एसीसी महिला टी-२० : नेपालको लगातार तेस्रो जित, सेमिफाइनलमा स्थान पक्का

सात ओभरमा १५ रनको सहज लक्ष्य नेपालले ३.४ ओभरमा मात्र दुई विकेटको नोक्सानीमा लक्ष्य पूरा गर्‍यो।

नेपालभ्युज

एसीसी महिला टी-२० : नेपालको लगातार तेस्रो जित, सेमिफाइनलमा स्थान पक्का
फाइल फोटो

काठमाडौं। शानदार बलिङको मद्दतले नेपालले एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा लगातार तेस्रो जित हात पारेको छ। यो जितसँगै नेपालले प्रतियोगिताको सेमिफाइनलमा पनि स्थान पक्का गरेको छ।

मलेसियामा जारी प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज (सोमबार) बहराइनलाई ८ विकेटले पराजित गर्‍यो।

वर्षाको कारण सात ओभरमा छोट्टाइएको खेलमा टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। नेपालको कसिलो बलिङसामु बहराइन निर्धारित सात ओभरमा ६ विकेट गुमाउदै मात्र १४ रनमा समेटियो।

नेपालका लागि कविता कुवरले दुई ओभरमा मात्र दुई रन खर्चेर दुई विकेट लिइन्। त्यसैगरी अश्मिना कर्माचार्य र सबनम राइले एक–एक विकेट लिएका थिए।

जवाफमा सात ओभरमा १५ रनको सहज लक्ष्य नेपालले ३.४ ओभरमा मात्र दुई विकेटको नोक्सानीमा लक्ष्य पूरा गर्‍यो। जितमा सिता मगरले चार र कविता जोशीले तीन रन जोड्दा नेपालले आठ रन अतिरिक्त रनको रुपमा पाएको थियो।

नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो। तीन खेलमा स्पष्ट ६ अंक जोड्दै समूहको शीर्षस्थानमा रहेको नेपालको सेमिफाइनलमा स्थान पक्का भएको छ।

१० राष्ट्रको सहभागिता रहेको प्रतियोगितमा टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह चरणको खेलपछि दुवै समूहको शीर्ष दुई स्थानमा रहने टिमले सेमिफाइनलमा भिडन्त गर्नेछन्।

यो टी–ट्वान्टी च्याम्पियनसिप यसै वर्ष बंगलादेशमा आयोजना हुने महिला टी–ट्वान्टी एसिया कपको छनोट प्रतियोगिता पनि हो। यो प्रतियोगिताको फाइनल खेल्ने शीर्ष दुई टिमले एसिया कप खेल्न पाउनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved