गोहीका ५१९ अण्डा संकलन

प्रजनन् केन्द्रमा भाले बुढो भएका कारण बच्चा नकोरलिएको हुनसक्ने अनुमान छ। प्रजनन् केन्द्रमा रहेका अन्य गोही साना भएकाले भाले पोथी पहिचान हुन सकेका छैनन्।

नेपालभ्युज

गोहीका ५१९ अण्डा संकलन

चितवन। चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीबाट घडियालका ५१९ ओटा अण्डा संकलन गरिएको छ। ती नदी किनारमा भेटिएका १६ ओटा गुडबाट अण्डा संकलन गरिएको हो।

निकुञ्जभित्र रहेको गोही प्रजनन् केन्द्र हेर्दै आएका सरोजमणि पौडेलका अनुसार राप्तीका १० गुड र नारायणीका ६ गुडबाट अण्डा संकलन गरिएको हो।

ती दुई नदीमा भेटिएकामध्ये आठ ओटा गुडका अण्डा ल्याइएको छैन। ती दुई नदीबाट गत वर्ष ४३६ ओटा अण्डा ल्याइएको थियो। ती अण्डाबाट २५८ ओटा बच्चा कोरलिएका थिए।

विगत दुई वर्षदेखि प्रजनन् केन्द्रमा पारेका अण्डाबाट बच्चा कोरलिएका छैनन्। त्यहाँ २०३५, २०३६ र २०३७ सालका एक भाले र १२ ओटा पोथी गोही छन्। त्यसयताका साना ठूला गरी ५३१ गोही रहेका पौडेलले जानकारी दिए।

प्रजनन् केन्द्रमा भाले बुढो भएका कारण बच्चा नकोरलिएको हुनसक्ने अनुमान छ। प्रजनन् केन्द्रमा रहेका अन्य गोही साना भएकाले भाले पोथी पहिचान हुन सकेका छैनन्।

पौडेलका अनुसार राप्ती र नारायणी नदीमा भने पाँच ओटा भाले गोही देखिएका छन्। नदीमा भाले गोही नदेखिएपछि केही वर्षअघि बबईबाट एउटा भाले ल्याइएको थियो। राप्ती र नारायणी नदीमा अण्डा संकलन गरी बच्चा कोरलेर हुर्काएर नदीमा छोड्ने गरिएको छ।

हालसम्म राप्ती, नारायणी, कोसी र बबई नदीमा एक हजार ६९२ गोही छाडिसकिएको छ। निकुञ्जले विसं २०३५ मा गोही प्रजनन् केन्द्र स्थापना गरी प्रजनन् केन्द्रमा हुर्काइएका गोहीका बच्चा नदीमा छाड्दै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved