अब बैतडीका सबै स्थानीय तहमा हेलिप्याड

अब बैतडीका सबै स्थानीय तहमा हेलिप्याड

बैतडी। बैतडीका सबै स्थानीय तहमा हेलिप्याड निर्माण थालिएको छ। विपद्को समयमा सहजै हेलिकप्टर अवतरण गराउन तथा हेलिकप्टरबाट उद्धारका लागि सबै स्थानीय तहमा हेलिप्याड निर्माण कार्य थालिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

मनसुनको प्रभाव बढ्दै गइरहेकाले बाढीपहिरो, चट्याङ र अन्य विपद् आइपर्दा आपत्कालीन रुपमा हेलिकप्टर अवतरण गराउन सहज होस् भनेर सबै स्थानीय तहमा हेलिप्याड निर्माण थालिएको जनाइएको हो।

केही दिनअघि जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको अध्यक्षतामा बसेको बैठकले जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् प्रतिकार्य योजना पारित गर्दै सबै स्थानीय तहमा हेलिप्याड पनि निर्माण गर्ने निर्णय गरेको थियो।

विपद् व्यवस्थापन तथा न्यूनीकरण गर्ने उद्देश्यले हेलिप्याड निर्माण गरिएकोे शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए। “आपत्कालिन रुपमा उद्धारका लागि सहज होस् भनेर हेलिप्याड निर्माण गरेका हौँ”, उनले भने, “विपद् बाजा बजाएर नआउने भएकाले हामीले क्षति न्यूनीकरणका लागि सुल्लेखान र शर्मालीमा गरेर दुई स्थानमा हेलिप्याड निर्माण गरेको छौँ।”

आपत्कालीन र विपद्को अवस्थामा उद्धार तथा राहत कार्यलाई व्यवस्थित बनाउने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समितिले यहाँका सबै स्थानीय तहमा कम्तीमा एउटा हेलिप्याड निर्माण गर्न भनिएको छ। जिल्लाका अन्य स्थानीय तहले पनि हेलिप्याड निर्माणको तयारी थालिएको जनाएका छन्। विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका लागि सबै स्थानीय तह तयारी अवस्थामा रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

विपद्बाट घरबार विहीन हुन सक्ने परिवारहरुको उद्धार तथा व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहले आश्रयस्थलको व्यवस्थापन गर्ने र त्यसको विवरण जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई उपलब्ध गराउने जनाइएको छ।

जिल्लामा हुन सक्ने सम्भावित विपद्बाट प्रभावित हुन सक्ने परिवार र घरधुरीलाई मध्यनजर गरेर आआफ्नो तहमा रहेका अस्थायी आश्रयस्थल पहिचान गरी जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा पठाउन पनि भनिएको छ।

स्थानीय तहमा रहेका विद्यालय, सार्वजनिक जग्गा, सामुदायिक भवन आदिलाई आश्रयस्थलको रुपमा प्रयोग गर्न सकिने भएकाले त्यस्ता क्षेत्रको पहिचान गरी राख्न पनि भनिएको छ।

मनसुनी वर्षालाई ध्यानमा राखेर यसबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्ने, सडक अवरुद्ध भएमा तत्काल खुलाउन मेसिन र औजार तयारी अवस्थामा राख्ने, त्यस्ता मेसिन र औजार सञ्चालन गर्नेको फोन नम्बरसहित सूची जिल्ला आपतकालीन सञ्चालन केन्द्रमा उपलब्ध गराउन अनुरोध गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved