सी डिसाइड्स मुभमेन्ट : आफ्नो शरीरमाथि आफ्नै अधिकार

सी डिसाइड्स मुभमेन्ट : आफ्नो शरीरमाथि आफ्नै अधिकार

काठमाडौं। ‘तिमी छोरी मान्छे भएर छोरा जसरी किन हिँडेको ?’ केही वर्ष अघिसम्म  यस्ता प्रश्नहरूदेखि उनलाई भाग्न मन लाग्थ्यो। आफ्नो शरीर र आफ्ना भावनाहरुबीचको भिन्नतालाई पोख्ने शब्द उनले भेटेकी थिइनन्। त्यसैले प्रश्न सोध्नेहरुलाई उनी झर्किदैँ ‘म जसरी हिँडु, मेरो मर्जी। तिमीहरूलाई के चासो’ भनेर जवाफ फर्काउँथिन्।

आजकल कसैले सोही प्रश्न सोधे भने खुशीसाथ भन्छन्,‘ म ट्रान्स मेन हुँ।’

त्यो, अन्यौल अवस्थाबाट खुलेर आउनु उनका लागि सजिलो थिएन। बुधबार ललितपुरको कुपण्डोलस्थित होटल हिमालयको हलमा उपस्थित तीन दर्जन मानिसहरुबीच उनले खुलेर आउन गरेको संघर्ष सुनाए।

सि डिसाइड्स नेपाल र बियोन्ड बेइजिङ कमिटीले आयोजना गरेको ‘सि डिसाइड्स हर फ्युचर’ (उनी आफैंले आफ्नो भविष्य तय गर्छिन्) कार्यक्रममा आफ्नो अनुभव सुनाए।

सामान्य परिवारमा जन्मिएका थिए, उनी। दाइपछि उनी जन्मिएका थिए। छोरा पछि छोरी जन्मिएकाले परिवार पूरा भयो भन्ने सोचले घरमा सबैलाई खुशी दियो। सबैकी प्यारी भइन्, उनी।

आफन्त, छरछिमेकीले पनि ‘तपाईँ त एउटा छोरा र एउटी छोरी भइहाल्यो, कति राम्रो छ भयो है’ भन्दै आमालाई सुनाउँथे। उनीहरुका कुरा सुनेर आमा खुशी हुन्थिन्।

तर आमाको खुशीले उनलाई भने पिरोल्न थालेको थियो। किनकी आमा र छरछिमेकीले सोचेको भन्दा फरक अनुभूति उनले गर्न थालेका थिए आफूभित्र। आमाको खुशी देखेर उनले आफ्ना भावना सुनाउन पनि सकेनन्। र, आफ्ना ति भावनालाई व्यक्त गर्ने शब्द पनि उनले खुट्याउन सकेका थिएनन् तर उनको मन भने स्पष्टै  थियो।

स्कुलमा उनका टन्नै केटाहरु साथी भए। र केटीप्रति भने आकर्षण हुन थाल्यो। सानो छन्जेल साथीहरूले पनि सपोर्ट गरे। तर हुर्किँदै गएपछि सबैले ‘केटी भएर केटाको जस्तो व्यवहार गर्न थाल्यो’ भन्दै खिसी गर्न थाले। हिडाइँ, बोलाइ र व्यवहारप्रति प्रश्न आउन थाल्यो।

प्रश्न सोध्नेले उनलाई मात्रै नभई उनका परिवारका सदस्यलाई समेत छाडेनन्। उनी त प्रश्न सोध्नेसँग झर्किएर टाढिन्थिन्। तर उनका परिवारलाई ति प्रश्नले सताउँथ्यो। आफन्त र छरछिमेकले तारिफ गर्दा खुशी भएकी आमा तिनैले प्रश्न सोध्दा रिसाउन थालिन्। घरमा आइ उनलाई ‘तँ किन यस्तो भाको, यस्तो नहोउ’ भन्दै पिट्न थालिन्।

त्यतिबेला उनलाई भन्न मन लाग्थ्यो, ‘ममी मलाई छोरी होइन, छोरा भएर बस्न मन छ। ममी मलाई स्कर्ट होइन, पेन्ट लाउन मन छ। ममी मलाई केटा मान्छेसँग होइन केटी मान्छेसँग बिहे गर्न मन छ।’

उनको जिन्दगीको लामो समय यसरी नै बित्यो। आमा पिट्थिन्, उनी सहिदिन्थे। लामो रस्साकस्सीपछि उनले एकदिन आमालाई आफ्ना भावना पोखे। ‘तपाईंका लागि म छोरी नै भएर बसुँला, तर म जे छु, त्यसरी नै मलाई माया गरिदिनु’ भन्दा उनकी आमाले ‘हुँदैन’ भनिदिइन्। आमाले नाइ भनेपछि उनले पनि छोरी नै भएर बस्ने निधो गरे।

“स्कुल सकेर कलेज पुगे। अब झन् सोझो हुन्छु, सिधा भएर केटी भएर हिँड्छु भन्छु झन् झन् केटी मान्छे मनपर्छ के गर्ने मैले। आफूलाई परिवर्तन गर्न सक्दिनँ,” उनले भने, “आफ्नो भित्रबाट जे महसुस भयो, त्यसैलाई पछ्याउँदै गएँ। कक्षा ११ मा हुँदा कपाल पनि काटेँ।”

कलेजमा उनका थुप्रै साथी बने। तर उनीहरु अगाडि राम्रो बोल्ने, पछाडि कुरा काट्थे। नराम्रा शब्द प्रयोग गरेर गाली गर्थे। त्यही क्रममा उनले आफूजस्तै एकजना साथी भेट्टाए। दुबै ‘ट्रान्स मेन’ भएकाले दुबैले दुबैको भावना बुझे। जसले उनलाई खुलेर आउन प्रोत्साहन गर्थे।

‘कति ठाउँमा म आफ्नो स्टोरी भन्न सक्दिनथेँ। मेरो बारेमा कसैलाई थाहा थिएन। जुन कार्यक्रममा पनि मेरो साथी नै जान्थ्यो। म जान्नथेँ। आज यस्तो भयो, उस्तो भयो भनेर मलाई स्टोरी सुनाउँथ्यो। मलाई पनि जान मन लाग्थ्यो, तर घरबाट रोकेको थियो,” उनले भने, “आज म खुलेर मेरो कुरा भन्न सक्छु किनकि मसँग मेरो साथी छ।”

अहिले उनले आफ्नो शरीरलाई आफुले चाहेजस्तै स्वरुप दिएका छन्। उनी आफु र आफ्ना भावनालाई निर्धक्क व्यक्त गर्छन्। मानिसका कुरालाई ध्यान दिँदैनन्। उनले जस्तै आफ्नो शरीरमाथि आफ्नै अधिकार स्थापित गराउनको लागि सि डिसाइड्स मुभमेन्ट चलेको लैंगिक समानता र सामाजिक समावेशीता विशेषज्ञ शान्ता लक्ष्मी श्रेष्ठ बताउँछिन्।

उनका अनुसार अमेरिकामा महिलाको शरीरमाथि राज्यले अनेक प्रतिबन्ध लगाउन थालेपछि शुरु भएको थियो सि डिसाइड्स मुभमेन्ट। अमेरिकाका ४० औं राष्ट्रपति रोनाल्ड रेगनले महिलाको शुरक्षित गर्भपतन गराउने अधिकारमाथि बन्देज लगाउन ‘ग्लोबल ग्याग रुल’(जसलाई मेक्सिको सिटी नीति पनि भनिन्छ) लागू गराउन खोज्दा विश्वका महिलाले विरोध गरेर रोक लगाएका थिए।

तर २३ जनवरी २०१७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि रेगनको उक्त ग्लोबल ग्याग रुल पुनस्र्थापना गरे। महिला अधिकारमाथि नै धावा बोलेको भन्दै विश्वका समाजवादी देशका मन्त्रिले बेल्जियममा कन्फ्रेन्स गरेको थियो।

महिलावादी महिलापुरुषले महिलाको शरीरमाथि उसैको अधिकार हुन्छ भनेर कोषमा पैसा जम्मा गरी शुरक्षित गर्भपतनको सेवा दिलाए। २४ नेदरल्याण्डको मन्त्रि लिलियनले ‘ह्यासट्याग सि डिसाइड्स’ मुभमेन्ट चलाए।

२ मे २०१७ मै सि डिसाइड्स सर्पाेट युनिट तयार भयो। २ मार्च २०१८ देखि सि डिसाइड्स डे दक्षिण अफ्रिका र भारतका केही ठाउँमा मनाउन थालियो। त्यसको प्रभाव नेपालमा समेत पर्यो।

नेपालमा बियोन्ड बेइजिङ कमिटीले २००२ देखि नै लैंगिक समानता र शुरक्षित गर्वपतनको अधिकारको लागि काम गर्दै आएको थियो। सोही कमिटिले नेपालमा १ मार्च २०१९ देखि सि डिसाइड्स फ्ल्यागसिप मुभमेन्ट ल्याएका थिए।

नेपालमा त ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ र सुरक्षित मातृत्व तथा प्रजनन् अधिकार नियमावली २०७७ समेत तयार भइसकेको छ।

”नेपालमा ऐन र नियमावली बनिसकेको अवस्थामा सि डिसाइड्स मुभमेन्ट किन चाहियो भन्ने हुन सक्छ, तर त्यस्तो होइन,” विशेषज्ञ श्रेष्ठ भन्छिन्, ”महिला मात्रै नभई एलजीबीटीआईलगायत सबै मानिसको शरीरको अधिकार उनीहरु आफैमा रहने अधिकार स्थापित गर्न यो मुभमेन्ट आवश्यक छ। जबसम्म शरीरमाथि अधिकार प्राप्त हुँदैन, तबसम्म लैंगिक समानता असम्भव छ। त्यसैले यो मुभमेन्ट नेपालमा पनि चलेको हो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved