बालकलाई कुटपिट गरेको अभियोगमा स्वास्थ्यकर्मीविरुद्ध मुद्दा

नेपालभ्युज

बालकलाई कुटपिट गरेको अभियोगमा स्वास्थ्यकर्मीविरुद्ध मुद्दा

काठमाडौं । १० वर्षीय बालकलाई मरणासन्न हुने गरी कुटपिट गरेको अभियोगमा ओखलढुंगाका एक स्वास्थ्यकर्मीविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता भएको छ । पीडितको जाहेरीका आधारमा सिद्धिचरण नगरपालिका–११ रामबजारका सम्झना श्रेष्ठविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी सुकदेव खनालले जानकारी दिए।

श्रेष्ठ ओखलढुंगा स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी हुन् । आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । आरोपित श्रेष्ठले २०७९ साउन ७ गते दुई बालबालिका खेल्ने क्रममा भएको सामान्य विवादलाई लिएर छिमेकमा डेरा गरी बस्ने १० वर्षीय बालकलाई कुटपिट गरेका थिए । कुटपिटबाट बालकको शरीरको विभिन्न भागमा निलडाम रहेको र बान्ता गरिरहने बालककी आमा विमला बस्नेतले बताइन् । जिल्लामा उपचार नभएपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ।

बालकले बान्ता गरिरहने समस्या आएको र समस्या यकिन गर्न सिटीस्क्यान नै गर्नुपर्ने भएकाले बालकलाई जिल्ला बाहिर रेफर गरेको ओखलढुंगा सामुदायिक अस्पतालले जनाएको छ। बालकलाई उपचारका लागि काठमाडौं पठाइएको छ । घटनापछि पीडक पक्षले घटना सार्वजनिक नगर्न, प्रहरीमा उजुरी नगर्न पीडित परिवारलाई दबाब दिएको जिल्ला प्रहरीमा समेत उजुरी दर्ता नगर्न विभिन्न निकाय र व्यक्तिबाट दबाब दिएकाले घटना भएको ४ दिनपछि मात्रै प्रहरीमा मुद्दा दर्ता भएको पीडित पक्षको गुनासो छ ।

आरोपित श्रेष्ठले भने आफूले कुटपिट नगरेको तर, उच्छृंखल भएको सम्झाएको मात्रै बताइन् । उनले उपचार गर्न आफूखुसी काठमाडौं लगेको र बच्चालाई त्यस्तो केही नभएको प्रतिक्रिया दिएकी छन् । तर, प्रहरीले अस्पतालको रिपोर्ट आउन बाँकी रहेको र हाल घटना अनुसन्धानमा रहेकाले बजार हल्लाको पछि नलाग्न भनेको छ । पीडित पक्षले ज्यान मार्ने उद्योगमा जाहेरी हाल्ने तयारी गरे पनि दाबीपछि अभद्र व्यवहार मुद्दामा जाहेरी दिएको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved