कैलाली, कञ्चनपुर र अछाममा गठबन्धन हुने, बझाङमा जुटेन सहमति

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको जिल्लास्तरीय नेताको बैठकले चुनावी तालमेल गरेर जाने निर्णय गरेका हुन्।

कैलाली, कञ्चनपुर र अछाममा गठबन्धन हुने, बझाङमा जुटेन सहमति

धनगढी। गठबन्धनमा सहभागी सत्तारुढ राजनीतिक दलले कैलाली, कञ्चनपुर र अछाममा चुनावी तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका छन्। गठनबन्धन दलहरूको बैठकले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका हुन्।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा तीनै जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राम्रो नतिजा ल्याएको थियो। अघिल्लो त्यो नतिजालाई आकलन गरेर यसपालि बाजी मार्ने लक्ष्यका साथ गठबन्धन दलले चुनावी तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका हुन।

१३ स्थानीय तह रहेको कैलालीमा यसअघि धनगढी उपमहानगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र बर्दगोरीया गाउँपालिका गरी ४ स्थानीय तहमा नेपालि कांग्रेस, ७ स्थानीय तहमा नेकपा एमाले र माओवादी २ स्थानीय तहमा विजयी भएको थियो। अघिल्लो निर्वाचनमा एमाले बलियो रहेको कैलालीमा सत्तारूढ गठबन्धनमा सहभागी यहाँका राजनीतिक दलका नेताले स्थानीय तहको निर्वाचनमा आपसी तालमेल गर्ने निर्णय गरेका हुन्।

बुधबार कांग्रेस पार्टी कार्यालय कैलाली बसेको ५ दलको बैठकले गठबन्धन गरेर अगाडी बढ्ने निर्णय गरेका छन्। नेकपा एस कैलालीका उपाध्यक्ष विमलराज जोशीले दलहरू गठबन्धन प्रति प्रतिवद्ध रहने निर्णय गरेको बताए।

उनले आ-आफ्नो दलले आन्तरिक छलफल जारी राख्ने सहमति भएको छ। भोलि बिहीबार २ बजे पुनः पाचदलीय गठनबन्धको बैठक बस्ने जोशीले जानकारी दिए।

बैठकमा नेकपा एसका प्रदेश संसदीय दलका नेता दीर्घ सोडारी, केन्द्रीय सदस्य लक्ष्मी चौधरी र नेपाली काग्रेसको तर्फबाट कैलालीका सभापति नारायणदत्त भट्ट, केन्द्रीय सदस्य नृप ओड, जिल्ला उपसभापति भीम बडुवाल, सचिव केशव मिश्र लगायतका नेताहरूको उपस्थिति थियो।

यस्तै नौ स्थानीय तह रहेको कञ्चनपुरमा पाँच पालिकामा एमालेले जित हात पारेको थियो भने नेपाली कांग्रेस र माओवादी केन्द्रले दुई/दुई स्थानीय तहमा चित्त बुझाएका थिए। एमालेले पुनर्वास नगरपालिका, भीमदत्त नगरपालिका, बेदकोट, कृष्णपुर नगरपालिका र बेलडाँडी गाउँपालिकामा चुनाव जितेको थियो। माओवादी केन्द्रले बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा जितेको थियो। त्यस्तै, नेपाली काङ्ग्रेसले दोधारा चाँदनी र शुक्लाफाँटा नगरपालिकामा जित हात पारेको थियो। एमाले बलियो रहेको कञ्चनपुरमा पनि सत्तारूढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा आपसी तालमेल गर्ने निर्णय गरेका छन्।

केन्द्रमा भएको सहमतिअनुसार आपसी समझदारी तथा सहकार्य गरी स्थानीय स्तरमा तालमेल गरे अगाडि बढ्ने सहमति भएको छ। ‘‘तालमेलबारे सामान्य छलफल भएको छ’’, नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्जार्च टेकेन्द्रप्रसाद भट्टले भने, ‘‘सहकार्य गर्न सतारूढ सबै दल सहमत छौँ, तालमेलबारे विस्तृत छलफल गरी टुङ्गोमा पुर्‍याउनका लागि अर्को बैठक राख्ने निर्णयसमेत भएको छ।’’

राजनीतिक दलको स्थानीय तहमा उपस्थितिका आधारमा तालमेल हुन सक्ने बैठकमा सहभागी नेताहरूको भनाइ रहेको छ। ‘‘यसको आकलन गरिनेछ, त्यसै आधारमा तालमेल हुन्छ,’’, बैठकमा सहभागी नेताहरूले भने। माओवादी केन्द्रको कार्यालयमा बस्ने निर्णय गरिएको छ। नेपाली कांग्रेसका जिल्ला सभापति पदम बोगटीको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्रका जिल्ला इन्चार्ज भट्ट, जिल्ला संयोजक खेमराज पाण्डेय, नेकपा (एकीकृत समाजवादी) का जिल्ला इन्चार्ज लालबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका रामबहादुर कार्की लगायतको सहभागिता रहेको थियो।

अघिल्लो निर्वाचनमा एमालेले पाँच पालिकामा जित हात पारे पनि पछिल्लो समय सो पार्टी विभाजन भएपछि एमालेबाट स्थानीय तहमा चुनाव जितेका पुनर्वास नगरपालिकाका प्रमुख जीवन थापा र वेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्द नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। यस्तै, अछाममा पनि स्थानीय तहको चुनावमा तालमेल गर्ने गठबन्धनले निर्णय गरेका छन्। अछाममा तीन राजनीतिक दलले स्थानीय तह चुनावमा वडासम्म नै तालमेल गर्ने निर्णय गरेका हुन्।

सोमबार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको जिल्लास्तरीय नेताको बैठकले चुनावी तालमेल गरेर जाने निर्णय गरेका हुन्। कांग्रेस सभापति पुष्पबहादुर शाह, माओवादी संयोजक रवीन्द्र साउद र नेकपा एकीकृत समाजवादीका अध्यक्ष हिरण्ड भट्टराईले जिल्लाका १० स्थानीय तह र ९१ वडामा चुनावी तालमेल गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्। स्थानीय तहका कमिटी र कार्यसमितिलाई गठबन्धनको मर्म र भावनाअनुसार अघि बढ्न सार्वजनिक रूपमा अनुरोध गरिएको उनीहरूले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

बझाङमा जुटेन सहमती

गठबन्धनमा आवद्ध दलहरूको बझाङ जिल्लामा गठबन्धनका विषयमा बसेको बैठक सहमतिबिना नै टुङ्गिएको छ।

आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने तयारीस्वरुप बसेको तीन दलको जिल्लाको बैठकले जिल्लाका १२ वटा पालिका र ९४ वटा वडामा गठबन्धन गर्ने विषयमा गरेको पहिलो बैठकमा तीनै दल विच सहमती हुन सकेको छैन।

सोमबार दिउँसो सदरमुकाम चैनपुरमा बसेको बैठकमा तालमेल कसरी गर्ने, कुन स्थानीय तहमा कुन पार्टीले उम्मेदवारी दिनेलगायतका विषयमा छलफल भएकोमा नेपाली कांग्रेसले ६०, ४० को धारणा राखेपनी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले आधा–आधाको धारणा राखेपछी कुरा नमिलेर बैठक टुङ्गिएको बैठकमा सहभागी एक नेताले बताएका छन्। बैठकमा सबै पार्टीको जिल्लास्थित पालिकाको अवस्थाबारे छलफल गरिएको समेत सत्तारुढ गठबन्धनका नेताले बताएका छन्।

बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका जिल्ला अध्यक्ष, सचिवलगायत शीर्ष नेताहरू सहभागी भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved