काठमाडौं। आगामी चैतमा आयोजना हुने भनिएको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको दोस्रो संस्करण खेलाडी अनुबन्धनको विषयमा विवादित बन्दै आएको छ। सोही विवादको छलफलमार्फत समाधानका गर्न ‘ए’ डिभिजन लिगका चार क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग अनुरोध गरेका छन्।
आइतबार एनआरटी, थ्रीस्टार, संकटा र मनाङ मर्स्याङ्दी क्लबले संयक्त पत्रकार सम्मेलन गर्दै मंगलबार हुने भनिएको एन्फा कार्यसमिति बैठकमा यस विषयलाई पनि एजेण्डा बनाउन माग गरेका छन्।
नेपालको फ्रेन्चाइज लिग प्रतियोगिता एनएसएलको दोस्रो संस्करण आगामी चैतको अन्तिम सातादेखि आयोजना हुने तयारी छ। तर हाल अधिकांश नेपाली खेलाडी ‘ए’ डिभिजन क्लबसँग अनुबन्धित छन्।
फ्रेन्चाइज लिग प्रतियोगिता एनएसएलले तिनै खेलाडीलाई फ्रेन्जाइज क्लबबाट खेलाउन अक्सन गरिसकेको छ।
यता ‘ए’ डिभिजन लिगका क्लबहरू आफूहरूसँग रहेका खेलाडी अर्को शैलीको फ्रेन्चाइज प्रतियोगिता एनएसएलका लागि फ्रेन्चाइज क्लबहरुमा आबद्ध हुन दिन चाहँदैनन्। त्यसैले ‘ए’ डिभिजन क्लबहरुले एन्फालाई अक्सन रोक्न पनि आग्रह गरेका थिए। एन्फाले आधिकारिक रूपमा नै पत्र काटेर अक्सन रोक्न पनि पत्राचार गरेको थियो।
तर अखिल नेपाल फुटबल संघकै प्राविधिक सहयोग आयोजना हुन लागेको नेपाल सुपर लिगको आयोजकले अक्सन रोकेन। अब एनएसएल आयोजना हुनु अघि एन्फाले यो विषयमा क्लबहरूसँग छलफल गर्नुपर्ने यी क्लबको माग छ।
यो विषयमा शुरुमा आठ टिमले विरोध जनाए पनि पत्रकार सम्मेलनमा भने चार क्लबले मात्र उपस्थिति जनाए।