सनक चढेर इम्बोस्ड जोड्न भनिएको होइन : यातायात व्यवस्था विभाग

नेपालभ्युज

सनक चढेर इम्बोस्ड जोड्न भनिएको होइन : यातायात व्यवस्था विभाग

काठमाडौं। यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडानबारे थप स्पष्ट पारेको छ।

मंगलबार पत्रकार सम्मेलन गरेर यातायात व्यवस्था विभागले २२ कार्तिक २०७८ को राजपत्रले निर्दिष्ट गरेका सवारीहरुमा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको स्पष्ट पारेको हो।

सबै किसिमका सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न भनिएको भन्दै विभागको निर्णयको चौतर्फी आलोचना भएको थियो । सांसदहरुले समेत विभागको यो निर्णय अव्यवहारिक भएको भन्दै विरोध जनाएका थिए। प्लेटको गुणस्तरबारे पनि प्रश्न उठेको थियो।

चौतर्फी विरोधपछि विभागले मंगलबार पत्रकार सम्मेलन गरी यसबारे स्पष्ट पारेको हो। विभागका महानिर्देशक नमराज घिमिरेले भने, ‘‘यो कार्यक्रम विश्व प्रविधिमा अन्य मुलुक जस्तै फड्को मार्न सरकारले यो कार्यक्रम लागू गरेको हो। हामीलाई कुनै रहर लागेर अथवा सनक चढेर यो नीति कार्यान्वयनमा आएको होइन। ऐनमा भएको व्यवस्था कार्यान्वयन गर्न लागेका हौँ।’’

विभागले गत शुक्रबार एक सूचना जारी गर्दै साउन १ गतेसम्म बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीहरूमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने, नभए साउन १ गतेपछि कारबाही गरिने उल्लेख गरेको थियो।

महानिर्देशक घिमिरेले गण्डकी र बागमती प्रदेशमा गुड्ने सबै सवारीमा साउन १ अगाडि इम्बोस्ड नम्बर प्लेट जडान गर्नु नपर्ने, गत मंसिर १ गतेपछि नयाँ सवारी खरिद गरेकाले मात्रै साउन १ गतेभन्दा अगाडि इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नुपर्ने बताए।

गत फागुन १ गतेभन्दा पछाडि पुराना सवारी खरिद गरी नामसारी गरिएको छ भने ती सवारीमा पनि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने विभागले जनाएको छ। गत जेठ १ गतेपछि नवीकरणका लागि गएकारूले पनि साउन १ सम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने हुन्छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved