मावि तहको परीक्षामा ३४ कोटामा एक जना पनि उत्तीर्ण भएनन्

यति धेरै कोटा रिक्त भएको आयोगको इतिहासमै पहिलो पटक

नेपालभ्युज

मावि तहको परीक्षामा ३४ कोटामा एक जना पनि उत्तीर्ण भएनन्

काठमाडौं । शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तहको सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा विभिन्न विषयका ३४ वटा कोटा रिक्त भएका छन् ।

परीक्षामा सहभागीमध्ये एक जना पनि उत्तीर्ण नभएपछि ती कोटा रिक्त भएका हुन् । रिक्तमध्ये मधेश प्रदेशका सबैभन्दा धेरै (२९ वटा) कोटा रिक्त भएका छन् । विज्ञान र नेपाली विषयमा धेरै अनुत्तीर्ण छन् । रिक्त कोटाका लागि आयोगले अर्को परीक्षा सञ्चालन गर्नुपर्छ ।

मधेशमा नेपाली विषयमा ३२ जना शिक्षकका लागि आवेदन आह्वान गरिएकोमा २६ जना मात्रै उत्तीर्ण भए । सोही प्रदेशमा गणित विषयमा १७ जना माग गरिएकोमा १५ जना मात्रै उत्तीर्ण भए । मधेश प्रदेशमै विज्ञान विषयमा २२ जना माग गरिएकोमा सात जना मात्रै उत्तीर्ण भएको शिक्षक सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले जानकारी दिए।

अर्थशास्त्र विषयमा गण्डकी प्रदेशका लागि दुई जना माग गरिएकोमा एक जना मात्रै उत्तीर्ण भए । लुम्बिनी प्रदेशमा एक जना माग गरिएकोमा एक जना मात्रै उत्तीर्ण भए । कार्यालय सहायक तथा लेखा विषयमा मधेशमै पाँच जना माग गरिएकोमा दुई जना मात्रै पहिलो चरणको परीक्षामा उत्तीर्ण भएका छन् ।

स्वास्थ्य विषयमा मधेशमा एक जना माग गरेकोमा कोही पनि उत्तीर्ण नभएको आयोगले जनाएको छ । शुक्ल यजुर्वेद विषयमा मधेशमा एक जना मात्रै माग गरिएकोमा कोही पनि उत्तीर्ण भएनन् । गण्डकी प्रदेशमा भने यो विषयमा एक जना माग गरेकोमा एक जना मात्रै उत्तीर्ण भए ।

संस्कृत व्याकरणका लागि मधेश र बागमती प्रदेशका लागि एक/एक जना माग गरिएकोमा कोही पनि उत्तीर्ण भएनन् । संस्कृत भाषामा प्रदेश १ का लागि एक जना र सुदूरपश्चिम प्रदेशका लागि दुई जना माग गरिएकोमा कोही पनि उत्तीर्ण नभएको मरहट्ठाले बताए । संस्कृत साहित्यका लागि लुम्बिनी प्रदेशमा एक जना माग गरिएकोमा परीक्षामा सहभागीमध्ये कोही पनि उत्तीर्ण भएनन् ।

आयोगले सञ्चालन गरेको यो पहिलो चरणको परीक्षा मात्रै हो । दोस्रो चरणको परीक्षामा उत्तीर्ण भएर अन्तर्वार्तामा पनि सफल भएपछि मात्रै प्रतिस्पर्धी शिक्षण पेसामा प्रवेश गर्न पाउँछन् । विद्यार्थीको पढाइको जग बसाउने विद्यालय तहको शिक्षक छनोट गर्ने परीक्षामा यति धेरै कोटा रिक्त भएको आयोगको इतिहासमै पहिलो पटक हो ।

माग गरिएको कोटा र उत्तीर्णको सङ्ख्या बराबर रहेका विषय थुप्रै छन् । यो घटनाले आयोगले सञ्चालन गर्ने परीक्षा प्रणालीमै सुधार गर्नुपर्ने एकथरीको आवाज छ । अर्कोथरीले प्रतिस्पर्धीमा पठन संस्कृतिको अभाव रहेकोले यस्तो नतिजा आएको विश्लेषण गर्नुभएको छ । शिक्षाविद् प्राध्यापक डा। विद्यानाथ कोइरालाले परीक्षा प्रणाली र प्रतिस्पर्धीको घोकन्ते शैली दुवै परिमार्जन गर्नुपर्ने बताए ।

आयोग अध्यक्ष मधुप्रसाद रेग्मीले भने शिक्षक परीक्षालाई सामान्य रूपमा बुझ्ने गलत प्रवृत्तिका कारण उत्तीर्णको सङ्ख्या कम भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको नतिजाले शिक्षक परीक्षा पनि कडाइ र प्रतिस्पर्धी हुन थालेको छ भन्ने सन्देश गएको छ ।”

आयोगले १४ विषयका शिक्षक छनोटका लागि गत चैत १५ गते परीक्षा सञ्चालन गरेको थियो । सबै विषयका सहित कुल एक हजार ५५२ कोटाका लागि ३२ हजार ९७ जनाले परीक्षामा प्रतिस्पर्धा गरेका थिए । जसमध्ये तीन हजार ८४६ जना मात्रै उत्तीर्ण भएका थिए ।

आजको गोरखापत्र दैनिकबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved