नियात्रा

मधेसका खेत–खलिहान चहार्दै, चरा नियाल्दै

दुवै जनाको एकएक चिज छुटेछ। पछि लालबन्दी गएको दुई दिनपछि थाहा भयो। हेमुले त छुटेको सामान ल्याए तर मैले छुटेछ भन्न पनि लाज लाग्न कुरो भयो। समयमै भनिएन, भनेको भए पनि पाउने आश थिएन। कि समयमै भन्नुपथ्र्यो।

मधेसका खेत–खलिहान चहार्दै, चरा नियाल्दै

चरा प्रेमीहरू एकै ठाउँ र एउटै ऋतु मात्र होइन, सबै ऋतुमा देशका हिमाल, पहाड र तराईलगायतका क्षेत्रहरूका चराहरूको आनीबानी, खानपान, बसोबास, सामाजिक र पर्यावरणीय क्षेत्रमा उनीहरूको महत्व र प्रभावका पक्षहरूको अवलोकन र अनुसन्धानका साथै संरक्षण गर्न लालायित हुन्छन्। यस्तै चाहना राख्नेहरूमा म पनि पर्छु।

त्रिभुवन विश्वविद्यालयबाट प्राणीशास्त्रमा स्नातकोत्तर गरी चिनियाँ विज्ञान प्रतिष्ठानबाट चराकै विषयमा पोष्ट डक्टरेट गर्दै गरेका डा. हेमबहादुर कटुवालले तराईका चार ओटा जिल्ला सुनसरी, सर्लाही, चितवन र कपिलवस्तुको कृषिक्षेत्र (Farmlands ) हरूमा चराहरूको अवस्था र प्रभावबारे अनुसन्धान गरिरहेका छन्। यी जिल्लाका एक सय ओटा ट्रान्जेक्ट (चरा अनुसन्धानका लागि छानिएका क्षेत्रहरू छन्) मध्ये सर्लाहीका क्षेत्रहरूमा सन् २०१८ देखि अनुसन्धान र निरीक्षणमा आफैँ सक्रिय छन् भने अरू क्षेत्रमा पनि एकैचोटी सँगै गर्नुपर्ने भएकोले सहयोगीहरूको साथ लिने गरेका छन्। यस्तो खालको अनुसन्धान नेपालकै लागि पहिलो हो।

उपत्यकालगायत अन्य क्षेत्रका हरियापाटा (green patches) ,वन र शहरका चराहरूको अवलोकन र सर्भेहरूमा विभिन्न समयमा सहभागी भए पनि उष्ण क्षेत्रका कमै ठाउँहरूमा मात्र अवलोकन गर्न पाएको थिएँ। मलाई डा. कटुवालको अनुसन्धान क्षेत्रमा पनि सहभागी हुने इच्छा जागेर आयो।

सोधी हेरेँ, ‘हेमु, तराईमा भइराखेको अनुसन्धान सर्भेका बखत मैले सहभागी हुन मिल्छ कि मिल्दैन ?’

हेमुले ‘मिल्छ’ भन्दै मेरो चाहनालाई स्वीकार गरे। उनको अनुसन्धानको सानो हिस्सामा सहभागी हुन पाउनु पनि मेरो लागि एक महत्वपूर्ण अवसर भएको महसुस गरेँ। त्यसपछि म हेमुसँग सर्लाही जाने निधोमा पुगेँँ। हेमु रुटको गाडीमा जाने भए भने म चाहिँ आफ्नै बाईकको लामो सफरमा।

वैशाख १८ को बिहानै म घरबाट बाईक लिएर तोकिएको ठाउँमा भेट्न कोटेश्वरतिर लागेँ। भेट हुन सकेन तर हेमु र मबीच फोनमार्फत सल्लाह भएअनुरुप म बीपी राजमार्ग (धुलिखेल–बर्दिबास) हुँदै सर्लाहीतिर लागेँ। पूर्वी तराई जाने बीपी राजमार्ग सुन्दर राजमार्गहरूमध्ये एक हो। यो मार्ग रोशी र सुनकोसीका सुन्दर किनार, काभ्रे र सिन्धुलीका फाँटहरू, हरिया पाखा र उकाला–ओराला घुम्तीहरू छिचोल्दै बर्दिबास पुगेर तराईको समथर फाँटमा मिसिन्छ। सुन्दर दृश्यहरूसँगै म पनि राजमार्गले जता डो¥यायो त्यतै डोरिएर बर्दिबास पुगेँ।

फोन गरेर हेमुलाई सोध्दा उनले बीस मिनेटभित्र बर्दिबास पुग्ने कुरा बताए। केही समय पर्खिने कुरो भयो। तर तराइको उखर्माउलो गर्मीले मलाई आधा घण्टा बिताउन पनि मुस्किल पर्ला जस्तो लाग्यो। गर्मी छल्न समीको छहारीमुनि बसेको भए पनि प्रचण्ड तातो हावाले उकुसमुकुस बनाइरह्यो मलाई। सोचेँ पसलतिर गएर आवश्यक सामान किनमेल गरुँ। एउटा जुत्ता पसलमा मेरो आँखा पर्यो। सर्लाहीको बसाइभरि फेर्नका लागि चप्पल थिएन।

राजमार्गलगायत बर्दिबासका गल्ली र सडकहरूमा राजनीतिक पार्टीका कार्यकर्ताहरू चुनाव प्रचारका लाागि ब्यानर र झण्डाहरू बोकेर होहल्ला गर्दै हिँडिरहेका थिए। त्यो दृश्य देख्दा कताकता नेताहरूलाई चाड आइरहेको जस्तो लाग्दथ्यो। मेरो नजर जुलुसबाट हटेर एउटा जुत्ता पसलमा पर्यो। सर्लाहीको गर्मीको बसाइका लागि चप्पल लान बिर्सेको थिएँ। हाइकिङ्ग बुटले मेरो खुट्टा उकुसमुकुस बनाइरहेको थियो। चप्पल किन्ने विचार आयो र म त्यतै लागेँ। पसलका मान्छेहरू को आयो के किन्न खोज्दै छन् भन्ने कुरामा बेखबर थिए। तर पनि मलाई मिल्ने नभेटेपछि बगलकै अर्को पसलमा गएर एकजोर चप्पल लिएर समीकै छहारीमा फर्किएँ।

हेमुलाई फोन गरेँ, उनी बर्दिबास आइपुगेका रहेछन्। हामीबीच हरिवनमै भेट्ने कुरो भयो। त्यहाँबाट अरू चालीस किलोमिटर दूरीको बाटो, वनजड्डल र फाँटहरू छिचोल्दै पश्चिम लागेको महेन्द्र राजमार्ग पछ्याउन थालेँ। बिचबिचमा फोनमा कुराकानी हुँदै थियो। मलाई लाग्दथ्यो, म हेमभन्दा अगाडि छु तर कुन बेला उनी अगाडि लागेछन्, पत्तै भएन। सायद कतै म थकाई मेट्न रोकिएको बेला बस अघि लाग्यो होला। हरिवन बजारबाट थोरै अगाडि पुग्दा सडक छेउमा हेमुले मलाई पर्खि रहेका थिए।

राजमार्गको उत्तरी किनाराबाट हेमुले मुस्कुराउँदै हात हल्लाएर मलाई बोलाए, म त्यतै लागेँ।

‘दाइ, हामी बस्ने ठाउँ यही हो। होटल सम्राटमा।’ हेमुले होटलतिरै लिएर गए। र, भने, ‘एकछिन कोठामा थकाइ मार्ने कि दाइ ?’

‘हुन्छ।’ मैले सहमति जनाएँ।

रिसेप्सनबाट हेमले दुई बोतल पानी लिए र त्यसपछि हामी कोठातिर लाग्यौं।

भोलिपल्टदेखि अनुसन्धानका लागि फिल्डमा खटिनु थियो तर पनि मलाई कोठामा बसिरहन मन लागेन। मैले भनेँ, ‘के कोठामा बसिरहनु ? निस्किऔं कतै चरा हेर्न। हाम्रो अरू के काम, चरै हेर्न आए पछि चरा नहेरेर के गर्नु ?’

‘जान त जाने एकछिनपछि।’ हेमु बोले ।

केही छिन कोठामा थकाइ मार्दा घाम पनि अलि मन्द भयो। हामी यस्सो सुस्ताउन खेततिर लाग्यौं। तर त्यो दिन खासै चराहरू त्यति देखिएनन् चिबे, भँगेरा, रुपी र ढुकुरबाहेक।

वैशाख १९ का दिन हरिवनकै ट्रान्जेक्टमा सर्भे सुरु गरिने भयो। ५ सय मिटर लम्बाई र ५०”१५० मिटर चौडा्रइको क्षेत्रभित्र अवस्थित चराहरूमात्र तथ्यांकमा सामेल गरियो। यसरी नै पहिलो दिनमा अरू ३ वटा ट्रान्जेक्टहरू पनि त्यही अनुपातमा उही खालको मकै र उखु खेती भएका खेतबारीहरूमा सर्भे भयो। तेस्रो प्लटको सर्भे चाहिँ केही रमाइलो खालको रह्यो। गाजले सुनचराले त झन् रोमाञ्चित बनाएको थियो।

एउटा पहेँलो चरा केराको गाँजमा बस्यो। फाइटर प्लेनजस्तै टानडेम स्टाइलले अर्को गाजले पनि आयो। ती दुवैका बीच टानडेम नाच सुरु भयो। केही समय त्यो चर्तिकला चलिरह्यो। ती प्रकृतिका निधिहरूको मैले र हेमले दुईतिरबाट हेराहेर गर्‍यौँ।

त्यो क्षेत्रको सर्भे सकेर वागमती खोला नजिकको जोतखन गरेको त्यस दिनको अन्तिम ट्रान्जेक्टतिर लाग्यौं। एकछिन हामीलाई उक्त ट्रान्जेक्ट भेट्टाउन मुस्किल भयो तर एक छिन पछि नै पत्ता लाग्यो। त्यस ट्रान्जेक्टमा पनि उही प्रविधि पाँच सय मिटर लम्बाई पचासदेखि डेढ सय मिटर दायाँ–बायाँ।

कोचल्गाँडा, लाटोकोसेरो, साबरी, भारद्धाज, आलीचुइयाँ लगायत केही चराहरू देखा परेका थिए। त्यो दिन लञ्चपछि पनि वागमतीको किनारतिर पनि चरा अवलोकन गरियो। मनमनै वागमतीमा काठमाडौँको जस्तै दुर्गन्ध होला भन्ने सोच्दै थिएँ तर मेरो सोचाइ भन्दा फरक थियो वागमतीको वातावरण। प्रकृतिको क्षमता पनि अद्भूतको छ, वातावरणीय सन्तुलन कायम गर्ने आफ्नै प्रविधि। फलस्वरुप वागमतीको पानी कञ्चन थियो। किनारा वरिपरिको पन्छीसँगको सयर रोमाञ्चित, उच्च आद्र्रतासहितको प्रचण्ड गर्मी पनि मन्द र शितल अनि सामान्य बनिदियो।

दोस्रो दिनको सर्भेको सुरुमै बर्सिएको पानीले केहीबेर गरुड र घुगीफोर, लघु महाचिल आदि थुप्रै चराहरूले उत्तिकै रमाइलो बनायो। एकजना त्यस्तै चौध–पन्ध्र वर्षे लोर्के ठिटो भेटियो, ऊसँगको अन्तरंग कुराकानीले त हामीलाई प्रदेश झरेको न्यास्रो मेटाइदियो। उसको शालिनता र नम्र वाणीले त्यस्सै लठ्याइदियो। उसको विनयताले सोचको दूरी साघुर्‍‍याइदियो। विनयताले हृदयमा मलम लगाउँछ भनेको साँच्ची नै हो रहेछ।

एवं रीतले सर्भेको तेस्रो दिन पनि त्यत्तिकै रमाइलो भयो– बरथहवा क्षेत्र वरिपरि। म चितवनमा छँदा यो क्षेत्रबारे सुनेको थिएँ। त्यहाँ हुने विशेष गरी चौपाया गाईवस्तुहरूको किनबेचबारे। विशेष व्यापारीहरूले भारतबाट भैंसी र नेपालबाट गाईको ओसारपसार गर्ने सुनेको थिएँ।

म ऊ बेलैदेखि त्यो ठाउँ देख्न चाहन्थेँ। ‘हेमु, तपाईँको यो सर्भेको कामले यो ठाउँ देख्ने धोको पूरा भयो। धन्यबाद हेमु।’ उनी फिस्स हाँसे। भोक निकै लागेको थियो। चियानास्ता खाने चित्तबुझ्दाे कुनै ठाउँ नै थिएन। सबैजसो खाना खाने भोजनघर र रेष्टुराँहरू सडक छेउमा भएकाले धुवाँधुलो अनि स्थानीयहरूको सरसफाईप्रतिकोे बेपर्वाह अभ्यास र त्यसले हामीलाई भने गिज्याइरह्यो। तिनीहरूमध्ये अलि सफा देखिने मिठाइ पसलमा पसेर चिया पिई भोकको झोंकलाई अलिक कम गरियो। सर्भेपश्चात् हामी त्यो दिन हरिवनबाट लालबन्दी सर्नु थियो। त्यस दिनको अन्तिम ट्रान्जेक्टको पनि सर्भे हतारहतार सकेर होटेलतिर लाग्यौं।

होटल पुगेर खाना खाइवरी सामानको पोकोपन्तुरो पार्दै गर्दा अघिल्ला दिनहरूका झलक मानसपटलमा घुमिरहे। विशेष गरी भरतताल र जानकीनगरको वनको। भरत ताल एक मानव निर्मित ताल। त्यो पनि नगरपालिकाको आफ्नै बजेटमा कुनै एक व्यक्तिको नाममा भए पनि निकै राम्रो र सफल आयोजना। सर्लाही मात्र नभएर तराईकै आन्तरिक पर्यटनको प्रमुख आकर्षणको केन्द्र बन्दै गरेको। जानकीनगर वन, जहाँ स्थानीयहरूले वानस्पतिक जडीबुटीलगायतका आवश्यक वस्तुहरू सामुदायिक प्रयोजनका लागि आफैँ उत्पादन गरी जीवन स्वावलम्बी बनाउनेतर्फ उन्मुख। यो त भयो एक सकारात्मक परिदृश्य तर अर्को भने वन्यजन्तुको गैरकानुनी चोरी शिकारी, निकासी र सम्बन्धित निकाय मुकदर्शक। कसले चोरी शिकारी गर्छ भन्ने थाहा हुँदा समेत केही लालचका कारण उसलाई कारवाही हुँदैनथ्यो। हामीले प्रत्यक्ष अनुभव गर्न सक्यौं। अझ भन्नुपर्दा आफ्नै हेलमेट बाईकमा राखेको ठाउँबाट लगिएको थियो। मलाई त त्यहाँ वनमा घाँस–दाउरा र गोठालो हरालो गर्ने बासिन्दाप्रति नै सशंकित तुल्यायो। अघिल्लो दिन हामी बसेको होटल अगाडि एउटा वर्कसपमा कामचलाउ थोत्रो हेलमेट किन्नुपरेको थियो। हेमुले भनेका थिए, ‘दाइ, यहाँ त तपाईँकै हेलमेट ल्याएर बेच्न पनि सक्छन्। आप्mनै आफैँले किन्नु पर्ला।’ तर भाग्यले त्यसो गर्नु परेन। यस्तै–यस्तै कुरा दिमागमा खेलिरहेका बेला हेमुले ‘ल ल दाइ पोकोपन्तुरो तल लिएर जाउँ, फेरि केही छुट्ला’ भन्दै थिए।

दुवै जनाको एकएक चिज छुटेछ। पछि लालबन्दी गएको दुई दिनपछि थाहा भयो। हेमुले त छुटेको सामान ल्याए तर मैले छुटेछ भन्न पनि लाज लाग्न कुरो भयो। समयमै भनिएन, भनेको भए पनि पाउने आश थिएन। कि समयमै भन्नुपथ्र्यो। समयले आफूलाई पछि पार्यो। यात्रा वा कामको चापमा यस्ता सानोतिना भुल भई नै रहन्छन्।

दुवै जना एउटा बाईकमा पोकापन्तुरा बोकेर लालबन्दीतिर लाग्यौं। वन कार्यालय बाटोमै पर्ने भएकोले त्यहाँ पसेर लालबन्दी जाने भइयो। वन कार्यालयमा विगतको सर्भेका बेला हेम लगायतले खिचिएका विभिन्न चराका तस्बिरहरू लहरै सजाएर राखिएका थिए। निकै आकर्षक लाग्दै थिए तिनीहरू। त्यही हेर्न त्यसको व्यवस्थापन गर्न पहल गर्ने सुवास सिंहलाई भेट्न हामी त्यहाँ पसेका थियौं।

सर्भेको बाँकी अवधिभर हाम्रो बास लालबन्दी बजारस्थित महेन्द्र राजमार्गसँगैको थकाली गेष्टहाउसमा हुने भयो। भोलिपल्टदेखि बाँकी रहेका १२ वटा ट्रान्जेक्टको सर्भे थालियो। हरिपुर, लखनदेही खोला, मलड्डवा क्षेत्र विशेष रहे। ती ठाउँहरूमा पनि लगभग पश्चिम सर्लाहीकै अनुपातमा चराका प्रजातिहरू भेटिएका थिए।

मलड्डवा क्षेत्र सर्भे बढी रुचिकर रह्यो। गाउँले जीवनशैलीका साथै महिला र बालबालिकाको परिवारमा हुने विशेष भूमिकाको परिदृश्य नै रुचिको विषय बन्यो। सर्भेकै क्रममा हामीलाई सोनवर्सा सीमा क्षेत्र जाने इच्छा जागेर आयो र जाने निधो पनि भयो। सर्भेको त्यो दिनको काम सकेर हामी मलड्डवा बजार हुदै सोनवर्सा सीमातिर लाग्यौं। हामी सरासर भन्सारतिर गयौं। त्यहाँबाट पनि हामी सोनवर्सा गाउँतिर बढ्यौं। तर बाटो गलत हो कि भन्ने लाग्यो। आएको बाटोतिरै फर्कियौं। चोकमा पुगेपछि सीतामढी जाने विचार नभएको पनि होइन तर हामीलाई समयको पाबन्दी थियो। नेपालतिरै फर्कियौं। दशगजामा केही संख्यामा गरुड, घुँगीफोर लगायतका चराहरू देखिए। तिनीहरू कहिले नेपालतिर त कहिले इन्डियातिर उड्थे। ‘दाइ, नेपालकै चराको फोटो खिच्दै हुनुहुन्छ कि इन्डियाको ? नयाँ चरा परेछ भने इन्डियामा खिचेर नेपालमा खिचेको भन्यो भन्दै विरोध गर्लान साथीहरूले।’ हेमुले ठट्टा गर्दै भने।

मैले पनि हाँस्दै भनेँ, ‘हामी इन्डियामा खिचेर नेपालको हो भन्ने खालको त हैन नि, त्यही पनि मैले सीमा वारी नेपालमै खिचेको छु । फेरि चरा उड्ने जात हो, त्यसलाई यताउता गर्न भिसा चाहिँदैन। कसैले रोक्न र छेक्न सक्दैन र त्यसमा कसैको स्वामित्व पनि हुँदैन। के नेपालको के इन्डियाको ? सीमा छेउ उड्ने चरा दुवै देशका र देशै छोडेर अन्यत्रै देश उडेर गएर त्यहाँ बसुन्जेल त्यही देशका।’
सोनवर्सा नगई मनमा शान्ति नै भएन। हामी फेरि बाईकमा नाकातिर लाग्यौं। चेक जाँच हुँदै थियो त्यसलाई वास्तै नगरी इन्डिया छिर्यौं। लोकल बसको स्टाफसँग सोनवर्सा बजार जाने बाटो सोध्दा पहिल्यै गएको बाटो देखाए। हामी अघि गएकै बाटोतिर लाग्यौं। सररर बाईकमा एकछिन घुमेर सोनवर्सा बजारको अवलोकन गरियो। हामी भारतबाट सीमा काटेर नेपालतिरै लाग्यौं। हेमुका कलेजका पुराना साथी शिवमड्डल चौधरीको घरमा एक छिन पसेर तिर्खा मेटियो। त्यसले सर्लाहीका बासिन्दासँग केही सामिप्यता महसुस गर्ने मौका मिल्योे। त्यहाँबाट हामी बेजोड गतिमा लालबन्दीतिर लाग्यौं।

यात्रामा सागरनाथ वन र त्यहाँ अवस्थित सागरनाथ वन तथा अनुसन्धान केन्द्रका कार्यालय–प्रमुख विशाल घिमिरे र शैलेन्द्र यादवको फरेष्ट्रीका ईन्टर्न समूहसँगको सामुहिक चरा अवलोकन पनि सम्झन लायक भयो। उहाँहरूको वन वातावरण र चराप्रतिको लगाव भएकाहरूलाई गर्ने व्यवहार, सहयोग र सम्मान प्रशंसनीय थियो। अरू बाँकी ट्रान्जेक्टहरूको सर्भे पनि सकिए। अन्तिम दिनको सर्भेमा हेमुका पुराना सहयोगी प्रशान्त रोका पनि सम्मिलित भएका थिए।

सर्लाहीका धानखेत, उखुबारी, गेडागुडी तथा मकैबारी, बाँझो खेत र खनजोत गरिएका २४ वटा ठाउँहरू अनुसन्धानका लागि छनोट गरिएका ठाउहरूको तथ्यांक संकलनका क्रममा गरुड, घुँगीफोर, साँबरी, चिबे, सुनचरी, बिरही चरा, काष्टकुट, हुटिट्याउँ, चाहा, सुगा, घाँसे फिष्टो, काग, बकुल्ला, परेवा, तोपचरा, कोकले, भँगेरा, लाटोकोसेरो, भारद्धाज, कोटेरो, टिकटिके, सुडसुडिया, टिमटिमा र जलरड्ड लगायतका ५३ प्रजातिहरू अभिलेख गरिएका थिए।

यसपटकको अनुसन्धान र डाटा स‚लनका अतिरिक्त, वन र जलपन्छीहरूको पनि त्यहाँका वनजंगल र खोलाहरूमा अवलोकन गरियो। विशेषतः हरिवन, मलड्डवा, लालबन्दी, बरथहवा र ईश्वरपुर सागरनाथ र वागमती क्षेत्रहरूका पनि अवलोकन गर्दा औसत ८५ प्रजातिहरू अभिलेख गरिए।

सर्लाहीको खेत–खलिहानमा चरा खोज्दै लेखक (क्यापवाला) र डा. हेमबहादुर कटुवाल ।

‘सर्लाहीकै चेकलिस्ट बनाउँदा राम्रो हुन्थ्यो नि। थोरै समयको कुरा न हो ,’ मैले यसो भन्दा हेमुले सर्लाहीमा करिब दुई सय प्रजातिका चराहरूको लगत तथा तथ्या‚ संकलन भइसकेको सुनाए।

यात्राको दौरानमा त्यहाँको सामाजिक, साँस्कृतिक तथा जीवनशैलीका बारे मेरा थुप्रै अनुभवहरू रहे। निश्चित ठाउँको मानिसहरूको जीवनशैली, सामाजिक रीतिरिवाज, आर्थिक अवस्था, शिक्षा र संरक्षण सम्बन्धी जागरणको पहुँचले पनि चराहरूको संख्या वा घनत्व, अवस्था र अस्तित्वमा प्रभाव निकै पार्दछ भन्ने तथ्य यस्ता अनुसन्धानहरूबाट पुष्टि गर्न सहयोग मिल्दछ ।

तराई क्षेत्रमा शिकारीहरू बगेडी लगायतका चराहरूको शिकार गरेर जीवन गुजारा चलाउने गर्दछन्। त्यसले गर्दा वार्षिक लाखौंको संख्यामा चराहरूको शिकार हुनेगरेको छ। केही शिकारीहरू भारतदेखि आएर पनि शिकार गर्नेगरेको हुनसक्छ। मानिसहरूको के सोचाइ रह्यो भने बगेडी लगायतका चराहरूको मासु खाँदा मनोरञ्जन प्राप्त हुने शारीरिक तन्दुरुस्ती हुनुका साथै पुरुषत्व तथा यौनिक शक्तिमा तिब्रता आउँछ भन्ने अन्धविश्वास रहेको पाइन्छ। जसले गर्दा त्यहाँका मासु पसल, होटल तथा रेष्टुराँहरूमा खुलेआम विज्ञापन गरी चराहरूको मासु बिक्री गर्ने गरिन्छ। फलस्वरुप त्यहाँका बगेडी लगायत अधिकांश साना–ठूला चराहरू शिकारको मारमा पर्दा उनीहरूको अस्तित्व संकटमा परेको प्रष्टै छ।

त्यहाँ छुट्टै शिकारीहरूको समूह नै भएको र उनीहरूले एउटा छेउदेखि अर्को छेउसम्म ठूलाठूला जालहरू प्रयोग गरी चराहरूलाई जालको सहयोगले एउटा छेउबाट धपाई अर्को छेउमा पु¥याई अर्को जालमा पारेर मार्ने गरेको, प्रायः साँझपख चराहरू उचाइमा नउड्ने हुँदा उखुबारीमा चराहरूको शिकार गर्न सजिलो हुनेगरेको कुरा बताए। सर्लाही लगायत तराईका अधिकांश जिल्लाका खाना खाने ठाउँहरूमा बगेडी बिजिनेश नै सञ्चालनमा आएको कुरा आफ्नै अनुसन्धानका क्रममा देखिएको हेमुले सुनाए।

चराको क्षेत्रलाई औंलामा गन्न सकिनेहरूले मात्र आप्mनो अनुसन्धानको विषय बनाएको पाइन्छ। तर अहिले आएर भने अनुसन्धान गर्नेहरूका लागि यो आर्कषक र रोजाइको विषय बनेको छ। अहिले त्यस क्षेत्रमा अनुसन्धान अगाडि बढाएबापत पन्छी संरक्षण संघ नेपाललगायत अन्य संघसंस्था तथा विश्वविद्यालयहरूबाट अनुदान कोषहरूसमेत उपलब्ध गराउने गरेका छन्।

अनुसन्धानसँगै पर्यावरणको महत्वबारे स्थानीय जनतालाई बुझाई संरक्षण कार्यमा लाग्न जागरुक बनाउनु पर्ने देखिन्छ। यो अनुभव त्यहाँको बसाइ र अवलोकनबाट प्राप्त भयो। यो एउटा त्यहाँको यात्राको सबल पक्ष रह्यो कि स्थानीय जनताले वन, वन्यजन्तु र पर्यावरणको महत्व बुझेर संरक्षणमा लाग्यो भने उनीहरूका सन्ततिहरूका लागि शिक्षा र प्रेरणादायी कार्य हुने छ।
००


Comment

One thought on “मधेसका खेत–खलिहान चहार्दै, चरा नियाल्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved