जनकपुरधाममा कांग्रेस वडा सभापतिहरूको चेतावनी : मेयर नपाए विद्रोह गर्छौँ

जनकपुरधाममा कांग्रेस वडा सभापतिहरूको चेतावनी : मेयर नपाए विद्रोह गर्छौँ

जनकपुरधाम। नेपाली कांग्रेसको जनकपुरधाम उपमहानगरपालिकाअन्तर्गतका अधिकांश वडाका सभापतिहरुले विद्रोहको चेतावनी दिएका छन्। कांग्रेसले मेयर नपाए सबै वडामा स्वतन्त्र उम्मेदवार खडा गर्ने निष्कर्ष बुधबार बसेको वडा समितिका सभापतिहरुको बैठकले निकालेको हो।

वडा सभापतिहरुले कांग्रेस जिल्ला सभापति योगेन्द्र पजियारलाई पनि यस विषयमा जानकारी गराइसकेका छन्।

मधेस प्रदेशको राजधानी समेत रहेको धनुषा जिल्लाको यो उपमहानगरपालिकामा २०७४ को निर्वाचनमा मधेसवादी दलको दबदबा देखिएको थियो। त्यसबेला तत्कालीन राजपाका उम्मेदवार लालकिशोर साह २१ हजार ९ सय ३ मत ल्याएर विजयी भएका थिए।

दोस्रो भएको नेपाली कांग्रेसका उम्मेदवार मनोजकुमार साहले ११ हजार १ सय ६४ मत पाएका थिए। तेस्रोमा एमालेका लक्ष्मीनारायण भगतको ४ हजार ८ सय ६५ मत थियो। उपेन्द्र यादवको पार्टी संघीय समाजवादी फोरमका उम्मेदवार विष्णु देव साहले ३ हजार ६ सय १२ मत प्राप्त गरेका थिए।

हाल मेयर साह जसपामा आवद्ध छन्। संघीय समाजवादी फोरम र राजपाको एकतापछि बनेको जसपा टुक्रिएर लोसपा गठन भएपनि उनी नयाँ पार्टीमा गएनन्।

तर राजपाबाट जितेका उपमेयरसहित सम्पुर्ण वडाध्यक्षहरु लोसपामा गए। यस्तो अवस्थामा जनकपुरमा जसपा कमजोर रहेको कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूको ठहर छ। तर, जसपाले जनकपुरधामको मेयर पद आफ्नो भागमा पर्नुपर्ने दाबी सत्ता गठबन्धनमा गर्दै आएको छ।

केन्द्रले जनकपुरधामको मेयर अरु पार्टीलाई दिए सबै वडामा कांग्रेसको उम्मेदवार खडा गर्ने र गठबन्धनको निर्णय अस्वीकार गर्ने कांग्रेसका नगर सभापति मनोजकुमार साहको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved