देवदह नगरपालिकामा यस्ता छन् दाबेदारः एमालेलाई चुनौती

देवदह नगरपालिकामा यस्ता छन् दाबेदारः एमालेलाई चुनौती

बुटवल। रूपन्देही जिल्लामा सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने भएपछि नेकपा एमालेका सचिव छबिलाल विश्वकर्माको गृहनगर देवदह नेतृत्व कसले गर्ने भन्ने चर्चा चुलिएको छ। भगवान बुद्धको मावली देवदहमा यसपालि स्थानीय निर्वाचनमा कसले बाजी मार्ला अनुमान गर्न निकै गाह्रो देखिन्छ।

नेकपा एमालेका सचिव छबिलाल विश्वकर्माको गृह नगर भएकोले पनि यसलाई विशेष महत्वका साथ हेरिएको छ। यो नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाको निर्वाचन क्षेत्र पनि भएकाले रोचक हुने देखिएको छ।

२०६८ सालको जनगणना अनुसार ५३ हजार ५ सय २३ जनसंख्या रहेको देवदहमा ०७८ सालको प्रारम्भिक जनगणनाअनुसार ७२ हजार जनसंख्या पुगेको देखिन्छ। मगर जातिको बाहुल्य रहे पनि सबै जातजातिको सम्मिश्रण भएको देवदह सुविधासम्पन्न नगरपालिकाको रूपमा परिचित छ।

रूपन्देहीको १६ स्थानीय तहमध्ये देवदहको राजनीतिक मोड अनौठो खालको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा देवदह नगरपालिकाको १२ ओटामध्ये ३ ओटा वडा (त्यसमा पनि वडा नं ६ को वडाध्यक्षमात्र) जितेर कांग्रेसले नगर प्रमुख जितेको थियो। देवदहमा कांग्रेसका हीराबहादुर खत्री मेयर छन्। उनले १० हजार २ सय ११ मत ल्याएका थिए।

नेकपा एमालेले २०७४ को स्थानीय निर्वाचनमा छोटो समयका लागि नीलकण्ठ पौडेललाई मेयरको उम्मेदवार बनायो। उनको उम्मेदवारी फिर्तापछि टीकाराम चापागाइँ एमालेका मेयरका खास उम्मेदवार बने। तर खत्रीसँग हारे। उम्मेदवारी दिने बेला देखिएको कमजोरीका कारण एमालेले मेयर गुमाएको एमालेका स्थानीय कार्यकर्ताको बुझाइ छ।

बाँकी ९ ओटा वडामा भारी मतका साथ नेकपा एमालेका वडाध्यक्षहरू विजयी भएका थिए। एमालेकी उपमप्रमुखमा विद्यालक्ष्मी गुरुङले कांग्रेस र माओवादी केन्द्रकी गठबन्धन उम्मेदवार टीका गौतम न्यौपानेलाई करीब साढे तीन हजार मतको अन्तरले जितेकी थिइन्।

यतिबेला निलकण्ठ पौडेल नेकपा एकीकृत समाजवादीमा लागेका छन्। उनीसँगै देवदह क्षेत्रका सिद्धिचरण भट्टराई पनि उतै लागेका छन्। यो कारण पनि नेकपा एमालेले देवदहको सत्ता सञ्चालनमा आफ्नो नेतृत्व गर्न चुनौती थपिएको छ।

मेयर खत्री दोहोरिने मुडमा

आगामी २०७९ बैसाखमा हुने स्थानीय तहको निर्वाचनमा देवदह नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट वर्तमान मेयर हीराबहादुर खत्रीको उम्मेदवारी दोहोरिने सम्भावना बढेको छ। देउवा प्यानलका उनी रूपन्देही क्षेत्र नं१ का क्षेत्रीय सभापति समेत रहेका खत्रीलाई, वर्तमान गृहमन्त्रीको न्यानो साथ मिल्ने देखिन्छ। आफू अल्पमत मै परे पनि राम्रो कार्यकाल बिताएका खत्री मेयरको दौडमा आएमा उनी सर्वसम्मत हुन सक्ने पार्टी निकट स्रोतले जनाएको छ।

यस्ता छन् कांग्रेसका अन्य दाबेदार

कांग्रेसका नगर सभापति गुणाखर भुर्तेलले आफ्नो दावी सम्बन्धित क्षेत्रमा पेश गरिसकेको अवस्थामा कांग्रेस जिल्ला समिति सहसचिव समेत रहेका बासुदेव रिमालको मेयरमा दावी कुनै अनौठो मानिदैन। त्यसैगरी कांग्रेसका रामकृष्ण पौडेलले समेत आफू मेयरको उम्मेदवार हुँ भन्न थालेका छन्। भने विश्वनाथ यादको नाम पनि चर्चामा छ।

एमालेका यस्ता छन् दाबेदार

एमालेबाट देवदहमा कसले मेयरको टिकट पाउला भन्ने चासोको रूपमा हेरिएको छ। प्रदेश कमिटीका सदस्य ध्रुब खरेलले आफूले मेयरको स्वाभाविक उम्मेदवार रहेको बताइरहँदा अघिल्लो स्थानीय निर्वाचनमा मेयरमा थोरै मतका साथ उपविजेता भइ घाइते हुनुपरेको पीडालाई मेटन आफू पुनः मेयरको उम्मेदवारी हुन पाउनुपर्ने दावी टीकाराम चापागाइँको छ।

नेकपा रहँदा देवदह नगरको पार्टी अध्यक्ष रहेका प्रकाश अर्याल मेयरको लाइनमा उभिएका देखिन्छन्। एमाले केन्द्रीय सचिव एवम् पूर्वमन्त्री पद्मा अर्यालका भाइ पर्ने प्रकाशलाई टिकटमा दिदीको आशीर्वाद रहनसक्ने स्थानीय एमाले नेताहरू बताउँदैछन्। एमालेका स्थानीय नेता ऋषिराम सापकोटाले समेत मेयरको दावी गर्दै आएका छन्।

उपमेयर गुरुङ मेयरको दाबेदार

पाँच वर्षसम्म देवदह नगरपालिकाको उपप्रमुख रहेर कार्यानुभव हासिल गरेको, विपक्षी पार्टीका मेयरसँग मुकाबिला र समन्वय गर्दै आफ्नो पार्टीलाई नगरमा स्थापित गरेको,आदिवासी महिला, युवा परिचालनमा सार्थक सहभागिता जनाएको र नगरको विकास निर्माणमा दिनरात नभनी खटिएकै कारण मेयरको टिकट आफूले पाउनुपर्ने वर्तमान नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले बताइन्। अनेम संघ, केन्द्रीय सदस्य रहेकी उनले समावेशी र समानुपातिक दृष्टिकोणले समेत आफू मेयरको टिकटको दाबी गर्छिन्।

देवदहमा जसपा, जनमुक्ति, राप्रपाको वडा जित्ने संगठन नभए पनि जितहार बनाउने मत छन्। उनीहरूको मत लिनसक्नेलाई यहाँको नेतृत्व लिन सहज हुनेछ। माओवादी, नेकपा एसलगायत अन्य दलका नेताहरू गठबन्धन हुने र त्यसपछि नेतृत्वको टुंगो लगाउने आशमा बसेका छन्।

गठबन्धनबाट आफ्नो भाग परेमा नेकपा (एस) बाट निलकण्ठ पौडेल र माओवादीबाट कृष्ण पौडेलले आकांक्षा गरेका छन्। गत निर्वाचनमा मेयर पदमा माओवादीसँगको गठबन्धनमा नेपाली कांग्रेसले १०, २११, एमालेले १०,०९९ र राप्रपाले ६७६ मत ल्याएका थिए।

यसपालिकामा गठबन्धनका दलहरू कसैको पनि पर्याप्त बहुमत नहुने अवस्थामा मेयर पद कुन दलले पाउने हो हेर्न बाकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved