मेलम्चीको पानी दीगो आपूर्तिका लागि काम भइरहेको छ : खानेपानीमन्त्री

नेपालभ्युज

मेलम्चीको पानी दीगो आपूर्तिका लागि काम भइरहेको छ : खानेपानीमन्त्री

काठमाडौं। २०७७ चैतदेखि काठमाडौंमा वितरण शुरु भएको मेलम्चीको खानेपानी २०७८ जेठ अन्तिममा आएको बाढीका कारण क्षति भएपछि १ असारदेखि बन्द भयो। सरकारले पुनर्निर्माण गरेर गत १८ चैतदेखि पानीको वितरण पुन: शुरु गर्‍यो।

तर स्थानीय चुनावको मुखमा शुरु भएको खानेपानी वितरण चुनाव सकिएलगत्तै गत सोमबारदेखि पुन: बन्द भएको छ। चुनावको मुखमा पानी ल्याएर पुन: बन्द गरिएको भन्दै सर्वसाधारणले आलोचना गरिरहे पनि खानेपानीमन्त्री उमाकान्त चौधरीले भने मेलम्ची खानेपानी हेडवक्रसको मर्मत गरी दीगो रूपमा पानी आपूर्ति गर्नेगरी अध्ययन भइरहेको बताए।

बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै खानेपानीमन्त्री चौधरीले यस वर्ष वर्षालाई मध्यनजर गर्दै मेलम्ची खानेपानीको मुखढोका बन्द गरिएको भन्दै यसको दिर्घकालीन समाधानका बारेमा अध्ययन भइरहको जानकारी दिए। मन्त्री चौधरीले हेडवक्रसको मर्मत गरी दिगो रूपमा पानी आपूर्ति गर्न हाल एशियाली विकास बैंकको सहयोगमा तयार भइरहेको अध्ययन प्रतिवेदनको आधारमा कार्ययोजना बनाइ वर्षायाम सकिनेबित्तिकै कार्यान्वयन गर्ने बताए।

उनले वर्षायाममा आउन सक्ने सम्भावित बाढी तथा पहिरोबाट अरवौंको लगानीमा निर्माण भएको मेलम्ची खानेपानी आयोजनाका संरचनाहरुलाई सुरक्षित गर्न अति आवश्यक भएकाले मेलम्चीको पानी हाललाई बन्द गरिएको जानकारी दिए। पानी वितरण बन्द भएपछि क्षमा माग्दै मन्त्री चौधरीले उपत्यकामा खानेपानी अभाव हुन नदिन बागमति नदीबाट ४ करोड लिटर आपूर्ति गरिँदै आएकोमा थप ६ करोड लिटर पानी पनि बागमतीबाटै र अपुग ७ करोड लिटर पानी स्थानीय सतहबाट जम्मा गरी वितरण गरिने बताए।

काठमाडौं उपत्यकाको खानेपानी समस्याको दीगो समाधानका लागि यांग्री, लार्के, सिस्नेरी महादेव खोला लगायत स्रोतको अध्ययन भइरहेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved