलाई बिर्सिएँ।

सम्झनाहरूमा अरू नयाँ कुरा भरिएका थिए सायद। बौद्धमा साथीको बिहे थियो। एउटा पसलमा उभिएर सुपारी किन्न लागेको बेला ठीक आफ्नै अगाडि एउटी महिलाले ‘नमस्ते’ भनेर कराई। कताकता परिचित स्वरजस्तो र हातको उठाइ पनि देखेदेखेजस्तो– यो आवाज कसको थियो ?

–चिन्नुभएन…?

ऊ हाँसी।

उसका हाँस्दा गालामा परेका खोपिल्टाले उसलाई खूबै सुहाएको थियो। ए…यो त कान्छी पो हो, कान्छी…।

–कान्छी होइनौ ?
सोधेँ मैले।

–हो त नि। कस्तरी चिनिहाल्नुभो !
–कहाँ छ्यौ अहिले हँ ? के गर्दैछ्यौ…?

मानौँ उसको बारेमा जान्नुपर्ने धेरै छ जस्तो सोधेछु।

–उः त्यहाँ पसल खोलेर बस्या छ। चियासिया, दालभात, रोटी–तरकारीहरू छन्। जाँड र रक्सी पनि छ। जाऊ न।

–होइन…होइन, म पछि आउँला फेरि। अहिले हतारमा छु। हुन्न ?

–कैले जानुहुन्थ्यो र हामीजस्ताको पसलमा ! लोग्ने मानिस त आदर्श मात्रै छाँट्छन्। कुरा मात्रै ठूलठूला गर्छन्…मन भने साँगुरै। तपाईँलाई त्यस्तो ठानेकी थिइनँ। जानुहुन्न त ?

–तिम्रो चित्त दुख्दो रहेछ, लौ हिँड न त। तर म जाँडरक्सी खान्न नि…।

–तातो चिया त खानुहुन्छ होला नि ! भोटेचिया खुवाउँछु। कहिल्यै बिर्सनुहुने छैन।

राम्रो थियो कान्छीको पसल। सफा। सबै कुरो मिलाएर राखेको। उसले दोस्रो बिहे गरिछ– पाल्साङसँग। पाल्साङ यताउता विदेशी सामानहरूको सानोतिनो व्यापार पनि गर्दो रहेछ।

कान्छीले भनी,
–चाबहिलमा एउटा घडेरी लिएका छौँ। आउँदो साल घर बनाउने…।

–राम्रो। धेरै खुसी लाग्यो, तिमीलाई यस अवस्थामा देख्न पाउँदा साँच्चै खुसी लाग्यो, कान्छी !

–आआफ्नो भाग्य हो…।
भनी उसले अलिकति मुस्कुराई।

साथीको बिहेमा तीन दिन बसेँ। कान्छीसँग भेट भइरह्यो।

त्यसपछि म वीरगञ्ज फर्किएँ।

बौद्धमा कान्छीको पसलमा खाएर आएको भोटेचियाको स्वाद जिब्रोले बिर्सन नपाउँदै वीरगञ्जमा फेरि कान्छीसँग भेट भयो।

कान्छी रोइरहेकी थिई।

आफूभित्रका सहिनसक्ना व्यथाहरूलाई ऊ आँसुले धोइरहेकी थिई।

त्यही वीरगञ्ज। त्यही डीएसपी कार्यालय। त्यही केरकार र त्यही म पत्रकार।

हो, मलाई देख्नेबित्तिकै ऊ रोई। ऊ झन् धुरुधुरु रोई। उसलाई कसैले सम्झाएन। कसैले केही भनेन। ऊ घोप्टिएर रोइरही। मात्र रोइरही।

यस पटक ऊ एक्लै थिई।

–फेरि के भयो यस्तो कान्छी ?
सोधेँ मैले। उसको घाउलाई कोट्याउने साहस त थिएन। तर पनि उसको आँसुले मेरो कलेजो भिजायो। उसको हिक्काले मेरो मुटुलाई हिर्कायो।

अहिले म उसको अलिक नजिक गएँ र फेरि सोधेँ,
–तिम्रो के यस्तो दशा भयो कान्छी ? कसरी तिमी फेरि यहाँ आइपुग्यौ ?

अहिले पो देखेँ मैले। उसको चोली ठाउँठाउँमा फाटेको रहेछ। उसको गाला कोतरिएको रहेछ। उसका भरिला ओठहरू सुक्खा परेका रहेछन्।
ऊ हिकहिकाइरहेकी थिई। भनी उसले,
–लोग्ने मानिसहरू सबै स्वार्थी हुन्छन्, सबै पापी हुन्छन्।

उसले एउटा सिद्धान्त बनाइछ, आफ्नै दुःखद अनुभवहरूको आधारमा सायद। उसले भन्दै गई,
–पाल्साङले पनि मलाई धोका दियो। राँचीमा एउटा साहूकहाँ विदेशी सामान पुर्‍याउने निहुँमा पापीले मलाई बेचिराखेर आएछ। कुनै मुस्किलले भागेर आएकी…।

यस पटक उसले आँखाबाट जबरजस्ती बगेर आएका आँसु हातको औँलाले हिफाजतसँग पुछी।

मैले कान्छीलाई सम्झाएँ। तर आज अचानक मलाई आफ्नो भाषिक कमजोरीको पत्तो लाग्यो, किनभने मैले उसलाई सम्झाउने उचित शब्द र शैली पाइरहेको थिइनँ।

मैले यति मात्र महसुस गरेँ–
यसरी कान्छीको जिन्दगी एउटा अनिश्चित भविष्यलाई लिएर एउटा अज्ञात क्षितिजतिर बग्दै गइरहेको थियो।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved