मोटोपनको उपचार बन्दैछ शल्यक्रिया

मोटोपन आफैँमा रोग हो। र यसले अनेकौं रोग निम्त्याउनसक्छ। कुनै तरिकाले काम नगरे शल्यक्रिया मोटोपन रोक्ने विकल्प हुनसक्छ।

मोटोपनको उपचार बन्दैछ शल्यक्रिया

काठमाडौं। दिनहुँ बढिरहेको तौल घटाउन के मात्र गरिनन् काठमाडौंकी रेजीले (नाम परिवर्तन)। खाना खान कम गरिन्। व्यायाम गरिन्। तौल बढ्ने क्रम भने घटेन। दैनिक एक, दुई हुँदै पाँच किलोग्रामसम्म तौल बढ्यो उनको। २८ वर्षे रेजीको तौल एक सय नौ किलोग्राम पुग्यो।

असामान्यरूपमा तौल बढ्नु (ओबेसीटी) त थियो नै अरू समस्या पनि थपिदै गए। मोटोपनसँगै थाइराइड, सुगर, रक्तचाप बढ्यो। सुतेको बेलामा सास फेर्न गाह्रो भयो। महिनावारीमा अनियमितता भयो। कलेजोमा बोसो जम्मा भएर विभिन्न समस्या आयो। त्यसपछि रेजी डाक्टरकहाँ पुगिन्।

“पानी मात्र खाए पनि मोटाउन थालेपछि अस्पताल गएको थिएँ”, रेजीले सुनाइन्, “मेरो पाचनप्रक्रिया नै अरूको भन्दा निकै कम भएकाले तौल बढिरहेको थाहा पाएँ।”

समस्या त थाहा भयो तर निदान थाहा थिएन। त्यहि बेला उनले तौल बढ्न नदिने शल्यक्रिया ‘बेरियाट्रिक सर्जरी’ बारे थाहा पाइन्। अनि पुगिन्, ग्यास्ट्रो तथा बेरियाट्रिक सर्जन डा. राकेशकुमार साहकहाँ।

“डा.राकेशलाई देखाउन जाँदा मेरो बीएमआई ४२.५ भइसकेको (औसत २५ भन्दा कम हुनुपर्ने) र तौल कम गर्ने अनेकौं उपाय अपनाउदा पनि नघटेकाले बेरियाट्रिक सर्जरी गर्ने सल्लाह दिनुभयो”, रेजीले सुनाइन्।

शल्यक्रिया भएको सात महिनामा उनको तौल २५ किलोग्राम घटेको छ। तौल घट्नुका साथै अन्य समस्या पनि घट्दै गएका छन्।

“मोटोपना त एउटा समस्या छँदै थियो तर त्यो भन्दा पनि ठुलो समस्या मेरो लागि शरीरमा देखिएका धेरै रोग थिए। अहिले धेरै समस्याबाट छुटकारा पाएको छु”, उनले बताइन्।

शल्यक्रियापछि नयाँ सहज जीवन पाएको सुनाउँछिन् उनी। हुन पनि अहिले उनको खाना अन्य मानिसको जस्तै छ। मधुमेह, उच्च रक्तचाप र कलेजोको रोगको औषधी खान छोडिसकेकी छन्। कम्मर दुख्ने र नसाको समस्या पनि कम भइसकेको छ।

“बस्दा, उठ्दा र सिँढी चढ्दा पनि निकै गाह्रो हुन्थ्यो तर अहिले शरीर निकै फुर्तीलो भएको महसूस गरेको छु”, उनले भनिन्।

के हो बेरियाट्रिक सर्जरी ?

डा. राकेशकुमार साहका अनुसार शल्यक्रियाबाट मोटोपन घटाउने विधि हो, बेरियाट्रिक सर्जरी। तर यो शल्यक्रिया बोसो झिक्ने भने होइन। यो शल्यक्रियामा एक ग्राम बोसो पनि ननिकाली मोटोपन घटाइन्छ।

“बोसो निकाल्ने भनेको लाइपोसक्सन विधि हो तर बेरियाट्रिक सर्जरी भनेको लाइपोसक्सन जस्तो होइन। यसमा तीनओटा मध्ये कुनै एक तरिका अपनाइन्छ। रेस्टिक्टिभ तरिकामा आमाशयको केही भाग निकालेर सानो बनाइन्छ। थैली नै सानो बनाइदिएपछि खाना कम खाइन्छ, भोक कम लाग्छ र तौल घट्दै जान्छ। मेटाबोलिक सर्जरीमा खानेकुरा पचाउने भाग नै घटाइन्छ। तेस्रो यी दुवैको मिश्रण स्लिम ग्यास्ट्रेक्टोमी हो”, डा. साहले बताए।

मोटोपनका कारण मधुमेह, हृदयरोग, श्वासप्रश्वासको समस्यादेखि महिनावारी गडबड, निसन्तान, हाडजोर्नीमा समस्या जस्ता धेरै रोग बढ्ने भएकाले अन्तिम विकल्पका रूपमा यो शल्यक्रिया अपनाउन सकिने उनले बताए।

शल्यक्रिया गरेपछि करीब दुई वर्षसम्म तौल कम हुने उनले बताए। एक वर्षसम्म भने डाक्टरले बनाएको डाइट प्लान अनुसार खानपान र व्यायाम गर्नुपर्ने उनले जानकारी दिए।

नेपालमा यो विधि सन् २०१४ बाट शुरु भएको हो। अहिलेसम्म आफूले १२ जनाजतिको शल्यक्रिया गरेको डा. साह बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved