क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी र नेटवर्किङ व्यवसाय नेपालमा गैरकानुनी : राष्ट्र बैंक

नेपालभ्युज

क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी र नेटवर्किङ व्यवसाय नेपालमा गैरकानुनी : राष्ट्र बैंक
फाइल तस्वीर

काठमाडौं ।   नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी र नेटवर्किङ व्यवसाय नेपालमा गैरकानुनी भएको बताएको छ । राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले सोमबार एक सूचना जारी गर्दै  यस्तो व्यवसाय नेपालमा गैरकानुनी भएको पुनः स्मरण गराएको छ।

यसअघि राष्ट्र बैंकले २०७४ साउन २९ गते, २०७८ भदौ २८ गते र माघ २९ गते सूचना जारी गर्दै यस्ता कारोबार नगर्न आग्रह गरेको थियो।

क्रिप्टोकरेन्सीले नेपालमा विदेशी विनिमय मुद्रा वा मुद्राको रुपमा कानुनी मान्यता प्राप्त नगरेको राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

बैंकले नेटवर्किङ व्यवसाय तथा हाइपर फण्ड जस्ता कारोबारमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलाप लगानी, ठगी तथा कर छली, लगानीमा असुरक्षा, पुँजी पलायन, मूल्य अस्थिरता एवं उत्तारचढाव, सट्टेवाजी सम्वन्धी जोखिम अन्तरनिहित हुने भएकाले यस्ता क्रियाकलापमा संलग्न नहुन भनेको छ ।

नेपालभित्र मात्रै होइन, नेपाल बाहिर बसोबास गर्ने नेपाली नागरिक तथा नेपालमा दर्ता भई विदेशमा कारोबार गर्ने फर्म, कम्पनी वा संस्था र तिनका शाखा कार्यालयले नेटवर्किङ व्यवसाय तथा कारोबार र हाइपर फण्डमा संलग्न रहेको पाइएकाले त्यस्ता गतिविधिमा संलग्न नहुन राष्ट्र बैंकले आग्रह गरेको छ ।

बैंकले यस्ता कारोबारमा संलग्न हुने स्वदेशी तथा विदेशमा रहेका नेपाली नागरिक, फर्म, संस्था तथा तिनका शाखाहरुलाई विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ बमोजिम कारवाही हुने चेतावनी समेत दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved