‘देश दुर्घटनामा जान्छ’ भन्दा जनताले ‘द्वन्द्वकाल’ सम्झिए : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धनकाे ‘धम्कीपूर्ण’ अभिव्यक्तिले जनता डराएको बताएका छन्।

नेपालभ्युज

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनकाे ‘धम्कीपूर्ण’ अभिव्यक्तिले जनता डराएको बताएका छन्।

बिहीबार बिहान प्रतिनिधि सभाको बैठकमा ओलीले ‘देश दुर्घटनामा जान्छ’ भन्ने सत्तागठबन्धन दलका नेताहरुकाे अभिव्यक्तिले जनताले द्वन्द्वकाल सम्झिएको बताए।

‘‘फलानालाई भोट नदिए ‘देश दुर्घटनामा जान्छ’ भनेर निर्वाचनको समय जनतालाई धम्की दिइयाे’’, उनले भने, ‘‘यस्तो अभिव्यक्तिले जनताले द्वन्द्वकाल सम्झिए। छोराछोरी विदेशिनु परेको सम्झिए। आतंक छाएको सम्झिए। जनता थरथर काम्ने स्थिति बन्यो।’’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनअघि भरतपुरमा भएको एक चुनावी सभामा हँसिया हथौडा चिह्नमा भोट नहाले देश दुर्घटनामा जाने चेतावनी दिएका थिए। उनले चितवनवासीले रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई विजयी बनाए आफू उत्साहित हुने बताएका थिए।

प्रचण्डतर्फ संकेत गर्दै ओलीले बिहीबारको संसदमा भनेका छन्,‘‘मान्छे मारिएका, अंगभंग भएका, त्यही चितवनमा बोरामा हालेर घिसारी-घिसारी मान्छेको हत्या गरिएको झलझल सम्झिए।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved