काठमाडौं उपत्यकाका चार भञ्ज्याङमा चार सुरुङमार्ग

नेपालभ्युज

काठमाडौं उपत्यकाका चार भञ्ज्याङमा चार सुरुङमार्ग

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा चार भञ्ज्याङमा चार सुरुङमार्गको अवधारणाअन्तर्गत काठमाडौं उपत्यकाका बाँकी तीन भञ्ज्याङमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन अघि बढाउने भएको छ।

आज सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले टोखा–छहरे, गोदावरी–पनौती र साँगा–बनेपा खण्डको सुरुङमार्ग निर्माणका लागि अध्ययन गरिने बताए। सुरुङ मार्ग विकास कार्यक्रमका लागि रु एक अर्ब १९ करोड विनियोजन भएको छ।

काठमाडौं उपत्यकाको सवारी चापलाई व्यवस्थापन गर्न चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलङ्की–नारायणगोपाल चोक सडकखण्डको विस्तारका लागि रु एक अर्ब विनियोजन भएको छ। काठमाडौं उपत्यकाको ग्वार्खो, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर र कोटेश्वर तथा नयाँ बानेश्वरमा अन्डरपास निर्माणको कार्य सुरु गरिने सरकारको योजना छ।

अर्थमन्त्री शर्माले सिस्नेखोला–नागढुङ्गाको सुरुङमार्ग आगामी आर्थिक वर्षभित्र खोलिने बताए। नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका लागि रु पाँच अर्ब २० करोड विनियोजन भएको छ। सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकमा पर्ने सिद्धबाबा खण्डमा सुरुङमार्ग निर्माण सुरु गरिने भएको छ। दुम्कीबास–बर्दघाट, कुलेखानी–भीमफेदी, खुर्कोट–चियावारी, मझिमटार–शक्तिखोर, ब्याउलीढुङ्गा–इमिल्चाखोला, सुर्खेत रानीघाट–भुरीगाउ सुरुङ मार्गको अध्ययन सम्पन्न गरिने बताइएको छ।

सरकारले आगामी आर्थिक वर्षभित्र थप आठ सय किलोमिटर सडक सञ्जाल विस्तार गर्दै २५७ किमी सडक स्तरोन्नति गर्ने भएको छ। सडक सञ्जालको माध्यमबाट अन्तर आबद्धता विस्तार गरी आवागमनमा सहजता, यातायात लागतमा न्यूनता, भौगोलिक तथा जनसाङ्ख्यिक सन्निकटता र प्रादेशिक सन्तुलन कायम गर्ने गरी सडक पूर्वाधारको निर्माण तथा विस्तार गरिने मन्त्री शर्माले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved