स्थानीय जनप्रतिनिधिलाई उदाहरण बन्नसक्छ स्पेनको यो गाउँ

बसाइँसराइका कारण रित्तिएको गाउँलाई पुस्तक पर्यटनको केन्द्र बनाएपछि जाग्दै गरेको स्पेनी गाउँ उर्वेइना नेपालका स्थानीय जनप्रतिनिधिलाई पनि उदाहरण बन्नसक्छ।

नेपालभ्युज

स्थानीय जनप्रतिनिधिलाई उदाहरण बन्नसक्छ स्पेनको यो गाउँ

काठमाडौं। स्थानीय तहको निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारका आ-आफ्नै नारा छन्। आश्वासनका अनेकौं पोका पनि। तर समस्याका चाङ पनि उत्तिकै छन्। तीमध्ये एउटा ठूलो चुनौती हो, आन्तरिक बसाइँसराइ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले पहाड र गाउँको जनसंख्या घट्दै गएको देखाउँछ। २०६८ सालको जनगणना हुँदा पहाडी क्षेत्रमा जनसंख्याको ४३.०१ प्रतिशत बस्थे भने अहिले ४०.२५ प्रतिशत मात्रै। हिमाली क्षेत्रको जनसंख्या ६.७३ प्रतिशतबाट घटेर ६.०९ प्रतिशत पुगेको छ। जबकि यही समयावधिमा तराईको जनसंख्या ५०.२७ प्रतिशतबाट बढेर ५३.६६ प्रतिशत पुगेको छ। त्यस्तै यी १० वर्षमा गाउँको जनसंख्या ३६.८१ प्रतिशतबाट घटेर ३३.९२ प्रतिशत पुगेको छ। जबकी शहरी जनसंख्या ६३.१९ प्रतिशतबाट बढेर ६६.०८ प्रतिशत पुगेको छ।

यी आँकडाको सार हो, हाम्रा पहाडी गाउँहरूबाट बसाइँसराइ हुने गति तीव्र छ। गाउँ–गाउँमा सडक पुगेका छन् तर तिनले मानिसलाई अडाउन सकेका छैनन्। रित्तिँदै गरेका गाउँलाई उसैगरी भरिभराउ बनाउनुपर्ने चुनौती स्थानीय तहमा निर्वाचित भइ आउने नयाँ जनप्रतिनिधिहरूले सामना गर्नुपर्नेछ। उनीहरूका लागि स्पेनको उत्तरपश्चिमी गाउँ उर्वेइना उदाहरण बन्नसक्छ।

बाह्रौं शताब्दीमा बनेको पर्खालले घेरिएको यो गाउँ रित्तिसकेको छ। अहिले पनि त्यहाँ वर्षैभरि बस्ने बासिन्दा जम्मा एक सय जना छन्। स्थानीय विद्यालयमा पढ्ने विद्यार्थी जम्मा नौजना छन्। गाउँमा न मासु पसले छन् न त पाउरोटी पसले नै।

इतिहासको स्मृति बोकेर रुग्ण अवस्थामा बाँचिरहेको यो गाउँको पछिल्लो दशकमा कायापलट भएको छ। पछिल्लो दशकदेखि यो गाउँ पुस्तक पर्यटनको केन्द्र बनेको छ।

स्पेनको भ्यालाडोलिड प्रान्तको चर्चित शहर म्याड्रिडबाट करीब ३० माइलको दूरीमा रहेको यो गाउँमा सन् २०२१ मा कोभिड महामारीको समयमा पनि १९ हजार पर्यटक पुगेका थिए। त्यहाँको पर्यटन कार्यालयका अधिकारीहरू त कतिपय पर्यटकले नाम नै दर्ता नगराउने भएकाले यो संख्या अझै बढी हुनसक्ने बताउँछन्।

सुनसान, परित्यक्त सरह यो गाउँको कायाकल्प भने पुस्तक पर्यटनले ल्याएको हो। अहिले त्यहाँ रहेका ११ ओटा पसलले पुस्तक बेच्छन्। तीमध्ये नौ ओटा पुस्तक पसल मात्रै हन्।

सन् २००७ मा प्रदेश सरकारले गाउँका भवनहरू पुननिर्माण गरी किताब पसल बनाउन तथा प्रदर्शनी केन्द्रहरू निर्माण गर्न तीन करोड युरो छुट्याएपछि उर्वेइनाको यो कायाकल्प शुरु भएको हो।

अहिले त्यहाँ पुस्तक पसल सञ्चालनका लागि प्रतिमहिना १० युरोमात्र लिइन्छ। यो सांकेतिक भाडामात्रै हो।

अहिले देशका अन्य ठाउँबाट पनि पुस्तक पसल गर्न जानेहरू बढेका छन्। भाडा अत्यन्त सस्तो भएकाले उनीहरू त्यहाँ जान थालेका हुन्। तीमध्ये एक हुन्, लोपेज–बाचिलर। ४७ वर्षे बाचिलरले सेकेन्ड ह्यान्ड पुस्तक पसल चलाएका छन्। त्यतिमात्र नभई उनको पसलमा ज्याक केरोउक, जे.आर.आर टोल्किन लगायतका लेखकले प्रयोग गरेका पुराना मोडलका टाइपराइटर पनि राखिएका छन्।

सेकेन्ड ह्यान्ड पुस्तक पसल चलाएका लोपेज–बाचिलर

यो कायाकल्पले गाउँको गौरव बढाएको त्यहाँका मेयरको अनुभव छ।

“म जन्मेको गाउँमा पुस्तक पसल थिएन। मानिसहरू किताबमा भन्दा बढी खेतीपाती र पशुपालनमा ध्यान दिन्थे। यो परिवर्तन अनौठो त छ तर यसले यो सानो गाउँलाई सांस्कृतिक केन्द्र हुने गौरव दिलाएको छ”, उर्वेइनाका ५३ वर्षीय मेयर फ्रान्सिस्को रोड्रिग्युज भन्छन्।

– २१ अप्रीलमा ‘द न्यू योर्क टाइम्स’मा प्रकाशित समाचारका आधारमा तयार पारिएको।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved