लुक्ला विमानस्थलनजिकको वनमा भीषण आगलागी

अत्यधिक भीर भएकाले मानिस गएर आगो नियन्त्रण गर्न सक्नेअवस्था नभएपछि आगो नियन्त्रणका लागि काठमाडौंबाट हेलिकोप्टर उडिसकेको बताइएको छ।

लुक्ला विमानस्थलनजिकको वनमा भीषण आगलागी
फाइल तस्वीर

सोलुखुम्बु। तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको नक्चुङ सामुदायिक वनमा गए रातिदेखि भीषण आगलागी भइरहेको छ। आगो लागेको क्षेत्र भीर भएकाले नियन्त्रण गर्न कठिन भएको स्थानीयवासीले जनाएका छन्।

खुम्बुपासाङ ल्हामु गाउँपालिका कार्यवाहक अध्यक्ष टासी ल्हमु शेर्पाले अत्यधिक भीर भएकाले मानिस गएर आगो नियन्त्रण गर्न सक्नेअवस्था नभएपछि हेलिकोप्टर झिकाइएको जानकारी दिए। आगो नियन्त्रण गर्नको लागि अहिले काठमाडौंबाट हेलिकोप्टर उडिसकेको बताइएको छ।

आगोको धुवाँका कारण आज बिहान करीब एक घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले जानकारी दिए।

अहिले विमानस्थल सञ्चालनमा आइसकेको जनाइएको छ। खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ मा पर्ने उक्त जङ्गलमा लागेको आगो फैलँदो अवस्थामा रहेको स्थानीयवासी रामे तामाङले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ओमप्रकाश यादवले भने आगलागीका विषयमा जानकारी नभएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved