सिसडोलमा बालेन शाह र स्थानीयबीच तनाव

चर्काचर्की बढ्दै गएपछि केही निष्कर्षबिना मेयर शाह र उपमेयर डंगोल काठमाडौं फर्किएका छन् ।

नेपालभ्युज

सिसडोलमा बालेन शाह र स्थानीयबीच तनाव

काठमाडौं। काठमाडौं उपत्यकाको फोहो विसर्जन हुँदै आएको सिसडोलमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र स्थानीयबीच चर्चाचर्की भएको छ। काठमाडौं फोहोर व्यवस्थापन उपत्यकाको फोहोर व्यवस्थापनका लागि उपमेयर सुनिता डंगोलसहित स्थलगत अवलोकनमा पुगेका शाह र स्थानीयबीच विवाद भएको हो।

विभिन्न माग राखी आन्दोलनरत स्थानीयले काठमाडौंको फोहोर सिसडोलमा फाल्दा त्यहाँको जमिनदेखि आम जनतामा प्रतिकूल असर परेको भन्दै विरोध गरेका थिए। उनीहरूले तीनपिप्लेबाट सिसडोलसम्मको जमिनको भाडा महानगरले दिनुपर्ने नभए कुनै पनि फोहोरका गाडी तीनपिप्लेबाट अगाडि आउन नदिने भन्दै विरोध जनाएका थिए।

छलफलका क्रममा स्थानीयहरू उत्तेजित रूपमा प्रस्तुत भएपछि चर्काचर्की नै भएको थियो। अघिल्लो सरकारले पनि आफ्ना गुनासाहरू नसुनेको भन्दै स्थानीयले प्रश्न गरेपछि मेयर शाहले केन्द्रसँग समस्या समाधानका लागि पहल गरिरहेको बताएका थिए।

‘‘म गइरहेको छु त, म मेयर भएको चार दिन भयो। प्रधानमन्त्रीकोमा यही कुरा लिएर गएँ। मन्त्रीकोमा यही कुरा लिएर गएको छु। कि नजा भन्नु। कामै नगर् भन्नु,” स्थानीय अघिल्लो स्थानीय सरकारको प्रसंग निकाल्दा मेयर शाहले भने, ‘ए बाबा पाँच वर्ष भएको छैन। चार दिन मात्रै भो के, पाँच वर्ष भएको छैन।’’ आफू मेयर भएको तीन चार दिन मात्र भएको भन्दै १७ वर्षअघिको कुरा आफूमाथि लाद्न नमिल्ने उनले तर्क गरे।

२० वर्षअगाडिका कुरा आफू एक्लैमाथि लाद्न नपाइने उनले स्थानीसँग बताए। ‘‘मलाई काम गर्न त दिनुपरो नि त, मलाई चार दिन मात्र भो। मलाई काम गर्न दिनुहुन्छ त ?” उनले प्रश्न गरे। आफूले कुनै पार्टीसँग साँठगाँठ नगरेको भन्दै उनले आफू काम गर्न आएको बताए। उनले भने, ‘‘मैले महानगरको मेयरको पद पनि लिइराख्नु पर्दैनथ्यो। पत्रिकामा देख्नु पनि भयो होला  ७०/८० बिघा के के आइराख्या थ्यो। मैले यो जागिर पनि खाइराख्नु पर्दैनथ्यो। म इन्जिनियर हो। म आफ्नो काम गरेर बस्न सक्थेँ । साढे तीन लाख तलब खाइरहेको थिएँ।”

आफूले कुनै पनि पार्टीसँग सेटिङ मिलाउन नपर्ने र आफू स्वतन्त्र व्यक्ति भएको भन्दै उनले काम गर्न दिन आग्रह गरेका थिए।

मेयर शाहको उक्त जवाफपछि स्थानीयले झनै विरोध गरे। चर्काचर्की बढ्दै गएपछि केही निष्कर्षबिना मेयर शाह र उपमेयर डंगोल काठमाडौं फर्किएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved