आत्मनिर्भर अर्थतन्त्रको बाटो साना तथा मझौला उद्योग हुन् : मन्त्री भण्डारी

नेपालभ्युज

आत्मनिर्भर अर्थतन्त्रको बाटो साना तथा मझौला उद्योग हुन् : मन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग भएको बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरूसँग महासंघको माइतीघरस्थित सचिवालयमा भएको छलफलमा उनले भने “निर्यातजन्य वस्तु साना मझौला उद्योगमै छ । यस्ता उद्योगको प्रवर्द्धन र विकासमा म हरतरहले लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

साना तथा मझौला उद्योगहरूको बजार मागमा आएको उच्च कमीका कारण समस्यामा परेका उद्योगी व्यवसायीहरूको समस्या समाधानका लागि उचित नीति बनाइ कार्यान्वयन गराउनको लागि तयार रहेको उनी बताउँछन् ।

मन्त्री भण्डारीले भने “अब हाम्रो सम्भावना, रोजगारीको क्षेत्र, हाम्रो समृद्धिको यात्रा साना घरेलु तथा लघु र मझौला घरेलु उद्योगहरू नै हो । त्यसमा पनि अझ हाम्रो स्रोत र साधनमा आधारित उद्योगहरूको निर्यातमा ठुलो योगदान रहन्छ ।”

देशमै औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गरी रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

मन्त्री भण्डारीले लघु, घरेलु तथा साना उद्योगीहरूका लागि कर्जामा सहुलियत र प्रविधि हस्तान्तरणका लागि प्रधानमन्त्री नेपाली उत्पादन तथा उपयोग अभिवृद्धि कार्यक्रम छिट्टै मन्त्रीपरिषद्मा जान लागेको बताए ।

नेपाली उद्योगहरूको समस्याकै रूपमा तयारी वस्तु र कच्चा पदार्थमा एउटै कर हुँदा समस्या भएकोतर्फ ध्यानाकर्षण गर्दै उनले तयारी वस्तुमा धेरै र कच्चा पदार्थमा थोरै कर लगाउने गरी प्रस्ताव गरेको जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved