दर्शकले नपत्याएपछि आएनन् सलमान खान

९ करोड रुपैयाँको टिकट बेच्ने लक्ष्य आयोजकको थियो, तर बिक्यो ५० लाख रुपैयाँको मात्रै। त्यसपछि काठमाडौंस्थित दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ स्थगित भयो।

दर्शकले नपत्याएपछि आएनन् सलमान खान

काठमाडौं। बलिउड अभिनेता सलमान खान नेपाल आउने भनेर तामझामका साथ प्रचार अघि बढाइएको कार्यक्रम ‘दबंग टुर रिलोडेड’ स्थगित भएको छ। टिकट बिक्री नभएर पैसा जुटाउन नसकेका कारण आयोजकले ४ दिनअघि कार्यक्रम रद्द गरेको हो।

कार्यक्रम आयोजक ओडीसी इन्टरटेनमेन्टले कार्यक्रमको लागि ९ करोड रुपैयाँ बराबरको टिकट बेच्ने जिम्मा डिजिटल वालेट ‘प्रभूपे’ लाई दिइएको थियो।

टिकटबाट आएको रकमबाट ४ दशमलव पाँच प्रतिशत प्रभूपेले राख्ने सहमति भएको थियो। तर ५० लाख रुपैयाँ बराबरको पनि टिकट बिक्री नभएको ‘प्रभूपे’ का सीईओ बिक्की खड्कीले जानकारी दिए। टिकटै नबिकेपछि ऋणमा डुबेर कार्यक्रम गर्न नसक्ने भन्दै आयोजकले कार्यक्रम स्थगित गर्ने घोषणा गरेको हो।

सलमानको शो स्थगितको कारण नेपाली दर्शकले टिकट नकिन्नु नै भए पनि आयोजकले कार्यक्रम स्थगित हुनुमा वर्षा, चुनाव र बजेट भाषणलाई दोष दिएको छ। ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङ भन्छन्, ‘‘लक्ष्यअनुसार टिकट विक्री नभएकाले हामीलाई कार्यक्रम गर्न असुविधा भयो, बजेट बनाउन सरकारी संयन्त्र पनि व्यस्त हुने भयो, अब भारतीय कलाकारहरूसँग छलफल गरेर अर्को मिति चाँडै तय गर्नेछौँ।’’

आफ्नो असक्षमता ढाकछोपको लागि आयोजकले चुनाव, बजेट र वर्षालाई दोष लगाएको हो। तर त्यसमा सत्यता देखिदैन। किनकि जेठ १५ मा बजेट आउनु पूर्वनिधारित मात्र नभएर संवैधानिक व्यवस्था हो। स्थानीय चुनाव पनि अभूतपूर्व होइन, यसको जानकारी आयोजकलाई नभएको होइन। वर्षाको कारण कार्यक्रम स्थगित गर्नुपर्ने कारण नै नभएको जानकारहरू बताउँछन्।

‘दबंग टुर रिलोडेड’ कार्यक्रमको लागि गरिएको प्रचार

‘पोडक्सन कष्ट’ र सलमानलाई दिने पैसा भएन

कार्यक्रमको लागि भारतीय व्यवस्थापक टिमले ‘पोडक्सन कष्ट’ भन्दै सोमबारसम्म ५ करोड नेपाली रुपैयाँ पठाइदिन भनेका थिए। उक्त दिनसम्म पैसा पठाउन नसकेपछि एक दिन थप गरिएको थियो। मंगलबारसम्म पनि आफूहरूले पैसा पठाउन नसकेपछि कार्यक्रम स्थगित भएको आयोजक ओडीसी इन्टरटेनमेन्टमा एक कर्मचारीले बताए।

‘‘कार्यक्रम व्यवस्थापनको लागि, स्टेज, साउन्ड सिस्टम, लाइटलगायत अन्य व्यवस्थापनको सामाग्री तथा अपरेटर तथा कर्मचारीको पारिश्रमिक बापतको खर्च मंगलबारसम्म पठाइदिन सलमानले भनेका थिए। ढिलोमा मंगलबारसम्म पैसा पठाइदिएमा उताबाट सामान पठाउने भनिएको थियो। उताबाट सामान काठमाडौं आउन २ दिन समय लाग्ने र २ दिनको समय लगाएर सेट अप गर्ने योजना थियो,’’ ती कर्मचारीले नेपालभ्यूजसँग भने, ‘‘तर, कार्यक्रम शुरु हुनु दुई दिनअघि सलमान खानको लागि पूरै पैसा पठाइदिनुपर्ने भनिएको थियो। यी सबै पैसाको जोहो गर्न नसक्दा कार्यक्रम गर्न सकेनौँ।’

‘दबंग टुर रिलोडेड’ कार्यक्रमको लागि गरिएको प्रचार

दर्शकलाई विश्वास दिलाउन सकेनन् आयोजकले

यसअघि सलमान खानलाई २६ फागुन २०७४ मा नेपालमा ल्याउने भनिएको थियो। त्यो बेलामा पनि यसै गरी पैसाको जोहो गर्न नसक्दा कार्यक्रम रद्द भयो। तर, आयोजकले कार्यक्रम रद्द हुनुको दोष विप्लव नेतृत्वको नेकपा माओवादीलाई दिँदै पन्छिएका थिए।

आयोजक टिमका एक सदस्यले नेपालभ्यूजसँग भने, ‘‘पहिला एकपटक पनि सलमान खानलाई ल्याउने भन्दै टिकट विक्री गरियो। पछि कार्यक्रम गर्न सकेनन्। यस पटक पनि सलमानको कार्यक्रम होला वा नहोला भन्ने दोधारमा दर्शकहरू रहेकाले अपेक्षाकृत टिकट विक्री भएन। टिकट काटेपछि कार्यक्रम नभइदिए पैसा फिर्ता नपाइएला भनेर पनि धेरैले टिकट नकाटेको पाइयो। टिकट बिक्री नभएपछि आयोजकलाई पैसा भएन। पैसा नभएपछि पोडक्सनको पैसा पठाउन सकेनन् र स्थगित भएको घोषणा गरे।’’

अघिल्लो पटक पनि सलमान खान ल्याउने भन्दै यही आयोजकले कार्यक्रम घोषणा गरेको थियो। सो कार्यक्रमको पोस्टर।

सलमान खानलाई नेपाल ल्याएर कार्यक्रम गर्छन् भनेर अधिकांश दर्शकहरूले पत्याएका थिएनन्। त्यो अन्योल चिर्न  आयोजकले होटेल सोल्टीमा सलमानका भाइ सोहेल खानलाई निम्त्याएर पत्रकार सम्मेलनसमेत गरेको थियो।

त्यति मात्र नभई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र सलमान खानबीच भिडिओ कन्फरेन्स गराइयो। मन्त्री आलेसमेतको उपस्थितिमा पत्रकार सम्मेलन गरिएको थियो। जसको पहिलो टिकट आलेलाई नै कटाइएको थियो। उनले पाँच हजार रुपैयाँको टिकट काटेका थिए।

कार्यक्रम हुन्छ भनेर दर्शकलाई विश्वास गर्ने आधार बनाउने यो फन्डा पनि सफल नभएपछि कार्यक्रम स्थगित गरिएको आयोजक ओडीसी इन्टरटेनमेन्टका सीमान्त गुरुङका एक साथीले बताए।

कार्यक्रमको प्रचारको लागि पर्यटन मन्त्री प्रेम आले र सलमान खानबीच भिडिओ कन्फरेन्स गर्दाको फोटो

टिकटको रकम फिर्ता लिन आग्रह

पटकपटक कार्यक्रम घोषणा गर्दै स्थगित गर्दै आएको ओडीसी इन्टरटेनमेन्टले फेरि अर्को मितिमा कार्यक्रम गर्ने बताएको छ। नयाँ मितिमा हुने कार्यक्रमका लागि यही टिकटले काम गर्ने भनिएको छ।

यद्यपि, टिकटलाई निरन्तरता दिन नचाहनेले ‘प्रभू पे’ टेक्नोलोजीमार्फत फिर्ता लैजान समेत आग्रह गरेको छ। ‘टिकट निरन्तर गर्न नचाहनेले आफ्नो टिकट लगेर रकम फिर्ता लिनुहुन अनुरोध गर्दछौँ,’’ आयोजक संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘टिकट फिर्तामा कुनै समस्या आएमा ९८१३१७४८८८ मा सम्पर्क गरी रकम फिर्ता बारे निःशुल्क जानकारी लिन वा केन्द्रीय कार्यालय लाजिम्पाटमा आउन आग्रह गर्दछौँ।’’


Comment

One thought on “दर्शकले नपत्याएपछि आएनन् सलमान खान

  1. बर्षा चुनाव भन्ने त बहाना मात्रै हुन खासमा दर्सकले सल्मान खानलाई नरुचाएका हुन ! बरु आयोजकले साउथ बाट अल्लु, प्रभास ,यशलाई निम्त्याएमा 9 हैन दसै करोडको टिकट बिक्ने मा म ठोकुवा गर्छु ! 😀

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved