प्रिय पात्र

दोहोर्‍याएर पढ्छु कतिपय उपन्यास

दोहोर्‍याएर पढ्छु कतिपय उपन्यास

पछिल्लो समय मैले सुप्रसिद्ध लेखिका पारिजातको उपन्यास ‘शिरीषको फूल’ पुनः पढेँ।

‘शिरीषको फूल’ को प्रमुख पात्र हुन्– सकम्बरी। पारिजातले सकम्बरीको मनोदशालाई यसरी केलाएकी छन्, उनले निकै गहिराइमा पुगेर शाश्वत जीवनका पक्षलाई मिहीन रुपले उतारेकी पाएँ। यो उपन्यासको पुरुष पात्रले सकम्बरीप्रति जुन प्रेम–आशक्ति देखाएका छन्, त्यसमा मानव जीवनको उत्कर्ष रुप पर्गेल्न सकिन्छ।

‘शिरीषको फूल’ मैले पहिला पनि पढेको थिएँ। मलाई सम्झना छ, यो उपन्यास पहिलो पटक मैले २०४२-०४३ सालतिर पढेको हुँ। त्यतिबेला मैले भर्खरै एसएलसी उत्तीर्ण गरेको थिएँ। पहिलो पटक पढ्दा भने मैले खासै बुझेको थिइनँ। पछिल्लो पटक अध्ययन गर्दा भने छर्लङ्गै बुझेँ।

उपन्यासकार दौलतविक्रम विष्टको ‘भोक र भित्ताहरू’ का पात्र हर्के साइँला पनि मलाई मन पर्ने पात्र हुन्। उक्त उपन्यासमा तत्कालीन समयको काठमाडौं उपत्यकाभित्रको सामाजिक जीवनको गजबको चित्रण गरिएको छ। विष्टले उपन्यासका पात्रहरूलाई जसरी सचित्र रुपमा उभ्याएका छन्, त्यसले तत्कालीन समयका मानिसहरूका मनोदशालाई केलाउन सक्षम देखिन्छन्।

पारिजातकै अर्को उपन्यास ‘तोरी बारी बाटा र सपनाहरू’ का पात्र पनि मलाई मन परेका पात्र हुन्। पञ्चायतकालको मध्यान्तरतिर विद्यार्थी आन्दोलन चर्कियो। विद्यार्थी आन्दोलनले देशमा परिवर्तनको रुपरेखा कोर्न सघाउ पुर्‍यायो। यही कथावस्तु र पृष्ठभूमिमा उभिएर यो उपन्यास लेखिएको देखिन्छ।

जब अहिले म यो उपन्यासलाई सम्झिन्छु– तत्कालीन समय र वर्तमान समयबीचको अन्तर केलाउन चाहन्छु। यो उपन्यास जुन बेला लेखियो, त्यसयता समय धेरै बितिसकेको छ। तर अहिले यो उपन्यास पढ्दा तत्कालीन समयको आन्दोलनको झर्झराउँदो अवस्था सामुन्ने आउँछन्।

धुस्वाँ सायमीको ‘गंकी’ पनि मलाई मन परेको उपन्यास हो। मैले अध्ययन गरेका उपन्यासमध्ये ‘गंकी’ ले मलाई असाध्यै छोएको थियो। हुन त पारिजातको ‘शिरीषको फूल’ ले पार्ने प्रभाव आफ्नै किसिमको छ तर ‘गंकी’ उठाएको विषय गहन लाग्छ। तत्कालीन समय नेवार समुदायको तल्लो जातका मानिसलाई ग्रहण लागेको बेला ग्रहदशा पन्छाउन दान दिने चलनबारे उपन्यासमा उल्लेख गरिएको छ। हुन त अहिले पनि यस्तो चलन होला तर त्यो बेलाको अवस्थालाई चित्रण गर्न यो उपन्यास सफल देखिन्छ।

आहुतिको उपन्यास ‘नयाँ घर’ को नाति पात्र पनि मलाई मन परेको पात्र हो। ती पात्रले एकाबिहानै नासपतिको बोटमा पुगेर नासपति टिप्छ र आफ्नो भोक मेटाउँछ। यसमा आहुतिले म्याक्सिम गोर्कीको उपन्यासको एउटा प्लटलाई हुबहु लिएकाजस्तो लाग्छ। हुन त गोर्कीको परिवेश र आहुतिको परिवेश फरक–फरक हुन् तर पनि उनले अति राम्रोसँगले चित्रण गरेका छन्।

विदेशी साहित्यमा अमेरिकी उपन्यासकार पर्ल सी बकको उपन्यास ‘द गुड अर्थ’ को पात्र वाङलुक पनि मलाई प्रिय लाग्छ। उक्त उपन्यासमा वाङलुक र उनको बुबाको जुन प्रसंग छ, त्यो साँच्चि नै अद्भूत छ। त्यस्तै, अर्नेष्ट हेमिङ्वेको ‘द वल्ड म्यान एण्ड द सी’ का पात्रहरू पनि अद्भूत लाग्छन्।

मेरो मुख्य लेखन कविता भएको हुँदा कतिपय कविताहरू मलाई जीवन्त लाग्छन्। जसमा भूपी शेरचनको ‘घन्टाघर’, विमल निभाको ‘एउटा बाहुला नभएको बुसर्ट’ असाध्यै मन पर्छन्। ‘एउटा बाहुला नभएको बुसर्ट’ मा पञ्चायती व्यवस्थाको अन्त्य भएपछिको परिवेश र स्थितिलाई निभाले जसरी चित्रण गरेका छन्, त्यो अद्वितीय छ।

मीनबहादुर विष्टको ‘साला पहाड मे क्या है’ पनि मलाई मनपर्ने कविता हो। श्यामलको ‘ग्लोब खेलाइरहेका बाँदरहरू’ पनि मलाई मन परेको कवितामध्ये पर्दछ। कविताकै कुरा गर्दा मलाई वासु शशिको ‘यात्रा’ कविता पनि मन परेको हो भने उनकै अर्को ‘मेरो आकाशलाई लगेर हावाले माथि टाँगिदियो’ पनि हो। कलात्मक हिसाबले उनका कविताहरू निकै उच्चकोटीका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved