पपुष्लिट नभई कार्यान्वयन हुनसक्ने बजेट ल्याउन सरकारलाई पूर्व अर्थमन्त्रीको सुझाव

नेपालभ्युज

पपुष्लिट नभई कार्यान्वयन हुनसक्ने बजेट ल्याउन सरकारलाई पूर्व अर्थमन्त्रीको सुझाव

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१ / ०८२ को बजेट कस्तो बनाउने भन्ने विषयमा पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेका छन् ।

अर्थमन्त्री पुनले पूर्वअर्थमन्त्रीहरू डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, डा. युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग आज सुझाव लिएका हुन् ।

बानेश्वरस्थित एक होटलमा पूर्व अर्थमन्त्रीहरूको सुझाव लिएका उनले सबैका उत्तम बिचारलाई बजेटमा समेट्ने बताएका छन् । छलफलका क्रममा पूर्वअर्थमन्त्रीहरूले महात्वाकांक्षी र पपुष्लिट नभई कार्यान्वयन हुन सक्ने खालको यथार्थपरक बजेट ल्याउन सुझाव दिएका छन् ।

उनीहरूले बजेटको आकार नबढाउन पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराए । यस्तै उनीहरूले राष्ट्रिय गौरबका आयोजना, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना र बहुवर्षीय ठेक्का स्वीकृत भएका चालु आयोजनाबाहेक बिना तयारीका योजनामा बजेट विनियोजन नगर्न भनेका छन् । बजेटको आकार ठूलो नबनाउन निवर्तमान अर्थमन्त्री महतको सुझाव थियो ।

पूर्वअर्थमन्त्री डा. खतिवडाले पनि अर्थमन्त्रीको यो कार्यकाल नै अन्तिम हो भन्ने ठानेर पपुलिष्ट बजेट नल्याउन सुझाव दिए ।

उनले बजेटको आकार अनावश्यक ठूलो बनाउने प्रवृत्तिले कार्यान्यवन नै नहुने समस्या रोगका रूपमा विकास भएको भन्दै बजेटको साख गिराउने काम गर्न नहुने उल्लेख गरे ।

अर्का पूर्वअर्थमन्त्री डा. लोहनीले देशको अर्थतन्त्र संकटउन्मुख रहेको भन्दै एक जना अर्थमन्त्रीले मात्र चाहेर सुधार गर्ने ठाउँ नहुने धारणा राखे ।

पूर्वमन्त्री शंकर कोइरालाले आर्थिक स्थायित्वका लागि कम्तिमा एउटा क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने सुझाव दिए ।

अर्का अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको काम गर्ने मनोबल घटेकाले पुँजीगत खर्च निराशाजनक रहेको उल्लेख गरे ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले कागजमा मात्र अर्थतन्त्रको आकार बढाउने तर यथार्थमा कार्यान्वयन नहुने बजेट नल्याउन सुझाव दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved