प्रिय कथा

मोबाइल र समय चक्र

‘एकछिन ल ! साथीसँग अमेरिकामा भिडिओ कल गर्दैछु। उसको सुत्नेबेला भयो अरे, एकछिन बोल्न देऊ न ! कतिवर्षपछि साथीलाई देख्न पाइरहेकी छु।’ आकाश हतार-हतार छोरीलाई स्कुलको ड्रेस लगाएर कपाल कोरीबाटी गरिदिन्छ। फेरि बोलाउँछ- ‘तारा ! खाना पस्किदेउ त अब।’

मोबाइल र समय चक्र

(रचनागर्भ- धेरै समय अगाडिदेखि नै समाजमा देखेको समसामयिक विषय ‘मोबाइल’ लाई लिएर कथा जन्माउने रहर थियो तर कथा नभइकन कविताको रुपमा “छोराछोरी व्यस्त छ”जन्मियो। आफू थोरै मात्रामा भए पनि सन्तुष्ट भएँ। यो थोरै सन्तुष्टले मेरो मन मानेन। कहिलेकाहीँ आफूभित्र प्रश्न उब्जिन्थ्यो। खै त तिम्रो रहर ? पूरा गरेनौ त ? गर्भमै सलबलाउँथ्यो मेरो कथा। तर जन्माउन नपाएकोमा कताकता पीडा हुन्थ्यो। विषयवस्तु फरकमा धेरै कथाहरू मबाट जन्मिए। कथाको दुईवटा संग्रह निकाल्ने मौका पाएँ। अब तेस्रो कथासंग्रह निकाल्ने सोच मन भित्रैदेखि जागेको छ। भनिन्छ नि आफूले जन्माएको छोराछोरी सबैको लागि समान र प्यारो लाग्छ। मेरो सोचाइ पनि यो भनाइसँग मिल्न जान्छ।

छोराछोरीको माया आफ्नै ठाउँमा छ। तर आफूले जन्माएको छोराछोरीले असल मान्छे बन्नु सँगसँगै आफ्नो लागि, घरपरिवार, समाज, राष्ट्रको लागि राम्रो काम गरेर देखाउँदा उसको प्रशंसा गर्नु स्वभाविक हो। कथाले पनि राम्रो सन्देश दिएमा सबैको मन अवश्य छुनेछ भन्ने हेतुले मोबाइललाई आधार बनाएर एउटा घर मात्र हैन धेरै घरको कहानी समेट्न सक्छ भन्ने उद्देश्यले मैले एउटा अर्को कथा जन्माए “मोबाइल र समय चक्र”। यस्ता पात्रहरू हाम्रा समाजमा धेरै छन् जसले सिङ्गो कथा बोकेर बाँचेका छन्। यो कथाले कतिलाई सन्देश दिन सक्छ कतिको मन छुन सक्छ यो आफ्नो ठाउँमा छ। तर म आफूलाई भन्नु पर्दा जे जस्तो भएपनि यो कथाले मलाई खुशी दिएको छ।)

विवाह भएको ७ वर्ष भइसक्यो आफ्नी श्रीमतीले त्यही पिटपिटे मोबाइल चलाएको देखेर आकाशलाई नमिठो लाग्छ। धेरै पटक भइसक्यो ‘राम्रो मोबाइल ल्याइदिन्छु त्यो पुरानो जमानाको मोबाइल नचलाउ, समय अनुसार मान्छे पनि चल्नु पर्‍यो नि’ भन्दा उसकी श्रीमतीले हाँस्दै यतिमात्र भन्ने गरेकी थिई- ‘भो ! मलाई यही पिटपिटे मोबाइल नै ठीक छ। आखिरमा फोन गर्न मिलिहाल्छ, उठाउन भइहाल्छ।’

आकाश उसको सम्वादमा आफू जोडिन पुग्छ- ‘टच स्क्रिन मोबाइल भनेको अहिलेको जमानाको मोबाइल हो। त्यो मोबाइलमा संसार अटेको छ। तिमीले संसार पढ्न र हेर्न सक्छौं, यसमा धेरै कुरा सिकिन्छ, जानिन्छ, देखिन्छ, टिभीमा देखाइने हरेक सिरियल, हरेक प्रोग्राम हरेक रमाइला कुराहरूसर्च गरेर हेर्न पाइन्छ, तिमीलाई अल्छी लाग्दा त्यहि मोबाइल हेरेर आफ्नो समयको सदुपयोग गर्न सक्छौ नि।’

आकाशको कुरालाई काट्दै ‘आ .. होस् !’ भन्दै छोरी खुशीलाई होमवर्क सिकाउन कोठाभित्र पस्छिन्।

ताराको दैनिकी उठेदेखि नसुतुन्जेलसम्म घरको काम, छोरीलाई पढाउने, होमवर्क सिकाउने, नजिकको स्कुलसम्म पुर्‍याउन जाने र लिन जाने। श्रीमान्लाई हतार-हतार खाना बनाएर खुवाई, खाजा समेत बनाएर आफ्नो श्रीमान् र छोरीलाई तयार पार्ने। एकक्षण फुर्सद भएमा टिभी खोलेर हेर्ने गर्थिन्। कहिलेकाहीँ टिभी हेर्दा पनि आफ्नो ध्यान छोरी र श्रीमान्माथि नै हुन्थ्यो। उनी समयअनुसार आफूलाई चलाउँथिन्। हरेक काम समयअनुसार मिलाउँथिन्। आफ्नो श्रीमान् अफिस जाने बेलामा गालामा आफ्नो ओठ जोडेर माया गर्दै बाइ गर्न पनि भ्याउँथिन्, छोरीलाई पनि यसरी नै स्कुल जाने बेलामा माया पोख्थिन्। कति आनन्द र खुशीको घर थियो,सबैजनाको खुशी र आनन्दमा दिनहरू बित्थ्यो। आकाश र ताराको अनुहारमा एककिसिमको खुशी चम्कन्थ्यो।

एकदिन ताराको बर्थडे ! आकाशले उसको नजिक गएर आँखा बन्द गर्न करगर्छ। धेरै पटकको आग्रहलाई टार्न नसकेर ताराले आँखा बन्द गर्छिन्। आकाशले ताराको हातमा एउटा गिफ्ट राख्दै भन्छ- ‘हेप्पी बर्थडे टु यू माई डियर तारा ! मेरो गिफ्ट स्वीकार गर ल।’

ताराले बन्द गरेको आँखा खोल्दै आफ्नो हातमा राखिदिएको गिफ्ट खोल्दै बोल्छिन्- ‘वाउ ! सरप्राइज गिफ्ट ?’ टचस्क्रिन मोबाइल देखेर एकक्षण स्तब्ध हुन्छिन्। ताराले बोल्न नपाउँदै आकाश बोलिहाल्छ- ‘अरे यार ! मेरो भावना त बुझिदेउ। यो मेरो मायाको उपहार हो यसलाई सक्दो प्रयोग गर।’

तारालाई मोबाइल चलाउनेदेखि लिएर यूट्युब, फेसबुक, टिकटक, मेसेन्जरमा भिडिओ कल गर्ने साराकुरा सिकाउँछ। शुरुशुरुमा आकाशको कुरालाई ध्यान नदिएको देखेर आकाश रिसाउँछ। पछि बाध्य भएर आकाशले सिकाएको हरेक कुरामा चाख लिएर हेर्छिन् ताराले र नबुझेको कुरा पनि सोध्न थाल्छिन्। बल्ल ढुक्क र खुशी हुन्छ आकाश।

समय बित्नेक्रममा ताराको समय चक्र ठीक उल्टो भइदिन्छ। आकाशले तारालाई सोध्छ, ‘खाना पाकेन ? अफिस जान ढिलो भइसक्यो, नानीलाई लुगा पनि लगाइदिएको छैन। खै हाम्रो लागि खाजा पनि बनाइदिएको छैन, छिटो गर न।’

‘एकछिन ल ! साथीसँग अमेरिकामा भिडिओ कल गर्दैछु। उसको सुत्नेबेला भयो अरे, एकछिन बोल्न देऊ न ! कतिवर्षपछि साथीलाई देख्न पाइरहेकी छु।’ आकाश हतार-हतार छोरीलाई स्कुलको ड्रेस लगाएर कपाल कोरीबाटी गरिदिन्छ। फेरि बोलाउँछ- ‘तारा ! खाना पस्किदेउ त अब।’

‘एकछिन ल। आज आफैँ पस्केर खानु न ! अँ छोरीलाई प्लेटमा खाना पस्किदिनुसन ल ! म फोनमा बोल्दै नानीलाई खुवाउँछु।’

ताराले जसो भनेकी त्यसै गर्छ आकाश। तारा फेरि बोल्न भ्याउँछे- ‘त्यही नजिकै त हो अफिस जाँदा नानीलाई पनि पुर्‍याउनु न है।’ आकाश हतार-हतार छोरीलाई लिएर बाहिर निस्कन खोज्छ। सधैँ माया गरेर बाइ गर्ने तारा आज फोनमै व्यस्त छे। उल्टै आकाश र नानी तारालाई बाइ गर्न ढोकामा उभिन्छन्। ताराले यति मात्र भन्छे,‘ल ल बाई ! एकक्षण त कुरा गर्न देउ।’

एकदिन आकाश अफिसमा व्यस्त भएको बेलामा ताराको फोन आउँछ,‘यता सुन्नु न ! मेरो मनपर्ने सिरियल सर्च गरेको आएन त कता थिचिन पुगेछ। भनिदिनु त।’ आकाशले तरिका बताउँदै तारालाई भन्छ- ‘अँ साँच्ची नानी लिन स्कुल गयौ त ?’

‘अँह छुइँन ! अझ १० मिनेट बाँकी छ आज एकक्षण ढिलै जान्छु’ भन्दै फोन राखिदिन्छिन् ताराले।

समयको चक्र चलिरहन्छ। अब त हरेक कुरामा ढिलो हुने गरेको छ। छोरीले ‘मामु होमवर्क सिकाइदिनु न’ भन्दा पनि ‘एकछिन न मलाई मनपर्ने प्रोग्राम सकिन आँट्यो त्यसपछि सिकाइदिन्छु।’

राति सुत्नुअघि मीठामीठा गफ गरेर सुत्ने गरेको तारा, अबत मोबाइलमै रमाएर ओछ्यानमै पल्टेर खित्का छोडीछोडी रातको एकदुई बजाउने गरेकी छिन्।

बिहान उठ्नुदेखि हरेक उसको गतिविधिमा ढिलो हुने गरेको छ। आजकल घरमात्र होइन सबैको मनसमेत लथालिङ्ग भएको छ। राम्रो नम्बर ल्याएर पढ्ने बच्चा पढाइमा कमजोर हुँदै आएको छ। श्रीमान् श्रीमतीबीच समझदारीको कमी, झगडा अनि तनाव ! आकाश कहिलेकाहीँ सोच्ने गर्छ- ‘यो सब हुनुको कारण मै हुँ। उसले त मानेकी थिइँन तर यो सब परिवर्तन हुन त मैले नै परिवर्तन गराएँ। मैले उसलाई मोबाइल उपहार दिन नै गल्ती गरेँ। उसले मोबाइलको सदुपयोग हैन दुरुपयोग गरी। कतिचोटी भान्सामा खाना डढ्यो। कतिचोटी तरकारी डढ्यो, दूध पोखिएर कतिपटक भाँडामात्र रित्तै रहन्थ्यो, कुनै कुराको लेखाजोखा भएन। कतिपटक नानीको स्कुलबाट फोन आयो पढाइ सम्बन्धमा, छोरीलाई लिन आउने, पुर्‍याउने सम्बन्धमा। कतिपटक नानी र म चिया र बिस्कुट मात्र खाएर स्कुल अफिस जानुपर्‍यो।’ जहिले घर फर्कँदा फोनमै झुन्डिरहने, केही काम अह्राए एकक्षण न भन्ने उसको बानी नै बसिसकेको थियो। फेसबुक चलाउँदा लाइक र कमेन्टमै समय बिताउने, हरेक समय मोबाइलमै रमाउने ताराको बानी बसिसकेको थियो। ताराको व्यवहारले आजित भएर आकाशले आफूले नै मोबाइल चलाउन कम गर्न थाल्यो।

उनीहरूको समझदारीमा फाटो आउन थाल्यो। लगभग २ वर्ष हुनथाल्यो असमझदारीमा जीवन व्यतित भएको पनि।

आज भने आकाशको बर्थडे। बर्थडे साधारण किसिमले मनाउने जमर्को भयो। ताराले एउटा प्याक गरेको गिफ्ट आकाशलाई दिँदै भनिन्,‘हेप्पी बर्थ डे टु यू।’ आकाशले थ्याङ्क्यू भन्दै सहर्ष स्वीकार गरे। आकाशले प्याक गरेको गिफ्ट खोले र अचम्मित हुँदै बोले- ‘अरे ! मैले तिम्रो बर्थडेमा दिएको मोबाइल फेरि मेरै बर्थडेमा ….।’ कुरा पूरा हुन नपाउँदै एउटा कागजमा लेखेको सानो पत्रमा आकाशको आँखा जान्छ। त्यतैतिर केन्द्रित हुँदै पढ्न थाल्छ।

‘मेरो आकाश !

लगभग यो २ वर्षको अवधिमा तपाईँले दिएको उपहारले म मात्र हैन मेरो सुखी परिवारलाई दुःखी बनायो। मैले तपाईँको उपहारलाई चिन्न सकेँ तर त्यसको राम्ररी सदुपयोग गर्न नसकेकोले हाम्रो मायामा दूरी आएको महसुुस अहिले गर्न सकेँ तर धेरै ढिलो भएछ। यहि मोबाइलको कारणले अझ ठूलो दुर्घटना हाम्रो जीवनमा नआओस् भनेर यो तपाईँलाई फिर्ता दिएको छु। मलाई पहिलाकै पिटपिटे मोबाइल नै ठीक छ, त्यहि पिटपिटे मोबाइलमा हामी धेरै खुशी थियौँ। अब म दुःखी बन्न चाहन्न। मैले धेरै सोच विचार गरेर निर्णय गरेँ। मलाई माफ गरिदिनोस्। म सधैँ नै आकाशको चम्किलो तारा भएर सधँै खुशीसँग रहने अब रहर छ।

-तपाईकी तारा।’

आकाशले छेउमा उभिएकी तारालाई हेर्छ। उसले आफ्नी छोरी खुशीलाई अँगालेर आँसु झारिरहेकी हुन्छिन्। यस्तो सोच्दै नसोचेको परिणामले आकाशको आँखा रसाउँछ। एकक्षण स्तब्ध हुन्छ अनि एक्कासि तारा र छोरी खुशीलाई अँगालो हाल्छ। आफ्नो हातमा रहेको ताराले दिएको मोबाइललाई एकपटक पुलुक्क हेर्छ अनि टेबुलमा फुत्त फाल्छ अनि लामो सास फेर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved