मलिकका तीन लघुकथा (पोडकास्टसहित)

सुन्नुहोस्

परिणाम के भइदियो भने सिंहका सबै दाँत टुटे। पूरै दन्तविहीन भएर सिंह गुफामा फर्कियो। सिंहको नाजुक अवस्था देखेर सिंहिनीले सोधिन्, “मेरा हजुर, के भयो हजुरलाई यस्तो ?”

मलिकका तीन लघुकथा (पोडकास्टसहित)

कला

एक जना मूर्तिकार कुनै निर्जन वनमा हिँडिरहेका थिए, उनको नजर एउटा ठूलो ढुंगामा पुगेर ठोक्कियो।

ती मूर्तिकारले त्यो ढुंगालाई राम्ररी नियाले र त्यसमा कुनै कला–सिर्जना उतार्ने सोचे। त्यो ढुंगामा उनले नील गाईको आकर्षक मूर्ति बनाए।

एक रात एउटा सिंह त्यही बाटो हुँदै अघि बढिरहेको थियो। उसको नजर नील गाईको मूर्तिले सजिएको त्यही ढुंगामा पर्‍यो। नील गाईलाई देखेपछि सिंहको मुखमा पानी रसाउन थाल्यो र उसले विद्युतीय गतिमा त्यो नील गाईको आकृति कुँदिएको ढुंगामा झम्टियो।

परिणाम के भइदियो भने सिंहका सबै दाँत टुटे। पूरै दन्तविहीन भएर सिंह गुफामा फर्कियो। सिंहको नाजुक अवस्था देखेर सिंहिनीले सोधिन्, “मेरा हजुर, के भयो हजुरलाई यस्तो ?”

सिंहले क्रोधित हुँदै भन्यो, “यस्तो कलालाई म पूरै धिक्कार्छु, जसले अरूका दाँत नै टुटाइदिन्छ।”

०००

वृद्ध र फल

एक जना वृद्ध किसानले आफ्नो खेतमा निमको बिरुवा रोपे।

त्यो बिरुवाको फेदमा उनले हरेक दिन पानी राख्न थाले। जब निमको सानो बिरुवाले वृक्षको रूप लियो, त्यसपछि उनी गाउँ नजिकैको मस्जिदमा गए र ठूल्ठूलो स्वरमा परमात्मासँग प्रार्थना गर्न थाले, “हे स्वामी, हे परमेश्वर, हे पालनहार। मेरो निमको बोटमा मीठामीठा आँपको फल लगाइदेऊ।”

किसानको कुरा सुनेर सबै नमाजी (धर्मनिष्ठ मुसलमान) हाँस्न थाले र तिनीहरूले भने, “अरे, पागल। तिम्ले बिरुवा निमको रोप्यौ र प्रार्थना गरिरहेका छौं– मीठो आँप फलाइदेऊ भन्दै। तिम्रो दिमाग त बिग्रिएन कतै ?”

ती वृद्ध किसानले आफ्नो सेता दाह्री मुसार्दै भने, “भाइहरू, प्रायः मानिसहरू खराबीको बिरुवा लगाएर त्यसबाट परोपकारको फलको अपेक्षा गर्दछन्। मैले त निमको बिरुवा लगाएर आँपको अपेक्षा गरेको मात्र हुँ। यसमा आश्चर्य मान्नुपर्ने के कारण छ र ?”

०००

समुद्रसँग सम्वाद

एक दिन मसामु समुद्र अतिथि बनेर आयो। म अत्यन्तै चिन्तित भएँ र सोधेँ, “यत्रो समुद्रलाई म कहाँ राखूँ ?”

म सोचिरहेको थिएँ। त्यही बेला समुद्रले भन्यो, “मित्र, चिन्तित हुनुपर्ने केही कारण छैन। म तिम्रो आँखाको एक थोपा आँसु बनेर आएको छु।”

साभार : कादम्बिनीका विभिन्न अंकहरू।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved