अछाम घटना

शंकास्पद अछाम हत्या घटना, सीडीओ र डीएसपी निलम्बनको माग

नेपालभ्युज

शंकास्पद अछाम हत्या घटना, सीडीओ र डीएसपी निलम्बनको माग

धनगढी। अछामको विनायकमा भएको किशोर मृत्यु प्रकरणमा अछामका प्रहरी प्रमुख डीएसपी रविराज थपलियालाई निलम्बनसहित निष्पक्ष छानबिन माग गर्दै ४ कम्युनिस्ट दलले संयुक्त विज्ञप्ति निकालेका छन्।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, र नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले संयुक्त विज्ञप्ति जारी गर्दै प्रहरी प्रमुख थपलियालाई निलम्बनको माग गरेका हुन्।

किशोरको शव भेटिएको र प्रहरीले शव प्रकृति मुचुल्का गरिसकेपछि समेत पीडित पक्षका तर्फबाट किटानी जाहेरी प्रहरीले दर्ता गर्न नमानी मृत शरीर जङ्गलमै रही पोष्टमार्टम गर्नसमेत नभएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको चार कम्युनिष्ट दलले विज्ञप्तिमार्फत जनाएका छन्। साथै घटनाबारे पीडित पक्षबाट दिइएको किटानी जाहेरी यथाशीघ्र दर्ता गरी दोषीहरूलाई तत्काल पक्राउ गर्न र दोषीउपर कारबाही बढाउन जिल्ला प्रहरी कार्यालयसँग जोडदार माग गरेका छन्।

नेकपा एमालेका नगर इन्चार्ज भीम बहादुर विष्ट,नेकपा माओवादी केन्द्रका सह इन्चार्ज धर्मराज तिमिल्सैना,नेकपा एसका सह इन्चार्ज केशव बहादुर शाही र नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का इन्चार्ज सर्जन धामीले उक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।

विज्ञप्तिमा विनायक घटनामा भूमिका रहेका अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनी र जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख रविराज थपलियालाई निलम्बन गरि निष्पक्ष छानबिन प्रक्रिया बढाउन नेपाल सरकारसँग जोडदार माग गरिएको छ।

पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय विनोदबहादुर शाहीको शव शनिबार बिहान सोही नगरपालिकाको वडा नम्बर ४ को कालिकास्थानस्थित मध्यपहाडी लोकमार्गबाट १ किलोमिटर तल जङ्गलमा फेला परेको थियो।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन सो नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको थियो।

चुनावको विषयलाई लिएर कालिकास्थानमा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको झडपपछि उनी बेपत्ता भएका थिए।

एमाले कार्यकर्ताहरूले कांग्रेसका कार्यकर्ताबाट शाहीको हत्या भएको आरोप लगाएका छन्। भने केही स्थानीय कांग्रेस नेताहरूको नाममा किटानी जाहेरी दिएका दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved