विवेकशील साझाकी समीक्षा बास्कोटाको घरदैलौ : न तामझाम न कार्यकर्ता

विवेकशील साझाकी समीक्षा बास्कोटाको घरदैलौ : न तामझाम न कार्यकर्ता

काठमाडौं । वैकल्पिक राजनीतिको नारा बोकेर उदाएको विवेकशील साझा पार्टीको निर्वाचन अभियान फितलो देखिँदै गएको छ। उक्त पार्टीले काठमाडौंको क्षेत्रपाटी क्षेत्रमा बुधबार  गरेको घरदैलो कार्यक्रममा पार्टीका नगन्य व्यक्ति सहभागी भेटिए। कुनै उत्साह देखिँदैनथ्याे ।

२०७४ सालको स्थानीय निर्वाचनमा काठमाडौंका जनतामा उत्साहप्रद प्रचारप्रसार गरेको थियो ।  पार्टीको अहिलेको चुनावी कार्यक्रम भने सामान्यमै सीमित बनेको छ।

गत स्थानीय तहको निर्वाचनमा यो पार्टी अलग–अलग दल थियो। अघिल्लो पटक एक्लाएक्लै चुनावमा गए पनि दुई दलले काठमाडौंका जनता अहिले एक हुँदाभन्दा बढी तान्न सफल भएको थियो। यो पटक पनि काठमाडौं महानगरपालिकासहित देशका विभिन्न स्थानमा विवेकशील साझाले मेयरसहित विभिन्न पदमा उम्मेदवारी दिएको छ। तर निर्वाचन प्रचारमा भने अघिल्लो पटकजस्तो रौनक देखिएको छैन।

२०७४ को स्थानीय तह निर्वाचनमा विवेकशील पार्टीबाट काठमाडौंको मेयरमा रञ्जु दर्शनाले प्रतिस्पर्धा गरेकी थिइन् भने साझा पार्टीबाट किशोर थापा प्रतिस्पर्धामा थिए। त्यसबेलाजस्तो उत्साह पार्टीले सञ्चार गर्न सकेको देखिएन।

दर्शनाले २३ हजार बढी मत प्राप्त गर्दा थापाले १८ हजार बढी मत प्राप्त गरेका थिए। तर, अहिले विवेकशील साझाबाट काठमाडौंको मेयर पदमा प्रतिस्पर्धी समीक्षा बास्कोटाको चुनावी र्‍यालीले अघिल्लो पटकजस्तो गर्न सकेको देखिएन।

यस विषयमा प्रश्न गर्दा बास्कोटा भन्छिन्, “हाम्रो पार्टीलाई जनताले पत्याइसकेको अवस्था छ। अघिल्लो स्थानीय निर्वाचनमा हाम्रो पार्टीले प्राप्त गरेको मतले पनि त्यो स्पष्ट पार्छ। हामीसँग निर्वाचन अभियानमा मान्छे कम हुँदैमा हाम्रो पक्षमा जनलहर नभएको भन्न मिल्दैन।”

बास्कोटाको निर्वाचन अभियानमा कम मान्छे देखिनु एउटा पक्ष हो। तर उनका सबल पक्ष पनि छन्। त्यो भनेको घरदैलोका क्रममा मतदातासँगको सक्षात्कार हो। ठूला पार्टीका उम्मेदवारले घरदैलोका क्रममा टाढैबाट हात हल्लाए पनि उनी भने घरघर पुगेकी छन्।

घरदैलो कार्यक्रममा क्षेत्रपार्टीका स्थानीयसँग बास्कोटाको साक्षात्कार देखियो। मतदाताले उनीसँग साक्षात्कार गरे पनि बास्कोटासँग उनीहरूको खास अपेक्षा भने केही पाइएको देखिएन।

त्यहाँ भेटिएका एक स्थानीयले भने, “ठूला–साना गरी अहिलेसम्म चार ओटा पार्टीले हाम्रो क्षेत्रमा आइसके। सानो पार्टीका योजना केही राम्रो सुनिए पनि निर्वाचन जित्ने ठूलो पार्टीले नै हो। त्यसैले साना पार्टीसँग केही अपेक्षा छैन।”

ठूला पार्टीको जस्तो विवेकशील साझाको चुनावी अभियानमा तामझाम देखिएन। चुनावी प्रचारका लागि ठूलो क्षेत्रमा पुग्नुपर्ने दबाबमा पनि उनीहरू देखिएनन्। यसअघिको निर्वाचनमा धेरै मत प्राप्त गरेको स्थानमा उनीहरू बढी केन्द्रित देखिए। त्यसैले चुनावी प्रचारका लागि घरदैलो कार्यक्रम गर्दा उनीहरू त्यही स्थानमा बढी केन्द्रित देखिन्छन्, जुन स्थानबाट बढी मत पाउने उनीहरूलाई अपेक्षा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved