म्याग्दीमा चार जना पूर्वसञ्चारकर्मी चुनावी मैदानमा

नेपालभ्युज

म्याग्दीमा चार जना पूर्वसञ्चारकर्मी चुनावी मैदानमा

बेनी। आसन्न स्थानीय तह चुनावमा म्याग्दीका चार पूर्वसञ्चारकर्मी उम्मेदवार बनेका छन्। नेपाल पत्रकार महासंघ म्याग्दीका चार सदस्यमध्ये तीनजना नेकपा (एमाले) र एकजना नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार बनेका हुन्।

महासंघको दुई कार्यकाल शाखा अध्यक्ष रहेका सुरत केसीलाई एमालेले बेनी नगरपालिकाको प्रमुखको उम्मेदवार बनाएको छ। यसैगरी साधारण सदस्य प्रेमबहादुर कार्की पनि एमालेबाट रघुगङ्गा गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका छन्।

शाखाका साधारण सदस्य लोकनाथ भुसाल पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवाको वडाध्यक्षको उम्मेदवार बनेका छन्। भुसाललाई एकीकृत समाजवादीले उम्मेदवार बनाएको हो।

यसैगरी शाखाका साधारण सदस्य राजकुमार थापा बेनी नगरपालिका–१ को वडा सदस्यमा एमालेबाट उम्मेदवार बनेका छन्। केसी एमालेको जिल्ला सचिव, थापा उपसचिव, कार्की सचिवालय सदस्य तथा रघुगङ्गा गाउँपालिका कमिटी अध्यक्ष हुन्।

नेपाल पत्रकार महासङ्घको विधानअनुसार कुनै पनि राजनीतिक दलको पदाधिकारी र चुनावमा उम्मेदवार बनेमा साधारण सदस्य खारेज हुने व्यवस्था छ। महासंघको केन्द्रीय समितिको निर्देशनअनुसार उम्मेदवार बनेका चारै जनाको विवरण केन्द्रीय समितिमा पठाइएको म्याग्दी शाखाले जनाएको छ।

म्याग्दीमा हाल पत्रकार महासंघको ६२ साधारण सदस्य छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved