काठमाडौं। । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की अहिले विश्वव्यापी चर्चामा छन्। रूसले युक्रेनमाथि आक्रमण गरिरहेको छ, कयौंपटक उनलाई मार्ने षड्यन्त्र बुनिएको खुलासा पश्चिमा देशका गुप्तचरहरूले गरेका छन्।
सुरक्षा खतरालाई नै मध्यनजर गरेर देश छाड्न अमेरिकाले उनलाई प्रस्ताव पनि गरेको थियो। आफ्नो देशमा सबै सेवा-सुविधा उपलब्ध गराउने अमेरिकाको प्रस्तावबारे टिप्पणी गर्दै उनले भने,”म देशभन्दा ठूलो होइन। अहिले मेरो देशको अस्तित्व खतरामा छ। मलाई आश्रय होइन,लड्नका लागि हतियार चाहिएको छ।”
जेलेनेस्कीको यस्तो अभिव्यक्तिले धेरैलाई भावुक बनायो। गत अगस्टमा काबुलमा तालिवानले कब्जा जमाउनासाथ अफगानिस्तानबाट भागेका राष्ट्रपति असर्फ गनीको प्रसङ्ग जोड्दै धेरैले सामाजिक सञ्जालमा जेलेनेस्कीको साहसको प्रशंसा गरे।
अहिले युद्धग्रस्त मुलुक हाँकिरहेका जेलेनेस्की राजनीतिमा आउनुअघि कमेडियन थिए। सर्भेन्ट अफ पिपुल नामक राजनीतिक हास्यव्यङ्ग्य शृङ्खलामा उनी राष्ट्रपतिको भूमिकामा देखिन्थेँ। यो शृङ्खला र उनको भूमिका अत्यधिक लोकप्रिय भएपछि त्यही लोकप्रियताको आडमा उनी चुनाव जितेर साँच्चिकै राष्ट्रपति भए।
अमेरिकाका राष्ट्रपति रोनाल्ड रेगन पनि राजनीतिमा आउनुअघि धेरैका आदर्श कलाकार थिए। अमेरिकाको क्यालिफोर्निया पूर्व गभर्नर आर्नोल्ड स्वार्जिनेगर पनि कलाकारिता र राजनीति दुबैमा सफल नाम हो। छिमेकी भारतमा पनि राजनीतिमा जमेका धेरै कलाकारहरू छन्।
स्वर्गीय सुनिल दत्त (पूर्व केन्द्रीय मन्त्री), स्वर्गीय जय ललिता (तमिलनाडूकी पूर्व मुख्यमन्त्री), स्मृति इरानी (बहालवाला महिला तथा बालबालिका मन्त्री), भगवत मन (पञ्जाबका मुख्यमन्त्री), लगायत कलाकारहरू भारतीय राजनीतिमा पनि सफल भए।
गोविन्दा, सत्रुध्न सिन्हालगायत पनि पटक-पटक सांसद् बने। सन्नी देओल अहिले पनि सांसद् छन्। तर, कलाकारका रूपमा उनीहरूको जस्तो छवि छ, त्यस्तो प्रभावकारी भूमिका राजनीतिमा छैन।
कुनै समय अमिताभ बच्चन पनि राजनीतिमा होमिएका थिए, तर राजनीतिमा सफल हुने छाँट नदेखेपछि उनी कलाकारितामै फर्किए। भारतमा यस्ता धेरै सफलता र असफलताका उदाहरण छन्।
अब चर्चा गरौँ नेपालको । जहाँ राजनीतिमा लागेका अधिकांश कलाकार असफल छन्, बारम्बार दल बदल्ने गरेको भन्दै उनीहरूको आलोचना हुने गरेको छ। दल बदल्नेको सूचीमा करिश्मा मानन्धरको नाम पनि थपिएको छ। देशमा वैकल्पिक राजनीतिको खाँचो रहेको भन्दै ”नयाँ शक्ति पार्टी” मार्फत करिश्मा राजनीतिमा होमिएकी थिइन्।
कांग्रेस, एमाले, माओवादीलगायत पार्टीलाई यथास्थितिवादी शक्तिको संज्ञा दिएको ”नयाँ शक्ति”ले विकास र सुशासनका लागि आफू वैकल्पिक शक्तिका रूपमा उदाउने दाबी गरेको थियो।
तर भनेजस्तो कहाँ भयो र ? जनता समाजवादी पार्टीसँग एकता गरेपछि नयाँ शक्तिले वैकल्पिक धारको राजनीति छाडेको भन्दै धेरैले आलोचना गर्ने गरेका छन्। आलोचकमध्ये एक करिश्मा पनि थिइन्, त्यही कारण जसपा बनेपछि उनी राजनीतिमा निष्क्रिय बनिन्।
तर, विडम्बना मान्नुपर्छ, अहिले उनी पनि (तत्कालीन नयाँ शक्तिको परिभाषामा ”यथास्थितिवादी”) एमालेबाट मात्रै देश विकास सम्भव छ भन्ने निष्कर्षमा पुगेकी छिन्।
सफलता खोज्न दल-बदल
राजनीतिमा दल-बदलको यो नयाँ उदाहरण होइन। अझ कलाकारका हकमा यो सामान्य नै हो। अभिनेत्री रेखा थापा कुनै समय माओवादीमा थिइन्। गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको वकालत गरेर नथाक्ने रेखा एकाएक यू-टर्न गर्दै संघीयता खारेजी, हिन्दू धर्म र राजतन्त्र पुनर्स्थापनाको पक्षमा रहेको राप्रपामा गइन्।
यसै वर्ष सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा उनी महामन्त्रीमा उम्मेदवार थिइन्। तर, पराजित भइन्।
गायिका कोमल वली अहिले एमालेको केन्द्रीय सदस्य छिन्। उनले भर्खरै मात्र राष्ट्रियसभा सदस्यका रूपमा आफ्नो कार्यकाल पूरा गरेकी छिन्, यस अर्थमा अन्य कलाकारभन्दा तुलनात्मक रूपमा उनको राजनीतिक यात्रा सफल मान्नुपर्छ।
उनी पहिले राप्रपामा थिइन् र त्यसपछि एमालेमा आएकी हुन्। कलाकारहरूको यस्तो गतिविधिका कारण उनीहरूमाथि कुनै सिद्धान्त र विचार नभएको, अवसरको खोजी मात्रै गर्ने गरेको आरोप पनि लाग्ने गर्छ।
नेपालको राजनीतिमा व्यक्तिवाद हाबी भएकाले एउटै पार्टीमा वर्षौँ लाग्नेहरू पनि पार्टीको सिद्धान्त र विचारभन्दा व्यक्तिको गुलामी गर्नमै व्यस्त छन्। किनकि, सिद्धान्त, विचार र इमानदारिताको राजनीति गर्नेहरू किनारामा पुगेको देख्ने साक्षीहरू धेरै छन्।
फेरि, कलाकारले मात्रै पार्टी फेर्छन् भन्ने पनि होइन। यहाँ त्यस्ता धेरै राजनीतिज्ञ छन्, जसले अवसर ढुकेर पार्टी बदल्ने गरेका छन्। देशमा स्थिरता नभएकाले यस्तो समस्या देखिने गरेको वरिष्ठ पत्रकार किशोर नेपाल बताउँछन्।
पंक्तिकारसँगको भलाकुसारीमा उनी भन्छन्, ”नेपालमा राजनीतिमा स्थिरता छैन। यसैले त्यहाँ जोडिएका पात्रहरूलाई समेत अस्थिर बनाइरहेको छ। यसैको परिणमास्वरुप एक दलमा सफलता हात नपरेपछि अर्को दलमा गइरहेका देखिन्छन्।”
Facebook Comment
Comment