प्रतिबन्धित ‘रेडबुल’ बजारमा छ्याप–छ्याप्ती, नियामक निकायको विचित्रको मौनता

व्यापार घाटा चुलिँदो अवस्थामा प्रतिबन्धित इनर्जी ड्रिंक्सको आयातले स्वदेशी मुद्रा बाहिरिन रोकिएको छैन। विश्वचर्चित विदेशी ब्रान्ड नै अनधिकृत रूपमा आइरहेका छन्। अर्कोतर्फ अवैध बाटोबाट स्वदेश भित्राउँदा राज्यले ठूलो मात्रामा राजश्व समेत गुमाइरहेको छ।

नेपालभ्युज

प्रतिबन्धित ‘रेडबुल’ बजारमा छ्याप–छ्याप्ती, नियामक निकायको विचित्रको मौनता

काठमाडौं। बाह्य मुलुकबाट आयात गरिने क्याफिनयुक्त इनर्जी ड्रिंक्स (पेय पदार्थ) आयातमा रोक लगाउने निर्णय भएको तीन वर्ष बितिसक्दा पनि नेपाली बजारमा छ्यापछ्याप्ती भेटिइरहेको छ।

सरकारले २०७६ जेठ १० गते बाह्य मुलुकबाट आयात गरिने इनर्जी ड्रिंक्स (पेय पदार्थ) रेडबुललगायतको आयातमा रोक लगाउने निर्णय गरे पनि बजारमा आउन छोडेका छैन। २०७६ असार २ मा प्रकाशित राजपत्रमा सबै प्रकारका क्याफिनयुक्त शक्ति वर्द्धक पेय पदार्थ बिक्री–वितरणमा रोक लगाइएको छ। प्रतिबन्ध अघि भारत, चीन, थाइल्यान्ड, भियतनाम कोरियालगायतका मुलुकबाट इनर्जी ड्रिङ्क आयात गरिन्थ्यो।

व्यापार घाटा न्यूनीकरण गर्न सरकारले प्राथमिकता क्षेत्र निर्धारण गरेर अनावश्यक बस्तुको आयात नियन्त्रण गर्ने योजना बनाएको थियो। सोही अनुसार यसलाई प्रतिबन्ध लगाइएको थियो।

केही वस्तुको निर्यात प्रोत्साहन गरी चुलिँदो व्यापार घाटा न्यूनीकरण गर्ने योजना बनाएको सरकारले इनर्जी ड्रिंक्सलाई पनि स्वदेशमै उत्पादन गर्नको लागि सहुलियत दिएको थियो। नेपाली उद्योगलाई आधारभूत संरक्षण दिने उद्देश्यले पनि इनर्जी ड्रिंक्स आयात रोकिएको थियो। व्यापार घाटामा योगदान गर्ने वस्तुको आयात प्रतिबन्ध लगाउने सूचीमा परेको इनर्जी ड्रिंक्स (पेय पदार्थ)को आयात दिनप्रतिदिन बढिरहेको देखिन्छ।
काठमाडौं उपत्यकाका तीनै जिल्लासहित उपत्यकाबाहिरका धेरै बजारमा रेडबुललगायतका ‘इनर्जी ड्रिंक्स’ बेच्न राखिएको पाइन्छ। होटल तथा पसल जताततै किनबेच भइरहेको भेटिएको छ।

भन्सार विभागको पछिल्लो तथ्याङ्कमा पनि इनर्जी ड्रिंक्स नै भनेर बस्तुको आयात भएको देखाइएको छैन। प्रतिबन्धपछि पनि बजारमा देखिनु तर आयातको बारेमा भन्सारमा तथ्याङ्क नहुनु अनौठो देखिएको छ। यसमा एकातिर सरकार इनर्जी ड्रिंक्स आयातमा प्रतिबन्ध लगाउने अर्कोतर्फ तस्करीहरूले चोर बाटो हुँदै नेपाल भित्र्याइरहने विचित्रको अवस्था देखिएको सरोकारवालाहरू बताउँछन्।

बजारको मागअनुसार स्वदेशमै उद्योग खोलिएको छ। अहिले स्वदेशमै इनर्जी ड्रिंक्स उत्पादन हुन थालिसकेको छ। व्यापार घाटा चुलिँदो अवस्थामा प्रतिबन्धित इनर्जी ड्रिंक्सको आयातले स्वदेशी मुद्रा बाहिरिन रोकिएको छैन। विश्वचर्चित विदेशी ब्रान्ड नै अनधिकृत रूपमा आइरहेका छन्। अर्कोतर्फ अवैध बाटोबाट स्वदेश भित्राउँदा राज्यले ठूलो मात्रामा राजश्व समेत गुमाइरहेको छ।

रेडबुल बेच्नेको हुल

प्रतिबन्धित ‘इनर्जी ड्रिंक्स’ छ्याप छ्याप्ती, भएको गुनासोपछि प्रहरीले कहिलेकाहीँ छापा मार्दै आएको छ।

१६ वैशाख २०७९मा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बालाजु–बसपार्क क्षेत्रबाट ६५ क्यान इनर्जी ड्रिङ्स बरामद गरेको थियो। काठमाडौं महानगरपालिकामा रहेका एरिका लिक्वेयर सप, गोर्खाली सञ्जीव किराना तथा फलफूल पसल, स्वर्गद्वारी कोल्ड स्टोर, जसवाल जुस एन्ड फ्रुट, रिजाल गुदपाक भण्डार र एमजी ग्रुप मल्टिप्रपोज कम्पनीबाट सो परिमाणको रेडबुल बरामद गरिएको विभागले जनाएको थियो।

त्यसअघि वर्ष दिनअघि पनि ठूलो परिमाणमा रेडबुल बरामद गरिएको थियो। ६ साउन २०७८ मा काठमाडौँको चार ठाउँमा रहेका ‘रेडबुल’ स्टोरमा छापा मारेर केही व्यापारीलाई समेत पक्राउ गरिएको थियो। न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन र गोठाटारमा रहेको स्टोरमा छापा मारेर पक्राउ परेका स्टोर सञ्चालक अहिले छुटिसकेका छन्। सो समयमा चारवटा स्टोरबाट ४ हजार ८ सय ४८ वटा रेडबुल बरामद गरिएको थियो।

६ असोज २०७८ मा झापाको बिर्तामोडमा १८ कार्टुन प्रतिबन्धित रेडबुल बरामद भएको थियो।

२१ असोज २०७८ मा प्रदेश १ को राजधानी विराटनगरमा अनुगमनको क्रममा प्रतिबन्धित विदेशी रेडबुल ठूलो मात्रामा फेला पारेको थियो।

२८ कात्तिक २०७८ मा बुटवलका थोक व्यापारी गोपाल सिद्धको किराना स्टोर्सबाट प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित रेडबुल बरामद गरेको थियो।

त्यसको २ दिन पछि १ मंसीरमा रुपन्देही प्रहरीले भारतबाट ल्याउँदै गरेको ठुलै परिमाणको रेडबुलसहित लाखौँको बिना भन्सारको सामान बरामद गरेको थियो। ९ लाख ३२ बजार बढीको रेडबुलसहितको सामाग्री बरामद गरेका थियो। जसमा ९५ पेटी रेडबुल थियो।

भन्सार विभाग भन्छ- कसरी भित्रियो हामीलाई थाहा छैन

रेडबुललगायत प्रतिबन्धित ‘इनर्जी ड्रिंक्स’ सहित पक्राउ परेकाहरुहरूले भारतबाट त्यस्ता पेय पदार्थ ल्याएर बेच्दै गरेको बताउने गरेका छन्। उनीहरूले भन्सार नाकाबाट नभई अवैध बाटोबाट आयात गरेको बताउँछन्। इनर्जी ड्रिंक्सको बिक्री भइरहे पनि कहाँबाट कसरी आयात भइरहेको छ भन्नेबारे सरकारी निकाय मौन छ।

भन्सार विभागको पछिल्लो तथ्याङ्कमा पनि इनर्जी ड्रिंक्स नै भनेर बस्तुको आयात भएको देखाइएको छैन। यसो भए अहिले बजारमा सर्वत्र देखिएका इनर्जी ड्रिंक्स भन्सार छलेर ल्याइएका मात्र हुन् त भन्ने प्रश्न उब्जिएको छ। अर्कै वस्तुको आवरणमा प्रतिबन्धित इनर्जी ड्रिंक्स भन्सारबाटै भित्रिएको कतिपयको आशंका छ।

भन्सार विभागले भने सरकारले प्रतिबन्ध लगाएलगतै आफूहरूले ती बस्तु आयात गर्न नदिएको बताएको छ। विभागका प्रवक्ता पुण्य विक्रम खड्काले भने, ‘‘रेडबुललगायत इनर्जी ड्रिंक्सको आयातमा रोक लगाउने निर्णय गरेपछि भन्सारबाट भित्रिएका छैनन्। अवैध बाटोबाट भित्रिएका भए सरकारले अनुगमन गरेर कारबाही गर्नुपर्ने हो। भन्सारमा पनि एउटा सामान भनेर अर्को सामान ल्याउने सम्भावना हुँदैन। धेरै प्रक्रिया पूरा गरेर ल्याउँदा त्यस्तो सम्भावना देखिँदैन। हामीले कडाइ गरिरहेका छौँ।’’

तीन वर्षसम्म फेला पर्न नसकेको ‘रेडबुल’ तस्कर

सरकारले प्रतिबन्ध गरेको रेडबुल तराइका विभिन्न जिल्लाबाट भन्सार छलेर नेपाल भित्र्याउने र भ्यान तथा रात्रि बसबाट काठमाडौँसम्म ल्याउने गरेको पाइएको स्रोतको दाबी छ। तीन वर्षसम्म ती गिरोह पत्ता लाग्न सकेका छैनन्।

तर, स्थानीय व्यापारी मात्रै फाट्टफुट्ट पक्राउ परिरहेका छन्। खुला सीमा भएकै कारण तस्करीमार्फत भित्रिएको कतिपयको दाबी छ। छिमेकी देश भारतमा इनर्जी ड्रिंक्समा प्रतिबन्ध नभएका कारणले तस्करीहरूले नेपाली बजारमा छ्यापछ्याप्ती फिँजाएका बताइन्छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार रेडबुल अवैध किसिमबाट भारतबाट ल्याइने गरेको पाइएको छ। विभागका सूचना अधिकारी धनेश्वर पौडेलले भन्छन्, ‘‘बजारमा जति पनि बरामद गरेका छौँ, व्यापारीसँग ती सामान खरिद गरेको बिल छैन। लामो दुरीका गाडीले ल्याएर छोडिदिएको भन्छन्, कसले ल्याएर दिएको हो भन्ने पनि भन्दैनन्।’’

नामको मात्र अनुगमन, बजारमा बिगबिगी प्रतिबन्धित रेडबुल

काठमाडौं उपत्यकाका दरबारमार्ग, ठमेल, बानेश्वरलगायतका नाम चलेका रेस्टुरेन्टमा प्रतिबन्धित रेडबुललगायतका ‘इनर्जी ड्रिंक्स’ पाइन्छन्। कतिपय रेस्टुरेन्टले त मेनुमा नै यी बस्तुका नाम नै उल्लेख गरेका छन्।

कतिपय होलसेल तथा रिटेल पसलमा समेत यी बस्तु खुलेआम बिक्री भइरहेको छ। तर, यसबारे वाणिज्य विभाग भने मूकदर्शक छ। तर यस्ता बस्तुको कारोबार गर्नेलाई कारबाही गर्ने भन्दै वाणिज्य विभागले औपचारिक जवाफ मात्र दिँदै आएको छ।

रेडबुललगायत प्रतिबन्धित इनर्जी ड्रिंक्सको कारोबार अन्य धेरै स्थानमा भइरहेको हुनसक्ने आशंकामा खोजी गरिरहेको वाणिज्य विभागका महानिर्देशक लिलाप्रसाद शर्मा बताउँछन्।

उनी भन्छन् ‘‘रेडबुल धेरै ठाउँमा बेचिरहेको आशंका लागेको छ, कसरी भित्रियो र को संलग्न छ भन्ने मूल स्रोतको छानबिन गरिरहेका छौँ।’’

बजारमा रहेका यस्ता अवैध बस्तु निषेधको लागि अनुगमन गर्न दैनिक दुई टोली परिचालित हुने गरेको उनले बताए।

उपभोक्ता हित संरक्षणकर्मीको आरोप- सरकारी गैरजिम्मेवारीपन

आयतमा रोक लगाइए पनि बजारमा अझै इनर्जी ड्रिङ्क पाइने गरेको विषय आफूहरू जानकार रहेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ बताउँछन्।

‘‘अनधिकृत बस्तुको बिक्री वितरण रोक गर्न र आवश्यक कारबाही गर्नुपर्छ भनेर हामीले निरन्तर आवाज उठाइरहेका छौँ। हामीले अदालतमा मुद्दा नै हालेका थियौँ’’ उनी भन्छन्, ‘‘तर पनि नेपाली बजारमा भेटिनु सरकारी लापरबाहीको चरम नमुना हो। सरकार यसको नियन्त्रणमा सरकार गम्भीर देखिएको छैनौँ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved