दैनिक बढ्दै कोरोनाको सक्रिय संक्रमित, फेरि लकडाउन होला?

नेपालभ्युज

दैनिक बढ्दै कोरोनाको सक्रिय संक्रमित, फेरि लकडाउन होला?

काठमाडौं। नेपालमा कोरोनाको सक्रिय संक्रमित संख्या २ हजार ९७१ पुगेको छ। यसअघि शुक्रबार सक्रिय संक्रमितको संख्या २ हजार ८४१ थियो। संक्रमित दैनिक बढ्दै गएका छन्। गत २४ घण्टामा २ हजार ९९६ जनाको परीक्षण गर्दा ३३५ जनामा संक्रमण पुष्टि भएको छ। यससँगै सक्रमितको संख्या तीन हजार नजिक पुगेको छ।

साउन १ गते सक्रिय संक्रमितको संख्या १ हजार ४३९ थियो। साउन २ गते १ हजार ७७६, साउन ३ गते १ हजार ९८२, साउन ४ गते २ हजार २७६, साउन ५ गते २ हजार ५३७ र साउन ६ गते २ हजार ८४१ थियो।
हाल कोरोना संक्रमणदर ११ दशमलव १८ प्रतिशत पुगेको छ।

गत असार पहिलो सातादेखि सङ्क्रमण पुष्टि हुने दर क्रमशः बढ्न थालेको तथ्याङ्कले देखाउँछ।

स्वास्थ्य मन्त्रालयका अनुसार आईसीयूमा हुने बिरामीको सङ्ख्या २० छ। तीमध्ये १७ जना बागमती प्रदेशका अस्पताल र एक–एक जना प्रदेश नं १ र सुदूरपश्चिममा छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार त्यहाँ शुक्रवार मध्याह्नसम्म कोभिड भएका छ बिरामी उपचाररत थिए। तीमध्ये तीन जना आईसीयूमा रहेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए।

दैनिक सक्रमित बढेपछि लकडाउनको त्रास बढेको छ। अघिल्ला दुई चरणमा लकडाउन गरिएको थियो। तर तेस्रो चरणमा कोरोना संक्रमित बढ्दा लकडाउन नगरी नियन्त्रण भएको थियो। अहिले पनि लकडाउनको अवस्थामा नपुगेको विज्ञहरू बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved