स्थापनाको साढे ६ वर्षसम्म कामविहीन धनुषाको नापी कार्यालय

१५ जना कर्मचारी हाजिर गरेरै फर्कन्छन्

ढल्केवरमा नापी कार्यालय स्थापना गर्ने निर्णयअनुसार २०७३ माघमा स्थापना गरिए पनि अझै कामविहीन छ।
स्थापनाको पाँच वर्ष ६ महिना बितिसक्दा पनि कामकाज शुरु हुन सकेको छैन।

स्थापनाको साढे ६ वर्षसम्म कामविहीन धनुषाको नापी कार्यालय
धनुषाको नापी कार्यालय

जनकपुरधाम। धनुषाको ढल्केवर नापी कार्यालय स्थापना भएको ६ वर्ष भई सक्दा पनि कामविहीन छ। २०७२ असोज १४ मा मन्त्रिपरिषद्को बैठकले धनुषाको ढल्केवरमा नापी कार्यालय स्थापना गर्ने निर्णयअनुसार २०७३ माघमा स्थापना गरिए पनि अझै कामविहीन बनेको छ।
स्थापनाको पाँच वर्ष ६ महिना बितिसक्दा पनि कामकाज सुरु हुन सकेको छैन।

साबिकको २१ वटा गाविस अर्थात् हाल पाँचवटा पालिका क्षेत्रलाई सेवा दिने उद्देश्यका साथ यस कार्यालयको स्थापना भएको थियो। तर, यस क्षेत्रका सेवाग्राहीले सेवा पाउन नसक्दा हालको मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका र बटेश्वर गाउँपालिका क्षेत्रका स्थानीय निराश छन्।

नागरिकलाई सहजरूपमा सेवा दिने भन्दै स्थापना भएको हो। नापी कार्यालय पूर्व–पश्चिम राजमार्गको मिथिला नगरपालिकाको मुख्य बजार क्षेत्र ढल्केवर बजारमा २० वटा कोठा भएको चिटिक्क परेको दुईतले भवन छ। भाडामा लिइएको भवन कार्यालय झैँ प्रत्येक दिन समयमै खुले पनि काम भने केही हुँदैन।

कर्मचारी पनि समय मै हाजिरी गर्नका लागि कार्यालय आइपुग्छन्। तर, दिनभर कार्यालयमा कामविहीन अवस्थामा बसेर फर्किन्छन्। १० बजे नै कार्यालयमा उपस्थिति जनाएपछि दिनभर गफिएर समय बिताउनुपरेको छ।

नापी कार्यालय जनकपुरधाम धनुषाले ढल्केवरमा स्थापना भएको कार्यालयलाई आवश्यक कागजात तथा सामग्री बरबुझारथ नगर्दा खटिएका १५ जना कर्मचारी लगभग ६ वर्षदेखि कामविहीन बनेका छन्।

नापी कार्यालय जनकपुरधाम धनुषाले ढल्केवरमा स्थापना भएको कार्यालयलाई आवश्यक कागजात तथा सामग्री बरबुझारथ नगर्दा खटिएका १५ जना कर्मचारी लगभग ६ वर्षदेखि कामविहीन बनेका छन्।

कार्यालय सञ्चालनमा नआउँदा सरकारको वार्षिक लाखौँ रकम खेर गई रहेको नापी कार्यालय ढल्केबरका प्रमुख अधिकृत राजेन्द्र साहले बताए। अधिकृत साहले भने, “कार्यालय सञ्चालनमा नआउँदा १५ कर्मचारी हाजिरी गरेर दिन बिताउन बाध्य छन्।”

उनले सेवा क्षेत्र तोकिएका ठाउँको अभिलेख तथा आवश्यक कागजात बरबुझारथ गर्न नापी कार्यालय धनुषालाई पटक-पटक ताकेता गर्दा पनि कुनै सुनवाइ नभएको बताए। उनले भने, “कागजातका लागि जनकपुर कार्यालयलाई हामीले पटक-पटक ताकेता गयौँ, तर त्यसको कुनै जवाफ आएको छैन। कुनै सुनवाइ भएको छैन। अभिलेख तथा आवश्यक कागजात दिन नापी कार्यालय धनुषाले आनाकानी गरिरहेको छ।”

काम न काज, खर्च मात्रै

कार्यालयमा नापी अधिकृतको नेतृत्वमा सर्वेक्षक पाँच जना, अमिन एक जना, सह-लेखापाल एक जना, कम्प्युटर अपरेटर एकजना, कार्यालय सहयोगी पाँचजना, स्विपर एकजना गरी कुल १५ कर्मचारी कार्यरत छन्।

सबै कर्मचारीको तलबमा प्रतिमहिना तीन लाख २५ हजार चार सय रुपियाँ खर्च हुने गरेको छ। यसरी वर्षमा कर्मचारीको तलबबाट मात्र ३९ लाख चार हजार आठ सय रुपैयाँ खर्च भइरहेको देखिन्छ। कार्यालयको भाडाबापत मात्र प्रतिमहिना ३८ हजार पाँच सय रुपियाँ खर्च हुन्छ। घरभाडामा वर्षमा चार लाख ६२ हजार रुपियाँ खर्च भइरहेको छ।

नापी कार्यालय जनकपुरको लापरबाहीका कारण सरकारी स्रोतसाधनको दुरुपयोग भइरहेको मिथिला उद्योग वाणिज्य संघका अध्यक्ष तेजनारायण साह भन्छन्। अध्यक्ष साहले भने, “सरकारले गरेको निर्णय कार्यान्वयनमा ल्याउन सरकारकै कर्मचारीले बखेडा खडा गर्नु कुनै उचित होइन।”

अध्यक्ष साहले भने, “सरकारले गरेको निर्णय कार्यान्वयनमा ल्याउन सरकारकै कर्मचारीले बखेडा खडा गर्नु कुनै उचित होइन।”

उनले सरकारले गरेको निर्णय अब पनि यथाशीघ्र कार्यान्वयन नभए आफूहरू कडा रूपमा प्रस्तुत हुने बताए । “नागरिकलाई सहजरूपमा सेवा दिन स्थापना भएको कार्यालय सञ्चालनमा कुनै किसिमको बहानाबाजी चल्दैन। यथास्थितिमै सञ्चालनमा ल्याउनुपर्छ,” अध्यक्ष साहले भने।
यस सन्दर्भमा मिथिला नगरपालिका मेयर महेन्द्र महतोले नापी कार्यालयको कागजातको लागि कैयौँपटक पहल गरे पनि मालपोतकै बहानामा नापीको अभिलेख तथा कागजात उपलब्ध गराउन जनकपुर कार्यालयले आनाकानी गरिरहेको बताए।

मेयर महतोले भने, “मैले ढल्केवर कार्यालयलाई अभिलेख उपलब्ध गराइदिन विभागका ‘डीजी’देखि सम्बन्धित मन्त्रालयका मन्त्रीसम्मलाई आग्रह गरेको छु। स्थापना गर्ने निर्णय संघीय सरकारको हो, सरकारले निर्णय गरे मात्र कार्यालय फिर्ता जान्छ।” मेयर महतोले नापी र मालपोतका लागि पहल भइरहेको बताए।

मालपोत नहुँदा नापी बेकामे

नापी कार्यालय धनुषाका प्रमुख सुमन मिश्रले ढल्केबरमा मालपोत स्थापना नभएकै कारण नापी कार्यालयको कामकाज सुरु हुन नसकेको जानकारी दिए। उनले मालपोतबिना नापी कार्यालय सञ्चालनमा आए सेवाग्राहीका लागि झन्झटिलो हुने बताए।

“नापी कार्यालय मात्रै सञ्चालनमा आएर सेवाग्राहीले सहजरूपमा सेवा पाउँदैनन्, झन् समस्या बढ्छ,” प्रमुख मिश्रले भने। ढल्केवर कार्यालयलाई कार्यक्षेत्र तोकिएको स्थानीय तहको समन्वयमा अभिलेख तथा कागजात लान सकिने उनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved