मतदान केन्द्र निर्माण गरिँदै (तस्वीरहरू)

शुुक्रबार हुने स्थानीय निर्वाचनको लागि काठमाडौं उपत्यकासहित देशभरका सबै केन्द्रमा चुनावी तयारी पूरा भइसकेको छ। सुरक्षाकर्मी र कर्मचारीहरू निर्वाचन केन्द्र र मतदान स्थलमा खटिसकेका छन्।

मतदान केन्द्र निर्माण गरिँदै (तस्वीरहरू)

काठमाडौं। चाैरमा लहरै बाँस गाडिएको छ। बाँसमा डोरी टाँगेर घेरबार लगाइँदै छ। कोही बाँस गाड्नको लागी जमिनमा खाल्डो खन्दै छन्। कोही डोरी टाँग्दै छन्। कोही टेन्ट र त्रिपालको पनि जोहो गर्नुपर्ने भन्दै आपसमा कुरा गर्दै छन्।

अर्कोतर्फ एउटा डेस्क राखिएको छ। डेस्कमा मतदाता परिचयपत्रको बिटो राखिएको छ। केही मानिसहरू मतदाता परिचयपत्र लिन लाइनमा छन्। काठमाडौं महानगरपलिकाको वडा नम्बर ५ स्थित सानो गौचरण मतदान स्थलको मध्याह्न १२ बजेको दृश्य हो यो। जहाँ दुई वटा ‘क’ र ‘ख’ दुई मतदान केन्द्र बन्दैछन्।

यो वडामा तीन वटा मतदान केन्द्र छन्। सानो गौचरणसहित वाड समितिको कार्यालय भीमसेन मन्दिर र टंगाल माविमा पनि मतदान केन्द्र छ। काठमाडौं ५ मा ५ हजार ९ सय ९९ मतदाता छन्। यी तीन वटै मतदान केन्द्रमा बिहानैदेखि चहलपहल बढेको छ । सुरक्षाकर्मी घेरबार लगाउन व्यस्त छन्। मतदान केन्द्रमा खटिएका कर्मचारी मतदाता परिचयपत्र वितरणमा लागेका छन्। मतदान अधिकृतहरू विभिन्न कागजात तथा मतपत्र मिलाउन व्यस्त छन्।

आफूहरू बुधबारदेखि मतदानस्थलमा खटिएका एक मतदान अधिकृतले बताए। उनले नेपालभ्यूजसँग भने, ‘‘मतदान केन्द्रस्थल हेर्न हिजै आएका थियौ। आज सामग्री लिएर आएका हौँ। मतदान केन्द्र व्यवस्थापनमा जुटिरहेका छौँ। साँझसम्म सबै तयारी पूरा हुन्छ।’’

मतपत्र लिन आएका नयाँ मतदाताहरूलाई नमुना मतपत्रमा भोट हाल्न सिकाएको र मतदाताहरूले सिक्न चाहेका निर्वाचन सम्बन्धी अन्य जानकारी पनि दिइएको उनले बताए।

यस्तै कोरोना महामारी अझै अन्त्य भइनसकेकोले मतदान स्थलमा स्वास्थ्यकर्मी पनि खटिने ती मतदान अधिकृतले बताए। मास्क, स्यानिटाइजर प्रयोगलगायत स्वास्थ्यका मापदण्ड पालना गराउन हरेक मतदान केन्द्रमा एक स्वास्थ्यकर्मी परिचालन गरिने उनले बताए। मतदानस्थलमा हुने भिडभाडका कारण कोभिड संक्रमण बढ्ने जोखिमका कारण स्वास्थ्य मापदण्ड पालना गराउन स्वास्थ्यकर्मी परिचालन गर्न लागेको बताइएको छ।

शुुक्रबार हुने स्थानीय तह सदस्यको निर्वाचनको लागि काठमाडौं उपत्यकामा सबै केन्द्रमा चुनावी तयारी पूरा भइसकेको छ। सुरक्षाकर्मी र कर्मचारीहरू निर्वाचन केन्द्र र मतदान स्थलमा खटिसकेका छन्।

मतदाता कहाँ कति? मतदान केन्द्र कति?

शुक्रबार देशभर एकै चरणमा निर्वाचन हुनेछ। निर्वाचन आयोगका अनुसार आगामी स्थानीय निर्वाचन नेपालको निर्वाचन इतिहासमै सबैभन्दा बढी मतदाता रहेको निर्वाचन हुनेछ। तथ्यांकअनुसार निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता सहभागी हुन पाउनेछन् ।

यसअघि नेपालमा सम्पन्न भएका निर्वाचनमा सबैभन्दा बढी मतदाता २०६४ सालको संविधानसभा निर्वाचनमा थिए । सो निर्वाचनमा कुल मतदाता सङ्ख्या १ करोड ७६ लाख ११ हजार ८३२ थियो। यो निर्वाचनका लागि नाम लेखाएका मतदातामध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५३० जना महिला र १८३ जना अन्य रहेका छन्।

आयोगले स्थानीय तह निर्वाचन सम्पन्न गर्न देशभर १० हजार ७५३ मतदान स्थलअन्तर्गत २१ हजार ९५५ मतदान केन्द्रहरू राख्ने निर्णय गरेको छ। आगामी स्थानीय निर्वाचनमा सबैभन्दा बढी मतदाता भएको जिल्लामा मोरङ रहेको छ। मोरङमा ७ लाख १५ हजार २२३ जना मतदाता रहेका छन्। मोरङपछि झापा र काठमाडौँमा सबैभन्दा बढी मतदाता रहेका छन्। झापामा ६ लाख ४६ हजार २३४ र काठमाडौँमा ६ लाख ३७ हजार ७७५ जना मतदाता रहेका आयोगले जनाएको छ।

यो निर्वाचनमा सबैभन्दा कम मतदाता सङ्ख्या मनाङ, मुस्ताङ र डोल्पामा छन्। आयोगका अनुसार मनाङमा ६ हजार ४९६, मुस्ताङमा १० हजार ४८५ र डोल्पामा २२ हजार ४४० जना मतदाता रहेका छन्। आगामी निर्वाचनमा सबैभन्दा बढी मतदाता रहेका स्थानीय तहमा काठमाडौं, पोखरा र भरतपुर महानगरपालिका छन्। काठमाडौँमा ३ लाख २४२, पोखरामा २ लाख ७ हजार ७१२ र भरतपुरमा १ लाख ८५ हजार ७५२ जना मतदाता रहेको आयोगले जनाएको छ।

सबैभन्दा कम मतदाता रहेका स्थानीय तहमा नार्पा भूमि गाउँपालिका (मनाङ), चामे गाउँपालिका (मनाङ) र छार्का ताङसोङ गाउँपालिका (डोल्पा) रहेका छन्। नार्पा भूमिमा ४४८, चामेमा ७११ र छार्का ताङसोङमा ९६७ मतदाता रहेका छन्।

बढी मतदान केन्द्र मोरङ, काठमाडौँमा

यसपटक सबैभन्दा बढी मतदान केन्द्र मोरङ, काठमाडौं र झापा जिल्लामा रहेका छन्। मोरङमा ८२०, काठमाडौँमा ७५९ र झापामा ७५५ वटा मतदानकेन्द्र रहेको निर्वाचन आयोगले बताएको छ। यस्तै, सबैभन्दा कम मतदाता रहेका जिल्लामा मनाङ, मुस्ताङ र रुकुम–पूर्व रहेका छन्। मनाङमा २८, मुस्ताङमा ३८ र रुकुम–पूर्वमा ४९ वटा मतदान केन्द्र राख्ने निर्णय आयोगले गरेको छ।

प्रदेशहरूमा सबैभन्दा बढी मतदान केन्द्र मधेश, बाग्मती र प्रदेश १ मा रहेका छन्। आयोगका अनुसार मधेस प्रदेशमा ४ हजार १८९, बाग्मती प्रदेशमा ४ हजार ९५ र प्रदेश १ मा ४ हजार ५१ वटा मतदान केन्द्र रहनेछन्। सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ३८५, सुदूरपश्चिम प्रदेशमा २ हजार १०३ र गण्डकी प्रदेशमा २ हजार ३०० मतदान केन्द्र रहनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved