कृषि विकास निर्देशनालयको बजेट खर्च २० प्रतिशत मात्रै

“गाडी चढ्नुपर्छ। हामी गाडी किन्ने योजनामा छौँ,” मन्त्री हुमागाईंले भने, “मन्त्रालयले गाडी किन्यो भनेर पत्रकारहरुले लेख्लान तर त्यसले केही फरक पर्दैन।”

कृषि विकास निर्देशनालयको बजेट खर्च २० प्रतिशत मात्रै

हेटौँडा। कृषि विकास निर्देशनालय बागमती प्रदेशले चालु आर्थिक वर्षको आठ महीनामा जम्मा २० प्रतिशत बजेट खर्च गरेको छ। आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा उक्त तथ्याङक प्रस्तृत गरिएको हो।

निर्देशनालयको आठ महीनाको प्रगति समीक्षामा कार्यपत्र प्रस्तृत गर्दै कृषि तथा पशुपन्छी विकास निर्देशनालयका प्रमुख रवीन्द्र बहादुर प्रधानले बजेटको २० प्रतिशत रकम खर्च भएको बताए। निर्देशनालयका लागि चालु आर्थिक वर्षमा ५० करोड ५८ लाख ४८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

यो अवधिमा जम्मा १५ करोड ९२ लाख ३५ हजार रुपैयाँ मात्र बजेट खर्च भएको प्रमुख प्रधानले जानकारी दिए। दोश्रो चौमासिकका लागि मन्त्रालयले निर्देशनालयलाई १५ करोड रुपैयाँ दिए पनि निर्देशनालयले जम्मा सात करोड मात्र अर्थात् दोश्रो चौमासिकमा ६६ प्रतिशत मात्र खर्च गर्न सकेको छ।

यता मत्स्य विकास केन्द्रले भने निर्देशनालयको तुलनामा धेरै बजेट खर्च गर्न सफल भएको छ। केन्द्रले आर्थिक वर्षको आठ महीनाको अवधिमा ५१ प्रतिशत बजेट खर्च गरेको छ। ३ करोड ९८ लाख बजेट विनियोजन भएकोमा यो अवधिमा मन्त्रालयले दुई करोड तीन लाख रुपैयाँ बजेट खर्च गरिसकेको छ।

पशुपालनमा लाग्ने कृषकहरुको लागि विभिन्न औजार तथा अनुदानमा बजेट खर्च भएको पशुपन्छी तथा मत्स्य विकास केन्द्रका प्रमुख मुगल प्रसाद शाहले बताए। प्रयोगशालाको लागि उपकरण खरिदमा ढिलाइ तथा कर्मचारीहरु कम हुँदा काममा समस्या आएको उनले बताए।

कृषि सडक तथा ठूला सिँचाइ योजना कटौती गर्छौँ : मन्त्री हुमागाईं

आगामी आर्थिक वर्षदेखि मन्त्रालयले कृषि सडक तथा ठूला सिँचाइ योजना कटौती गर्ने कृषि तथा पशुमन्छी विकासमन्त्री बसुन्धारा हुमागाईंले बताए। आफूले कहिल्यै पनि किसानको फाइल रोक्ने काम नगरेको भन्दै उनले कर्मचारीहरुलाइ कृषकहरुको हितका लागि द्रुत गतिमा काम गर्न निर्देशन दिए।

“मैले कहिल्यै पनि पाँच मिनेटभन्दा बढी कसैको पनि फाइल रोकेको छैन,” उनले भने, “अब द्रुत गतिमा काम गर्ने बेला आएको छ।”

स्रोत साधनको कमीको बहाना हुने गरेको भन्दै उनले मन्त्रालयले स्रोत साधनमा कमी हुन नदिने प्रतिवद्धता जनाए। मन्त्रालय नयाँ गाडी किन्ने योजनामा रहेको बताउँदै उनले अब मन्त्रालय मातहतका कार्यालयहरुलाई गाडी अभाव नहुने बताए।

“गाडी चढ्नुपर्छ। हामी गाडी किन्ने योजनामा छौँ,” मन्त्री हुमागाईंले भने, “मन्त्रालयले गाडी किन्यो भनेर पत्रकारहरुले लेख्लान तर त्यसले केही फरक पर्दैन।”

यसैबीच कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरण कुमार पाण्डेले निर्देशनालयको वित्तीय प्रगति निराशाजनक रहेको टिप्पणी गरे। आत्म समीक्षा गर्दै कामलाई तीव्रता नदिए असफल हुने उनले बताए।

मन्त्रालयको तर्फबाट जस्तोसुकै सहयोग गर्न तयार रहेको भन्दै पाण्डेले कामलाई तीव्रता दिन आग्रह गरे। कर्मचारीहरुलाई कामसँगै त्यसबाट आउने प्रतिफल कस्तो हुन्छ भन्ने कुरामा केन्द्रित रहन उनले निर्देशन दिए।

कृषि कार्यालयहरु र मन्त्रालय दुवैले एकअर्काको अस्तित्व स्वीकार गर्न नसकेको उनले आरोप लगाए। समन्वयमा कमी भएको बताउदै उनले आगामी दिनमा एक अर्काको अस्तित्व स्वीकारेर गरेर अघि बढ्नुको विकल्प नभएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved