एमालेको आशंका : स्थानीय चुनाव सार्न सत्ता गठबन्धनमा ‘अर्ली इलेक्सन’को बहस चल्यो

अचानक अर्ली इलेक्सन र संसद् विघटन गर्ने कुरा आउनु सत्ता गठबन्धनको कतै हेरेर कतै हिर्काउने रणनीति भएको नेम्वाङले बताए। उनले अहिले बाहिर आएको बहस ‘सोझो हिडाइँ’ नभएको बताए।

नेपालभ्युज

एमालेको आशंका : स्थानीय चुनाव सार्न सत्ता गठबन्धनमा ‘अर्ली इलेक्सन’को बहस चल्यो
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको चुनाव सार्ने रणनीतिमा सत्ता गठबन्धन रहेको आशंका गरेको छ। सत्ता गठबन्धनमा अहिले भइरहेको अर्ली इलेक्सनको बहस चुनाव सार्नका लागि भएको एमालेको आशंका छ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङले स्थानीय चुनाव घोषणा भएर तयारीका क्रममा रहेको समयमा अर्ली इलेक्सनको बहस सत्ता गठबन्धनमा चल्नु चुनाव सार्ने खेल हुनसक्ने आशंका व्यक्त गरे।

नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष नेम्वाङले समय अगावै चुनाव गर्नेगरी भइरहेको बहस स्थानीय तह चुनाव टार्ने नियतले आएको बताए।

संसद् बैठकअघि पत्रकारसँग कुरा गर्दै सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धनमा संसद् विघटन गरेर अर्ली इलेक्सनमा जाने विषयमा छलफल भइरहेको संसद् भवन परिसरमै बताएका थिए।

अचानक अर्ली इलेक्सन र संसद् विघटन गर्ने कुरा आउनु सत्ता गठबन्धनको कतै हेरेर कतै हिर्काउने रणनीति भएको नेम्वाङले बताए। उनले अहिले बाहिर आएको बहस ‘सोझो हिडाइँ’ नभएको बताए।

स्थानीय तहको निर्वाचनलाई पर पुर्‍याउने र गडबड गर्ने कुरा हुन सक्ने भन्दै नेम्वाङले आफूहरुले विशेष कारणवश जनतामा जाने भनेको र त्यो कुरामा अहिले पनि अडिग भएको बताए। तर, गठबन्धन चुनाव गर्नको लागि हो कि भत्काउनको लागि भन्दै उनले प्रश्न गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved